विदेशबाट फर्किनेलाई भेदभाव नगरौं, हामी सबैको शत्रु भनेको कोरोना नै हो

 चैत १७, २०७६ सोमबार १५:५२:५४ | डा. गोविन्द गौतम

काठमाण्डौ – हामी कोरोनाको बारेमा बुझ्नुभन्दा पहिले महामारीको बारेमा बुझ्न जरुरी छ । निकै पहिलेदेखि हामीले यस्ता महामारीहरु भोग्दै आएका छौं । जस्तो निकै पहिले जस्टिनेन्ट प्लेग, एटोनेन प्लेग भन्ने महामारी आएको थियो । सन् १३४६ मा अझै डरलाग्दो ब्ल्याक प्लेग भन्ने रोग आएको थियो । जसले यूरोपमा धेरै मानिसको ज्यान लगेको थियो । त्यसपछि स्मल पक्स, दादुरा, हैजा भन्ने रोगहरुले पनि बेलाबेला महामारी लिएर आएका थिए । 


त्यस्तै क्षयरोग, कुष्ठरोगले पनि ठूलै हलचल ल्याएको थियो । अनि स्पेनिस फ्लू, हङकङ फ्लू, स्वाइन फ्लू, एचआईभीले पनि महामारीको रुप लिएको थियो । बेलाबेला हुने विभिन्न प्राकृतिक असन्तुलनका कारण यस्ता महामारीहरु आउँछन् । यस्तो बेला हामीले सतकर्ता अपनाउनुपर्छ । 


अहिले कोरोनाले महामारीको रुप लिएको छ । यो रोगको सबैभन्दा बढी असर वृद्धवद्धाहरुमा पर्न जान्छ । त्यही भएर हामीले उहाँहरुको विशेष ध्यान दिनुपर्छ । यस्तो बेला घरमा बस्दा पनि विशेष ध्यान दिनुपर्छ । भीडभाडबाट जोगिनुपर्छ । अनावश्यक काममा बाहिर निस्किन हुँदैन । बाहिर नगएपछि हामी सङ्क्रमितको सम्पर्कमा आउने भएनौँ । बाहिर जानैपरे पनि फर्केर आएपछि आफूले लगाएका कपडाहरु अलग्गै फुकालेर राख्ने तथा राम्रोसँग साबुनपानीले हात धोएर मात्र घरभित्र प्रवेश गर्नुपर्छ । 


यस्तै घरभित्र बिना काम बस्नुपर्दा, काममा भुल्न नपाउँदा मानिस डिप्रेसनमा पनि जान सक्छ । यस्तो अवस्थामा डर मानेर, महामारीबाट त्रसित भएर बस्नु हुँदैन । आफूलाई रचनात्मक काममा लगाउनुपर्छ । ध्यान गर्ने तथा घरभित्रै रहेर गर्न सकिने काम गर्नुपर्छ ।


अहिले जति नेपाली नागरिकमा कोरोना सङ्क्रमण भएको छ, उहाँहरु सबै विदेशबाट फर्किएकाहरु हुनुहुन्छ । अर्थात् जहाँ जहाँ कोरोनाले इपिसेन्टर बनायो, त्यो क्षेत्रबाट फर्किएकाहरुमा यस्तो सङ्क्रमण भएको देखिएको छ । विदेशबाट आएकाहरुको ज्वरो परीक्षण गरिन्छ । ज्वरो ‘कोभिड १९’ को कारणले मात्र आउँदैन । ज्वरो आउने विभिन्न कारणहरु हुन्छन् । यस्तो बेला ज्वरो आउनेबित्तिकै कतै कोरोनाकै लक्षण पो हो कि भनेर सतर्कता चाहिँ अपनाउनुपर्ने हुन्छ ।


कोभिड १९ भाइरसले शरीरमा प्रवेश गरेको १४ दिनसम्म लक्षण देखाउन सक्ने भएकाले शंका गरिएका व्यक्तिलाई १४ दिनसम्म अलग्गै राखिनुपर्ने हुन्छ । खासगरी विदेशबाट आएकाहरुले कम्तिमा पनि १४ दिन अलग बस्नैपर्छ । यस्तोमा हामीले तर्सिनु हुँदैन । जस्तो दुश्मनसँग तर्सिएर हामी भाग्यौँ भने हामी स्वतः हार्छौं । त्यहीभएर डराउनु हँुदैन । बरु जोगिएर बस्ने हो । सङ्क्रमणको शंका भएमा स्वास्थ्य संस्थामा गएर जाँच गर्नुपर्छ ।


अहिले विदेशबाट आएकाहरुको घरमा रातो झण्डा पनि गाडेको भन्ने सुन्निछ । यो हामीहरु डराएका कारण हो । यो एकदमै गलत कुरा हो । बेलाबेलामा यस्ता संकट आएको बेलामा चलखेल गर्ने, अनावश्यक फाइदा लिने तत्वहरु निकै सक्रिय भएका हुन्छन् । यस्तोबेला हामी सबै नेपाली हौँ, हामीमा कुनै विभेद छैन, हामी सबैको शत्रु भनेको कोरोना नै हो । त्यही भएर सबै मिलेर कोरोनासँग लडौँ भन्ने मानसिकता बनाउनुपर्छ ।


रातो झण्डा देखाएर आफू पनि अरुलाई पनि आतंकित बनाउनु मुर्खता हो । बरु आफ्नो कारणले अरुलाई पनि सर्न सक्छ भनेर सचेत हुनुपर्छ । कोरोना पनि निको हुन्छ भन्ने कुरा सबैले बुझ्नुपर्यो ।यस्तो अवस्थामा हामीले संयम हुनुपर्छ, सचेत हुनुपर्छ । राज्यले दिएको, विश्व स्वास्थ्य संगठनले दिएको प्रोटोकललाई मान्नुपर्छ । एकले अर्कालाई बचाऔँ, परिवारलाई बचाऔँ, समाजलाई बचाऔँ, राष्ट्रलाई बचाऔँ र विश्वलाई बचाऔँ भन्ने बुझ्नुपर्छ ।


यो भाइरस समाजमा फैलिन दिने, नदिने भन्ने जिम्मा हामी सबैको हो । इतिहास कोट्याएर हेर्ने हो भने, विभिन्न कालमा आएका महामारीहरु सबै ठाउँमा एकैप्रकारले आएका छैनन् । कुनै ठाउँमा त्यही भाइरसको प्रभाव बढी हुन्छ, कुनै ठाउँमा कम हुन्छ । समुदायमा सङ्क्रमण फैलिन नदिन हामीले विभिन्न उपाय अपनाउनुपर्ने हुन्छ । यस रोगबारे सबैलाई  सूचित गर्नुपर्छ । यसको लागि सञ्चारमाध्यमले पनि ठूलो भूमिका खेलेको छ । तर कहिलेकाहीँ सञ्चारमाध्यमले अस्पतालले बिरामीहरुलाई लिन मानेन भन्ने समाचार पनि छापेका छन् । तर त्यस्तो छैन । म पनि डाक्टर हुँ । म पनि सधैं आफू कार्यरत अस्पतालमा बिरामीहरुलाई हेरिरहेको हुन्छु ।

यस्तै ओपीडी बन्द भन्ने कुरा भिडभाड नहोस् भन्नको लागि हो । नगरी नहुने शल्यक्रिया बाहेकका सामान्य शल्यक्रियालाई  हामीले रोकेका छौं । किनकी एकजनाको शल्यक्रिया हुँदा एकजनाको धेरैजनासँग लसपस हुन्छ । त्यही भएर कोरोना सङ्क्रमणबाट जोगिन नै अस्पालका केही सेवाहरु बन्द भएका हुन सक्छन् ।यस्तो बेला हामीले रोगप्रतिरोधात्मक क्षमता बढाउनेतिर लाग्नुपर्छ । यस्तोबेला कोठामा एक्लै बस्दा दिग्दार लाग्यो भन्दै कुलतमा लाग्ने, जाँडरक्सी, चुरोट खाने गर्नु हुँदैन । जसले शरीरको रोग प्रतिरोधात्मक क्षमता घटाउँछ । समय बिताउने भन्दै रोग प्रतिरोधात्मक क्षमता घटाउने काम गर्नुभएन । यस्तोमा व्यायाम गर्ने, स्वस्थ खाना खाने गर्नुपर्छ । 


यस्तै अभिभावकहरुले बालबालिकाको बारेमा गम्भीरतापूर्वक विचार गर्नुपर्ने हुन्छ । बालबालिकाको मस्तिष्कमा ‘यो रोगले त बर्बाद पार्छ’ भन्ने भयो भने यसले उनीहरुलाई नराम्रो असर गर्छ ।यस्तै ज्येष्ठ नागरिकहरुको बारेमा ध्यान दिनुपर्छ । उहाँको मनोबल र मनस्थिति बढाउनेतर्फ लाग्नुपर्छ । पोषिलो खानेकुराको व्यवस्था गरिदिनुपर्छ । यस्तो समयमा कस्तो अवस्थामा अस्पताल जाने, कस्तो अवस्थामा नजाने भन्ने अन्यौल हुन्छ । अहिले ज्वरो आयो भने हामीले ज्वरो नाप्नैपर्छ र स्वास्थ्य सँस्थामा जँचाउनुपर्छ ।

किनकी कोरोनाको सुरुको लक्षण भनेकै ज्वरो आउने हो । तर छाला चिलायो, सानो खटिरा जस्तो केही देखिंदैमा भने भिडभाड गर्नकै लागि अस्पताल गइरहनु पर्दैन । केही कुरा डाक्टरसँग नभेटे पनि हुने, फोनबाट कुरा गरेर बुझ्दा पनि काम भइहाल्ने हुन्छन् । यस्तोमा अस्पताल गइरहनु पर्दैन । केही ठाउँमा डाक्टरहरु पनि आत्तिएका हुन सक्छन् । यस्तो हुनु स्वभाविक पनि हो । किनभने सङ्क्रमितसँग सिधै सम्पर्कमा आउने भनेको नै डाक्टर हो । यस्तोमा जोखिम त हुन्छ नै । तर त्यसरी आत्तिनुपर्ने पनि छैन । आफ्नो सुरक्षाको ख्याल गर्दै काम गर्यौँ भने आत्तिनुपर्दैन । 


कोरोना उपचारको लागि सुरक्षा सामग्रीदेखि औषधिहरु हामीसँग पर्याप्त नभएको अवस्थामा चीनबाट पनि ल्याइएका छन् । रोग फैलिएन भने हामीसँग साधनहरु पर्याप्त छन् । तर यदि कोरोना फैलियो भने अपर्याप्त हुन सक्छ । राज्यको निर्देशन र विश्व स्वास्थ्य सँगठनको सल्लाहअनुसार अगाडि बढ्यौँ भने हामीले आत्तिहाल्नुपर्ने छैन ।कोरोना महामारी हो । त्यहीभएर यस्तो महामारीको पूर्व तयारी गर्न सकिंदैन । भएपछि नै अग्रसर हुने हो । त्यही भएर सरकारलाई दोष दिनुभन्दा पनि हामी आफ्नोतर्फबाट सचेत हुनुपर्छ ।


अहिले कतिपयका जिज्ञासाहरु छन्, कसैले कोरोनाको असर कति दिनसम्म देखिन सक्छ, क्वरेन्टिनमा बसेको १४ दिनसम्म लक्षण नदेखिएमा के हामी स्वस्थ छौँ भनेर ढुक्क हुँदा हुन्छ कि भनेर सोध्छन् । तर यस्तोमा यही नै हो भनेर भनिहाल्न गाह्रो छ । अनुसन्धान चलिरहेको छ । यो रोगको इम्युनिटी कत्तिको विकसित हुन्छ, कोरोना भाइरस सम्पर्कमा आए पनि इम्युनिटीको कारण कति दिनसम्म असर गर्छ भनेर भन्न सकिंदैन । त्यसैले १४ दिन क्वरेन्टीनमा बस्दैमा मलाई त केही भएको छैन भनेर ढुक्क भइहाल्न हुँदैन । आफू सुरक्षित भएर बस्नुपर्छ । विशेषगरी हामीले हाच्छ्यँु गर्दा, खोक्दा सावधानी अपाउनुपर्छ । 


यस्तै पैसाबाट सर्छ नि भन्ने जस्ता कुराहरु पनि छन् । यस्ता विभिन्न माध्ययमबाट सर्ने कुरामा भने यति नै हो भनेर भन्न सकिएको छैन । यो सबै अनुसन्धानकै क्रममा छ । यस्तै बिहान मर्निङ वाकमा जान पाइन्छ कि नाइ भन्ने जिज्ञाशा पनि धेरैको हुन्छ । यस्तोमा मानिससँग घुलमिल नहुने गरी सडकमा भन्दा पनि एकान्ततिर अथवा आफ्नै घर आँगनमा डुल्न सकिन्छ । सबैभन्दा मुख्य कुरा सतर्कता र सावधानी हो । विदेशबाट फर्किएका साथीहरु अनिवार्य घरमा क्वारेण्टीनमा बसौं । शंका लाग्नेबित्तिकै अस्पताल जाऔं । सरकार र डाक्टरले भनेका निर्देशनको पालना गरौं । विदेशबाट फर्किएकाहरुलाई भेदभाव नगरौं । सम्झाईबुझाई गरेर छुट्टै बस्न प्रेरित गरौं । आफू पनि बचाऔं, अरुलाई पनि बचाऔं ।

(डा. गोविन्द गौतमसँगकाे कुराकानीमा आधारित )

अन्तिम अपडेट: असार १४, २०७७

तपाईको प्रतिक्रिया