आन्तरिक रोजगारी प्रवर्द्धन हुनेगरी रोजगारीका सम्भावना खोजी गर्छु : श्रममन्त्री यादव

 माघ २३, २०७६ बिहिबार १७:५९:१५ | उज्यालो सहकर्मी

काठमाण्डौ – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले आन्तरिक रोजगारी प्रवर्द्धन हुनेगरी रोजगारीका सम्भावनाको खोजी गर्ने बताउनुभएको छ ।

बुधबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा भएको मन्त्रालयको अर्धवार्षिक प्रगति समीक्षामा मन्त्री यादवले सीपमूलक तालिमलाई थप प्रभावकारी बनाइ आन्तरिक रोजगारी र स्वरोजगारीलाई उपलब्धीमूलक बनाउनुपर्ने बताउनुभयो ।

समीक्षा कार्यक्रममा मन्त्रालयलाई चालु आर्थिक वर्षमा विनियोजन भएको बजेटअनुसार विनियोजित कार्यक्रमको हरेक शीर्षकमा भएको कार्य प्रगतिको बारेमा छलफल भएको थियो । 

मन्त्रालयले चरणवद्ध उपलब्धीको लागि राखेका लक्ष्यमध्ये ७०.५ प्रतिशत लक्ष्यअनुसार नै प्रगति भएको र २८.८ प्रगतिको क्रममै रहेको छ । यस्तै ०.७ प्रतिशत कार्यक्रम सुरु हुनै नसकेको समीक्षाले देखाएकोे छ ।

मन्त्रालयको कार्यलाई अझ बढी नतिजामुखी बनाउन सबै निकायबीच समन्वय र सहकार्य अभिवृद्धि गरी बाँकी काम अवधिभित्रै पूरा गर्न मन्त्री यादवले निर्देशन दिनुभयो । 

कार्यक्रममा मन्त्रालयका सचिव विनोद केसीले वैदेशिक रोजगारीको ठगीलाई कम गर्न, आन्तरिक रोजगारीलाई प्रोत्साहन दिन र सामाजिक सुरक्षा कोषमा आबद्धता बढाउँदै लैजान मन्त्रालयको भूमिकालाई थप प्रभावकारी बनाउनुपर्ने बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया