यात्रुले ट्याक्सीमा छाेडेकाे सामान फिर्ता गर्ने ट्याक्सी चालकलाई ट्राफिक प्रहरीको सम्मान

 फागुन १९, २०७६ सोमबार १३:१६:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ - महानगरीय ट्राफिक प्रहरी महाशाखाले २१ जना असल ट्याक्सी चालकलाई सम्मान गरेको छ । 

महाशाखाले ट्याक्सीमा छुटेको नगद, गरगहना र महत्वपूर्ण सामानहरु आफै आइ महाशाखामा बुझाउने ट्याक्सी चालकहरुलाई सोमबार कार्यक्रम गरी सम्मान गरेको हो । 

आर्थिक वर्ष २०७६/०७७ भित्र विभिन्न समयमा यात्रुले ट्याक्सीमा छोडेको सामान बुझाउन ल्याउने २१ जना चालकलाई सम्मान गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले बताउनुभयो । 

उहाँले यात्रुहरुले यात्रा गर्दा भुलेर ट्याक्सीमा कुनै सामान छुटेको र ट्याक्सी चालकहरुले आफै प्रहरीकाेमा बुझाए मानवीय सहयोग गरेकाले सम्मान गरिएको बताउनुभयो ।

आफ्नो ट्याक्सीमा छुटेका सामान इमान्दार भएर फिर्ता गर्दा ट्राफिक प्रहरीले सम्मान गरेकोमा आफूहरुलाई अझ बढी जिम्मेवार बनाएको ट्याक्सी चालकहरुले बताएका छन् । 

ट्याक्सी चालक रिधबहादुर थापाले ट्राफिक प्रहरीबाट असल ट्याक्सी चालकको रुपमा सम्मानित हुन पाउँदा थप हौसला मिलेको बताउनुभयो । ट्याक्सी चालक रोएतबहादुर रोक्काले आफ्नो ट्याक्सीमा छुटेको समान प्रहरीकाेमा बुझाउँदा सम्मानित हुन पाउनु खुशीको कुरा भएको बताउनुभयो । 

उहाँले भलुवश् ट्याक्सीको पछाडि समान छुट्ने तर आफूहरुले थाहा नपाउँदै अर्को प्यासेन्जरले सामान लगेको अवस्थामा उजुरी पर्दा आफूहरुलाई समस्यामा पर्ने गरेको बताउनुभयो । यस्तो अवस्थामा प्रहरीले उचित अनुसन्धान गर्नुपर्ने उहाँले बताउनुभयो ।

ट्राफिक प्रहरीले चालु आर्थिक वर्षको फागुन १६ गतेभित्र ट्याक्सीमा छुटेको सामान आफैले प्रहरीकाेमा बुझाएका २१ जना ट्याक्सी चालकहरुलाई सम्मान गरेको हो।

त्यस्तै यो अवधिमा ट्याक्सीमा सामान छुटेर आवेदन दिनेको सङ्ख्या तीन सय ९५ जना रहेको र त्यसमध्ये दुई सय ८० जनाको एक करोड ४८ लाख ६० हजार तीन सय ६५ रुपैयाँ बराबरको सामान फेला परेको छ । 

६३ जनाको निवेदनअनुसार सवारीसाधन फेला परे पनि सामान पाउन नसकिएको र ५२ जनाको सवारी नम्बरसमेत फेला नपरेको ट्राफिक प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: माघ २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया