दिल्लीकाे प्रदर्शनमा माेदीकाे आग्रह- शान्त हाैँ, आपसी भाइचारा नभुलाैँ

 फागुन १४, २०७६ बुधबार १९:२६:४२ | रासस
unn.prixa.net

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रदर्शन थप हिंसाका सम्बन्धमा शान्त हुन र आपसी भाइचारा नभुल्न आह्वान गर्नुभएको छ । 

केन्द्रीय राजधानी नयाँदिल्लीमा गएकाे आइतबारदेखि भइरहेको प्रदर्शन थप हिंसात्मक हुँदै गएपछि बुधबार उहाँले शान्त हुन आह्वान गर्नुभएको हो ।     जतिसक्दो चाँडो अवस्थालाई सामान्य बनाउन पनि उहाँले आन्दोलनकारी र अन्य सरोकारवालाहरु सबैलाई आग्रह गर्नुभएको छ । 

नागरिकतासम्बन्धी संशोधित नयाँ व्यवस्थाको पक्ष र विपक्षमा भएको प्रदर्शनका क्रममा २० भन्दा बढीको मृत्यु भइसकेको र १९० भन्दा बढी घाइते भइसकेकाले अवस्थालाई सामान्य बनाउन सबैले भूमिका खेल्नुपर्ने भएको उहाँको भनाइ छ ।  

सामाजिक सञ्जाल ट्विटरमा उहाँले लेख्नुभएको छ, ‘नयाँ दिल्लीका विभिन्न ठाउँमा भएका हिंसात्मक घटना तत्काल रोक्न आग्रह गर्दछु, अवस्थालाई शान्तिपूर्ण बनाउन सामान्यीकरण गर्न प्रहरी र अन्य सरोकारवालाहरु लागिरहेका छन् ।’

‘शान्ति र एकता हाम्रो संस्कृति र परम्परा हो, मैले मेरा दिदीबहिनी र दाजुभाइलाई भाइचारा र शान्ति कायम गर्न आग्रह गर्दछु, हामी सबै तत्काल सम्हालिन अत्यावश्यक छ‍’,‍ उहाँले लेख्नु भएको छ । 

यसअघि आजै दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले हिंसात्मक अवस्थालाई नियन्त्रणका लागि सेना परिचालन गर्न सिफारिस गर्नुभएको थियो ।     पछिल्लो विवरणअनुसार बुधबार बेलुकासम्ममा दिल्लीमा भएको हिंसात्मक घटनामा परी कम्तीमा २२ जनाको मृत्यु भइसकेको छ भने अरू १८९ जना घाइते भएका छन् । 

जीटीबी अस्पतालले बुधबार मात्र पाँच जनाको मृत्यु भएको जनाएको छ । अस्पतालमा उपचारका लागि भर्ना भएका घाइतेमा प्रदर्शनकारी र प्रहरी रहेका छन् । 

आन्दोलनको सर्वाधिक प्रभाव परेको नयाँदिल्लीको उत्तरपूर्वी क्षेत्रमा स्थानीय अधिकारीले सबै विद्यालय बन्द गरेका छन् भने ठाउँठाउँमा कफ्र्यु आदेश जारी गरिएको छ । 

हातमा लाठी, बन्दुक, पेस्तोल बोकेका सशस्त्र प्रदर्शनकारीले उत्तरपूर्वी दिल्लीमा लुटपाट, आगजनी र तोडफोड गरेका थिए । 

प्रहरीले बुधबार नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको निवास बाहिर भेला भएको भीडलाई तितरबितर बनाएको छ । यो भीडमा खासगरी जवाहरलाल नेहरु विश्वविद्यालयका विद्यार्थी, जामिया मिलिया इस्लामियाका सदस्यसमेत रहेका थिए । उनीहरुले मुख्यमन्त्री केजरीवाललाई भेट गरी दिल्ली हिंसासँग सम्बन्धित विषयमा मागपत्र प्रस्तुत गर्न चाहेका थिए ।

दिल्ली उच्च अदालतको मङ्गलबार साँझ बसेको इजलासले सुरक्षा व्यवस्था सुदृढ तुल्याउन र घाइतेको उपचारको उचित प्रबन्ध गर्न आदेश दिएको छ । 

मङ्गलबार राति भारतीय सुरक्षा सल्लाहकार अजित डोभालले हिंसा भड्किएका क्षेत्रको स्थलगत भ्रमण गरी स्थानीय नेता र प्रहरी अधिकारीसँग कुराकानी गर्नुभएको छ ।  

गत आइतबार उत्तरपूर्वी दिल्लीमा संशोधित नागरिकता कानूनको पक्ष र विपक्षमा रहेका खासगरी हिन्दू र मुस्लिम समुदायका व्यक्तिबीच हिंसात्मक झडप शुरु भएको थियो । मोदी सरकारले सन् २०१९ को डिसेम्बर ११ मा विवादास्पद नयाँ नागरिकता कानून राज्यसभाबाट पारित गराएसँगै यसको पक्ष र विपक्षमा भारतीय जनमत बाँडिएको छ । नयाँ नागरिकता कानूनले खासगरी भारतीय मुस्लिम समुदायलाई चिढ्याएको छ । 

नयाँ कानूनअनुसार धार्मिक आस्थाका आधारमा बङ्गलादेश, अफगानिस्तान र पाकिस्तानमा पीडित भइरहेका हिन्दू, सिख, बौद्धमार्गी, जैन, पारसी र इसाई सम्प्रदायका व्यक्तिलाई भारतमा नागरिकता दिइने व्यवस्था गरिएको छ । तिनै देशमा पीडित भइरहेका कतिपय अल्पसङ्ख्यक मुस्लिमलाई भने यस्तो सुविधा नदिइएको भारतीय मुस्लिम समुदायको गुनासो छ ।

 भारतमा जारी गरिएको नागरिकतासम्बन्धी यो संशोधित कानून केही समय अगाडि अन्तर्राष्ट्रिय क्षेत्रमा समेत विवादमा परेको थियो । 

राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा सो कानूनको विरोध हुदाँहुँदै पनि यसअघिको आन्दोलन मत्थर भइसकेकोमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भारत भ्रमणको मौका पारेर फेरि सुरु भएको आन्दोलनले अहिले ठूलो हिंसात्मक रुप लिएको हो । 

 यो हिंसात्मक आन्दोलनलाई पछिल्लो दशककै सबैभन्दा ठुलो हिंसात्मक आन्दोलनको रुपमा लिइएको छ । 

अन्तिम अपडेट: मंसिर ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया