प्रधानमन्त्री ओलीकाे स्वास्थ्यमा क्रमिक सुधार, 'तरल चीज खान थाल्नुभयाे'

 फागुन २२, २०७६ बिहिबार १२:२:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

 काठमाण्डाै – त्रिवि शिक्षण अस्पतालमा बुधबार दोस्रो पटक मृगौला प्रत्यारोपण गराउनुभएका ओलीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको चिकित्सकहरुले बताएका छन् ।

त्रिवि शिक्षण अस्पताल पुग्नुभएका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले ओलीको स्वास्थ्य अवस्था सामान्य हुँदै गएको बताउनुभएकाे छ । चिकित्सकहरुको भनाइ उद्धृत गर्दै पोखरेलले भन्नुभयो, ‘उहाँको स्वास्थ्य अवस्था सामान्य छ । बिहान कालो चिया खुवाइएको छ ।’

उपचाररत प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिन रक्षा मन्त्रीसँगै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकाल, नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र प्रधानसेनापति पूर्णचन्द्र थापा लगायतका उच्च पदस्थ व्यक्तित्वहरु शिक्षण अस्पताल पुगेका छन् । प्रधानमन्त्री ओलीसँग भेट गर्न भने कसैलाई पनि दिइएको छैन ।

प्रधानमन्त्री ओलीले तरल चीजहरु खान थाल्नुभएको र अन्य सूचकहरु राम्रो रहेको उहाँका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । अहिले उहाँलाई शल्यक्रिया कक्षबाट प्रत्यारोपण उपचार कक्षमा राखी उपचारलाई निरन्तरता दिइएको छ । उहाँको पछिल्लो स्वास्थ्य स्थितिबारे अस्पतालले हरेक दिन ४ बजे औपचारिक जानकारी दिनेछ ।

प्रधानमन्त्री ओलीलाई अझै कम्तीमा एक हप्ता अस्पतालमै राखिने भएको छ । उहाँको स्वास्थ्यका सबै सूचक राम्रा रहेको तर केही दिन डाक्टरकै निगरानीमा राख्नुपर्ने मिर्गौला प्रत्यारोपणको नेतृत्व गर्नुभएका प्राध्यापक डाक्टर प्रेम ज्ञवालीले बताउनुभएको छ ।

यस्तै प्रधानमन्त्री ओलीलाई मिर्गाैला दान दिनुभएकी समीक्षा सङ्ग्रौलाको स्वास्थ्य अवस्था पनि सामान्य रहेको प्रत्यारोपणमा संलग्न डाक्टर ज्ञवालीले बताउनुभयो । 

प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणका लागि यही फागुन १९ गते अस्पताल भर्ना हुनुभएको थियो । १२ वर्षअघि भारतकाे एपाेलाे अस्पतालमा प्रधानमन्त्री ओलीमाे पहिलाे पटक मिर्गाैला प्रत्याराेपण गरिएकाे थियाे । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया