‘वेस्ट स्ट्राइकर’ ले मैदान छोड्दैन, ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियान पूरा गर्न फेरि फर्कन्छु'

 फागुन १९, २०७६ सोमबार १८:५९:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

 

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले मिर्गौला प्रत्यारोपण गरेर आफू चाँडै स्वस्थ भइ नियमित काममा फर्कने विश्वास व्यक्त गर्नुभएको छ ।

दोस्रो पटक मिर्गौला प्रत्यारोपणको लागि शिक्षण अस्पताल भर्ना हुनुअघि भिडियो सन्देशमार्फत उहाँले आफू अस्पतालबाट थप ऊर्जा र आत्मविश्वाससहित आउने उल्लेख गर्नुभएको छ ।

यस्ताे छ प्रधानमन्त्रीकाे भिडियाे सन्देश–

आदरणीय दिदीबहिनी तथा दाजुभाईहरु, मेरो सिङ्गो जीवन कुनै न कुनै किसिमको संर्घषमा वित्दै आएको छ । कहिले निरङ्कुशताविरुद्ध लोकतन्त्रको लागि सङ्घर्ष, कहिले राष्ट्रिय हित तथा स्वाभिमानका लागि सङ्घर्ष, त कहिले देशमा स्थायित्व नचाहने र हुन नदिनेहरुसँगको सङ्घर्ष ।

देशमा व्याप्त यस प्रकारका विविध समस्याहरुसँग निरन्तर जुध्ने क्रममा शरीरभित्र सिर्जित रोगसँग लड्न म बाध्य हुन पुगेको यहाँहरु सबैलाई जानकारी नै छ । यसै सन्दर्भमा आजभन्दा झण्डै १२ वर्षअघि मेरा दुवै मिर्गाैलाले काम गर्न छोडेपछि २०६४ साउनमा पहिलो पटक मिर्गाैला प्रत्यारोपण गराएको थिएँ । त्यतिबेला नेपालमा मिर्गाैला प्रत्यारोपणको सुविधा थिएन ।

आउँदाे फागुन २१ गते बुधबार फेरि मैले मिर्गाैला प्रत्यारोपण गराउँदैछु । त्यसको चिकित्सकीय तयारीका लागि म आजै त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगञ्जतमा भर्ना हुँदैछु ।

विज्ञान, आधुनिक प्रविधि, ज्ञान र सीपले मिर्गाैला प्रत्यारोपण अहिले, पहिलेजस्तो जटिल मानिँदैन । यस पटकको मिर्गाैला प्रत्यारोपण त्यसैले पनि तुलनात्मक रुपमा सजिलो हुने मैले विश्वास लिएको छु । त्यसमाथि आफ्नै देशमा आफ्नै देशका अनुभवी चिकित्सकहरूद्वारा प्रत्यारोपण गराउने सुविधा प्राप्त हुँदा म गर्व गर्छु र अत्यन्तै खुशी पनि छु ।

भनिन्छ नि, आशाको दियो बलिरह्यो भने शान्ति, प्रेम र विश्वासको जग मजबुत तुल्याउन सकिन्छ । कुनै समय मुर्छित रहेका हाम्रा सपनालाई हामी सबै मिलेर जगायौँ । त्यसलाई ब्युँताउनका लागि गएकाे निर्वाचनमा मेरो नेतृत्वको वरिपरि तपाईँहरु सबैले आफूलाई उभ्याउनुभयो । यस वर्षलाई हामीले समृद्धिको आरम्भ वर्ष भनेका छौँ । जसरी खेलको बीचमा ‘राम्रो खेलाडीले मैदान छोड्दैन, त्यसैगरी हाम्रा भरखर जागृत हुँदै गरेका सपनालाई बीचमा अलपत्र पारेर म पनि अलप हुन्नँ । संसारमा कोही पनि अजम्बरी छैन । मेरो यो सङ्कल्प पनि अजम्बरी बन्न हैन, हाम्रा जागृत हुँदै गरेका सपनालाई साकार पार्नका लागि हो भन्ने यहाँहरुले बुझ्नु नै भएको छ ।

म फेरि एक पटक आग्रह गर्दछु, मेरो स्वास्थ्यलाई लिएर यहाँहरु ढुक्क रहनुहोस् । हामीले देखेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न केही दिनको अस्पताल बसाइ र आरामपछि थप ऊर्जा र आत्मविश्वास लिएर म काममा फर्कनेछु । यसबीचमा सरकारका तर्फबाट गर्नुपर्ने सबै काम नियमित रुपमा अघि बढ्ने छन् । विश्वलाई नै पिरोलिरहेकाे कोरोना भाइरसका कारण सिर्जना भएको नयाँ समस्या होस् वा भैपरि आउने कुनै पनि विषय, त्यसलाई प्रभावकारी ढङ्गले कार्यान्वयन गर्न परेको समयमा आवश्यक निर्णय लिन सक्ने संयन्त्र र अन्य व्यवस्था मिलाएको छु ।

मेरो अस्पताल बसाइको समयमा पार्टी र संसद् दुवैतिर आवश्यक कार्य सम्पादन गर्न जिम्मेवार नेता/कार्यकर्ता, सांसदहरू र लाखौँ पार्टी सदस्यहरू निरन्तर क्रियाशील हुनेमा म विश्वस्त छु ।

मेरो शीघ्र स्वास्थ्य लाभको कामना गर्नु हुने स्वदेश र विदेशका सबै मित्र तथा शुभेच्छुकहरूलाई हार्दिक धन्यवाद भन्न चाहन्छु ।

धन्यवाद । १९ फागुन, २०७६ बालुवाटार 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया