बजारमा उपभाेग्य वस्तुकाे अभाव छैन, बढी मूल्य लिए कारबाही हुन्छ : मन्त्री भट्ट

 फागुन २६, २०७६ सोमबार १६:३६:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले तेस्रो देशबाट सामान आयात बन्द नभएको बताउनुभएको छ । 

कोरोना भाइरस (कोभिड—१९) का कारण चीन, भारत तथा तेस्रो देशबाट आयात निर्यात ठप्प भएको समाचार सार्वजनिक भइरहेका बेला मन्त्री भट्टले यस्तो बताउनुभएको हो । काठमाण्डाैमा भएको एक कार्यक्रममा मन्त्री भट्टले चीन, भारत तथा तेस्रो देशबाट केही आउँदैन भन्ने मनोविज्ञान हटाउन आवश्यक रहेको बताउनुभयो ।

‘चीन, भारत, तेस्रो देशबाट केही आउँदैन भन्ने मनोविज्ञान तोड्नु आवश्यक छ । सामान आइरहेको छ तर केही सतर्कता अपनाइएको छ’, उहाँले भन्नुभयो । केही दिन नाकामा सामान राख्नुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो । मान्छेबाट मात्रै नभएर वस्तुबाट समेत कोरोना सर्ने सम्भावना रहेकाले नाकामा केही दिन सामान राख्नुपर्ने अवस्था रहेको उहाँको भनाइ छ ।

मन्त्री भट्टले तत्काल श्वेतपत्र निकाल्नुपर्ने आवश्यकता नरहेको समेत बताउनुभएको छ । सङ्कटकाल नै घोषणा गर्नुपर्ने अवस्था भएपछि मात्रै श्वेतपत्र निकालिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले श्वेतपत्र आवश्यक छैन । त्यस्तो सङ्कटकाल नै घोषणा गर्नुपर्‍यो भने त्यती बेला श्वेतपत्र जारी हुन्छ । केही त्यस्तो भयो भने ।’

कुनै ठाउँमा केही समस्या देखिएमा तत्काल जानकारी दिन पनि उहाँले आग्रह गर्नुभयो । 

मन्त्री भट्टले उपभोग्य सामानहरु माग बढ्दा केही मूल्य बढ्नु स्वभाविक भए पनि कालोबजारी हुन नदिने प्रतिबद्धता समेत जनाउनुभयो । बजारमा मागअनुसार उत्पादन हुने सामानहरु एक्कासी माग बढ्दा केही मूल्य बढ्नु स्वभाविक रहेको उहाँको भनाइ छ । 

सरकारले कोरोना त्रासका कारण कुनै पनि दैनिक उपभोग्य वस्तुको अभाव नभएको स्पष्ट पार्दै कालोबजारी गरिएको पाइए विद्यमान कानुनअनुसार हदैसम्मको कारबाही गर्ने चेतावनी दिएको छ ।

आपूर्ति व्यवस्थालाई नियमित राख्न युद्धस्तरमा काम गरिरहेको भन्दै सरकारले त्रासको समयमा कमाउने मौका यही हो भन्दै कालोबजारी गरिए, परेकाे मूल्यभन्दा बढी लिए, सामान भएर पनि छैन भन्दै लुकाए कालोबजारी कानुन तथा अत्यावश्यक ऐनले गरेको व्यवस्थाअनुसार कारबाही हुने चेतावनी दिएको हो । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया