समाचार कक्षमा ३३ प्रतिशत महिला अनिवार्य हुनुपर्ने माग

 फागुन २१, २०७६ बुधबार २०:२९:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – समाचार कक्षमा ३३ प्रतिशत महिला अनिवार्य हुनुपर्ने महिला पत्रकारले माग गरेका छन् ।

पत्रकार समूह डब्ल्यूडब्ल्यूजेका अध्यक्ष अमिका राजथलालले अहिले पनि महिला पत्रकारहरु समाचारदाताका रुपमा मात्रै सीमित रहेको भन्दै हरेक समाचार कक्षमा ३३ प्रतिशत अनिवार्य हुन माग गर्नुभएको हो । 

डब्ल्यूडब्ल्यूजेले समाचार कक्षमा पत्रकार महिलाको अवस्थाबारे गरेको अध्ययन सार्वजनिक कार्यक्रममा बोल्दै अध्यक्ष थलालले पुरुष पत्रकारभन्दा महिला पत्रकारको तलबसमेत कम भएको बताउनुभयो । 

कार्यक्रममा बोल्दै वरिष्ठ पत्रकार हेमलता राईले महिला पत्रकारका समस्या अहिले पनि उस्तै रहेको बताउनुभयो । आजभन्दा २० वर्ष पहिले र अहिलेका महिला पत्रकारका समस्या एउटै भएको भन्दै महिला पत्रकारलाई कार्यक्षेत्रमै चुनौती रहेको उहाँले स्पष्ट पार्नुभयाे । उहाँले भन्नुभयो,‘ पछिल्लो समय मिडिया हाउस बढ्दै जाँदा महिला पत्रकारको सङ्ख्या बढेका छन् । तर  कतिसम्म टिकेका छन् भन्ने कुरा आउँछ । यो पेसामा १९ देखि २४ वर्षसम्म मात्र महिला क्रियाशील रुपमा लाग्छन्, पछि आफै हराउँदै जान्छन् ।’

महिला पत्रकारहरुले समाचार कक्षमा कोटाको माग गरिरहँदा प्रेस काउन्सिल नेपालका अध्यक्ष किशोर नेपालले पत्रकारिता क्षेत्र कोटाले नभइ क्षमता देखाउने पेसा भएको बताउनुभयो । अहिले पनि खोजी पत्रकारितामा कलम चलाउने महिला पत्रकारको सङ्ख्या निकै कम भएको भन्दै नेपालले समाजमा लुकाइएका कुरा सत्य तथ्य देखाउन सक्ने महिला पत्रकार आवश्यक भएको बताउनुभयो । उहाँले क्षमता बढाउन महिला पत्रकारलाई सुझाव दिनुभयो । 

कार्यक्रममा बोल्दै राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङले पत्रकारलाई आवश्यक पर्ने सूचना सजिलै पाउन सक्ने भन्दै सूचनाको हकलाई पारदर्शीरुपमा लागू गर्न आग्रह गर्नुभयो । 

यस्तै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव दीपक सुवेदीले महिला पत्रकारका समस्या समाधानका लागि छलफल गर्न तयार रहेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासङ्घका सचिव रमेश विस्टले यो मुद्दामा आफूहरुले पनि आवाज उठाइरहेको बताउनुभयो । विभिन्न समस्यासँग जुझ्दै महिला पत्रकारहरु आ–आफ्नो बिटमा काम गरिरहनु खुशीको कुरा भएको भन्दै महिला पत्रकारमाथि हुने विभेदका लागि महासङ्घ लागिरहने उहाँले बताउनुभयो ।

पुरुष पत्रकारको दाँजोमा तलब कम 

नेपालमा महिला पत्रकारले पुरुष पत्रकारको दाँजोमा तलब कम पाउने गरेका छन् । क्रियाशील पत्रकार महिलाले पाँच सय महिला पत्रकारहरुमा गरेको अध्ययनअनुसार ५६ दशमलव ६ प्रतिशत महिलाले मात्रै पुरुष पत्रकारसरह तलब पाएका छन् । अध्ययन बुधबार सार्वजनिक गरिएको हो ।

हरेक पाँचमध्ये दुई जनाले समान तलब नपाएको अध्ययनमा उल्लेख छ । त्यस्तै पाँचमध्ये तीन जना  रात्रिकालीन सेवामा संलग्न रहेको पाइएको छ । झण्डै चार मध्ये एक जनाले रात्रिकालीन सेवामा चुनौतीको सामना गर्नुपरेको र बाँकीले कुनै प्रकारको समस्या भोग्न नपरेको अध्ययनमा उल्लेख  छ ।

त्यसैगरी नेपालमा महिला पत्रकारमध्ये सबैभन्दा धेरै रेडियोमा कार्यरत छन् भने सबैभन्दा कम टेलिभिजनमा कार्यरत रहेको अध्ययनले जनाएको छ । अध्ययन अनुसार रेडियोमा ६० दशमलव ७ प्रतिशत अर्थात् दुई सय ४८ जना काम गरिरहेको छन् भने टेलिभिजनमा १८ दशमलव २ प्रतिशत अर्थात् ८५ जना  महिला पत्रकार काम गरिरहेका छन् ।

त्यस्तै छापामा २७ दशमलव ६ प्रतिशत र अनलाइनमा २३ दशमलव ३ प्रतिशत रहेको अध्ययनले जनाएको छ । अध्ययनअनुसार तीन जनामा एक जना अर्थात् ३५ प्रतिशत पत्रकार महिलाले प्रमुख समाचारदाताको रुपमा काम गरिरहेका छन् । 

अन्तिम अपडेट: फागुन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया