कतारमा कोरोना सङ्क्रमितको संख्या तीन सय नाघ्यो, कामदारकाे नियमित स्वास्थ्य जाँच

 चैत १, २०७६ शनिबार २०:२६:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

महेश्वर नेपाल (कतार) - कतारमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ३ सय ३७ पुगेको छ । कतार सरकारले कोरोना सङ्क्रमितको संख्या बढेसँगै उच्च सतर्कता अपनाएको छ । कोरोनाको प्रकोप नबढोस् भनेर कतारमा रहेका अधिका‌ंश कम्पनीहरुले कामदारहरुको स्वास्थ्य जाँच गरिरहेका छन् । 

कोरोनाको सङ्क्रमण बढेसँगै कतारले नेपाल लगायत १४ देशका नागरिकलाई कतार प्रवेशमा अस्थायी रोक लगाएको छ । कोरोनाको कारण कतार प्रवेश गर्न नपाएका तथा बिदामा गएको समय ६ महिना बढी भएकालाई समेत कतार प्रवेश गर्न पाउने व्यवस्था मिलाएको छ । कतार छाडेको ६ महिना भित्रै पुनः कतार प्रवेश गरिसक्नुपर्ने नियम रहेकाे छ ।

नेपाली दूतावासले कन्सुलर सेवा अस्थायी रुपमा चैत २ गतेदेखि  बन्द रहने जनाएको छ । दूतावास भने नियमित रुपमा खुल्ला रहने भएकाे छ । 

ट्राभल डकुमेन्ट, मागपत्र प्रमाणिकरण, राहदानी म्याद सकिन लागेका पाना सकिन लागेका  मागपत्र नवीकरण, शव पठाउन चाहिने आवश्यक प्रक्रियाकोबारेमा टेलिफोनमार्फत जानकारी लिन दूतावासले आग्रह गरेकाे छ । 

काभ्रेका नारायण बिष्टले काम गर्ने स्थानमा कम्पनीले बेलाबेला आफ्ना कामदारहरुको स्वास्थ्य जाँच गरिरहेको बताउनुभयो ।   
यस्तै दोलखाका सन्तोष केसीले काम गर्ने कम्पनीले हरेक दिन काम सुरु हुनु पहिले कामदारहरुको स्वास्थ्य जाँच गरेर मात्र कार्यस्थलमा पठाउने गरेको जानकारी दिनुभयो । 

कतारकाे हमाद अस्पतालले विभिन्न भाषामा जनचेतनामूलक भिडियो बनाएर सामाजिक सञ्जालमार्फत सुरक्षित रहन अपिल गरिरहेको छ । 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया