कोराेना भाइरसले उत्पन्न गरेको मनावैज्ञानिक त्रासलाई यसरी कम गरौँ

 चैत ८, २०७६ शनिबार १३:२९:३९ | रामकुमार थापा

सजिव प्राणीको मृत्यु निश्चित छ । अबको २४ घण्टासम्म हामी जीवितै रहन्छौं या रहँदैनौं भन्ने कुनै निश्चित छ त ? हामी जीवित हुने कारण र जोखिम हुने कारणलाई एक पटक विचार गरौं ।

जीवन अस्थिर छ । जुनसुकै समयमा जे पनि हुन सक्छ । किनभने मानिस मर्ने र बाँच्ने सम्भावना सधैँ बराबर हुन्छ । अनावश्यक सोचेर आफैलाई कमजोर बनाउँदै गयौं भने हाम्रो रोगसँग लड्ने प्रतिरोधात्मक क्षमतामा ह्रास आउँछ । जसले गर्दा संक्रमणको जोखिम पनि बढी हुन्छ ।

भाइरस तथा ब्याक्टेरियासँग लड्ने औषधि भन्दा पनि हामी भित्र भएको बलियो आत्मबल हो । हामीसँग भएको विश्वास र आत्मबलले प्राणघातक रोगलाई पनि पराजित गर्न सकेका उदाहरण छन् । यो बेला आत्तिने भन्दा पनि संयमित हुने र शान्त रहने हो ।

अबको एक महिना वा त्यो भन्दा बढी हामी यसरी आत्तिंदै गयौं भने हाम्रो शारीरिक तथा मानसिक अवस्था कस्तो होला एक पटक गम्भीर भएर सोचौं । हामी शारीरिक तथा मानसिक रुपमा सबल तथा तन्दुरुस्त हुन सकेनाैं भने जतिसुकै डराए पनि र आत्तिए पनि हामीलाई भाइरसले छोड्नेवाला छैन ।

अहिलेसम्म नेपालमा एक जना बाहेक कसैमा पनि कोरोना संक्रमण भएको देखिएको छैन । सङ्क्रमण भएकाको पनि उपचारपछि निको भइसकेको छ । एक जना बाहेक नयाँ सङ्क्रमित व्यक्ति भेटिएको छैन । त्यही भएर हामी यसरी आत्तिनुपर्ने अवस्था छैन ।

सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा विभिन्न खबरहरु आइरहेका छन् । हामी हल्लै हल्लाको पछाडि लागेर आफ्नो आत्मबल घटाइरहेको छौं । तर यस्तो अवस्थामा आत्मबल घटाउनुको सट्टा एकले अर्कोलाई सहयोग गर्ने, भावना सुनिदिने, तथ्य र तथ्यांकलाई हेर्न वा बुझ्ने  र आवश्यक साबधानी अपनाउने हो ।

भाइरसको सङ्क्रमण हुनेबित्तिकै ज्यानै जान्छ भन्ने पनि होइन । बर्सेनि नेपालमा आत्महत्या गरेर, सडक दुर्घटनामा परेर र अन्य विभिन्न रोगका कारण कति मानिसको ज्यान जाने गरेको छ ? हामीले कहिल्यै यो तथ्यांकलाई हेरौं त ? तर कोरोनाले ज्यान गुमाउनेको तथ्यांक सुनेर किन आत्तिने । यसको अहिलेसम्म औषधि बनेको छैन तर विश्व तयारीमा जुटिरहेको छ ।

नेपालमा आजको दिनसम्म सङ्क्रमण फैलिसकेको छैन । बरु स्वास्थ्यमा ध्यान दिउँ । डाक्टरले भनेको कुराहरुको पालना गरौँ । समस्याको समाधान हुन्छ भनेर सकारात्मक बनौँ । अप्ठेरोमा सहयोग गर्ने छिमेकी देशहरु छन् । सहयोग गर्छु भनिरहेका छन् । सरकार पूर्ण रुपमा जुटिरहेको छ । बिरामीको निःशुल्क उपचार सरकारले गर्छु भनीरहेको छ ।

तर उल्टै सरकारले गरेको सतर्कतालाई पनि शंका गरेर मानिसहरु आफैं चिन्तित बनिरहेका छन् । कोरोना भाइरस रोगले भन्दा पनि मानिसलाई हल्लाले मनोवैज्ञानिक समस्यामा पारेको छ । सामाजिक सञ्जालमा आएका सूचना तथा समाचारलाई विश्वास गर्दा नागरिकहरु आतंकित बनेका छन् । सत्य र आधिकारिक सूचनालाई विश्वास गर्नुभन्दा पनि समाजिक सञ्जालमा आएका सबै कुराहरुलाई विश्वास गर्दा समस्या थपिएको हो । 

अब हामी नागरिकले पनि आफ्नो तर्फबाट सरकारलाई सकेको सहयोग गर्नुपर्छ ।  एक–अर्कोलाई सहयोग गर्ने बानीको विकास गरौं । कालोबजारी नगर्ने, डाक्टरको सल्लाह र सरकारको निर्णय माने मात्र पनि हामी सम्भावित जोखिमबाट बच्न सक्नेछौं ।

कोरोना सङ्क्रमणबाट बच्न निम्न कुराहरु अपनाऔँ

१ यो विपत्ति हो केही समयपछि ठिक हुन्छ भन्ने सोच्ने 

२ दैनिक गर्ने कार्यहरुलाई निरन्तरता दिने 

३ आधिकारिक सूचना तथा समाचार मात्र हेर्ने 

४ स्वस्थ खाना खाने, पर्याप्त निन्द्रा लिने र पानी प्रशस्त पिउने 

५ मनमनै म ठिक छु, यस्तो बेला आत्तिनु हुन्न भनेर सोच्ने 

६ साथीभाइ तथा परिवारका सदस्यहरुबीच मनका भावनाहरु बाँड्ने 

७ बालबालिकाहरुलाई क्रियाकलापमा व्यस्त गराउने, आफू पनि सहयोगी बन्ने 

८ नियमित योग अभ्यासहरु गर्ने र गहिरो श्वास लिने ।

९ कोरोना भाइरस लाग्दैमा मरिँदैन भनेर विश्वस्त हुने र आत्मबल बढाउने 

१० यो समस्या मेरो होइन विश्वको साझा समस्या हो भनेर बुझ्ने 

११ भिडभाडमा नजाने, मास्कको प्रयोग गर्ने र बारम्बार साबुन पानीले हात धुने ।

 

अन्तिम अपडेट: चैत १३, २०८०

रामकुमार थापा

थापा धादिङको नीलकण्ठ नगरपालिकाकाे वरिष्ठ मनोविमर्शकर्ता हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया