हामी जानीजानी नबदलिने जब्बर पुस्ता हौँ

 बैशाख २, २०७७ मंगलबार १४:४०:२६ | भाेजेन्द्र बस्नेत
unn.prixa.net

काठमाण्डौ - सायद हामीभन्दा जब्बर पुस्ता यसअघि थिएन । पाँच वर्षीया छोरीको कुरा सुन्दा र व्यवहार हेर्दा लाग्छ उनीहरुको पुस्ता फेरिनेछ । उनीहरुले कुरा सुन्नेछन्, बुझ्नेछन् र व्यवहारमा लागु गर्नेछन् । उनीहरुले विकास र समृद्धिको गतिमात्र होइन, प्रकृति र मानवताको विषयलाई पनि सँगसगै लैजानेछन् । त्यसैले हामी सबैभन्दा जब्बर पुस्ता हौँ । 

बीस वर्षमाथि उमेरका नेपालमा हामी जति पनि छौं हामीलाई न त प्रकृतिले सबक सिकाउन सक्यो न त सामाजिक/राजनीतिक परिवर्तनले । हामी कुरा सुन्छौँ, बुझ्छौ, हो भन्छौं तर व्यवहारमा लागु गर्दैनौँ । जे ठिक होइन भन्छौं त्यही कुराको लागि ज्यान फाल्न हामी तयार हुन्छौँ । तर सुध्रिदैनौँ । 

हामी २०२८ सालको अनिकालले पिल्सियौँ तर उत्पादन बढाउनुपर्छ भन्ने कुरा सिकाउन सकेन । २०४५ सालको भूकम्पले नपुगेर २०७२ सालमा सबै अङ्ग काप्नेगरी हल्लायो । तर पनि हाम्रो चेत हल्लाउन सकेन । यसअघिका कुष्ठरोग, औलो, दादुरा, विफर, हैजा र फ्लूजस्ता महामारीले नसकेर अहिले कोरोना महामारी आएको छ । तर हाम्रो पुस्तालाई यसले पनि सबक सिकाउन सक्दैन । 

हामी त किन सक्थ्यौँ र ! अरु देशका वैज्ञानिकले खोप र औषधि पत्ता लगाइदिएपछि हामी बाँचेका जति सामान्य अवस्थामा फर्किन्छौँ र उही बाटो हिड्छौं जुन बाटो अहिले हिँडिरहेका छौँ । गर्ने काम फेरिएला, बस्ने ठाउँ फेरिएला तर हाम्रो व्यवहार फेरिने छैन । कुराभन्दा काम उल्टो गर्ने अहिलेकै बानी रहिरहनेछ ।  

अनिकालमा उत्पादन गर्न सिकेको भए कुनै बेला अरु देशलाई अन्न सहयोग गर्ने हामी अहिले केही महिना नाका बन्द हुँदा भोकै पर्छौ कि भन्ने चिन्ता हुँदैनथ्यो । खेत र बारी बाँझो राखेका हामी कोदोदेखि धान, चामल ल्याइरहेका छौँ । विभिन्न महामारीबाट सिक्न सकेको भए हामी थोरै भएपनि पूर्वतयारी गरेका हुन्थ्यौँ । तर आज थाहा भयो एक सेट पीपीई समेत नभएका स्वास्थ्य संस्थाहरु चलाएका रहेछौँ हामीले ।

भूकम्पबाट सिकेको भएमा त्यसपछि हामी बलिया संरचना बनाउँथ्यौँ भने अव्यवस्थित सहर बसाल्दैनथ्यौँ । तर अहिले अनुदानबाट काम नलाग्ने कटेरो बनाएर त्यसकै छेउमा जोखिमपूर्ण घर बनाइरहेका छौँ । 

पहिरोबाट नचेतेर पहाडै खस्नेगरी डोजरले जमिन चिथोरिरहेका छौँ । सडक दुर्घटनाबाट नचेतेर डोजर अपरेटरको डिजाइनमा सडक खनिरहेका छौँ । डुबानबाट नचेतेर खोलाको बाटो नै थुनेर घर बनाइरहेका छौँ । हिउँ पग्लिने क्रमबाट नडराएर हिमालमा मनलाग्दी फोहोर थुपार्न सङ्कोच मानेका छैनौँ । काममा अलिकति सुधार गरे थुप्रै जोखिम घटाउन सकिन्छ भन्ने हामीलाई राम्रोसँग थाहा छ । तर हामी गर्दैनौँ किनकी हामी नेपालका सबैभन्दा जब्बर पुस्ता हौँ । 

प्रकृतिले त हामीलाई सुधार्न सकेन । भएका सामाजिक/राजनीतिक परिवर्तनले पनि हामीलाई सुधार्न सकेन । कानुनी रुपमा जातीय भेदभाव सकिएको साढे पाँच दशक नाघ्यो । हामीमध्ये सबैजसोलाई जातीय भेदभाव ठिक होइन भन्ने थाहा छ । मानिसका लागि मानिस अछुत हुनै सक्दैन भन्ने राम्रोसँग थाहा भएपनि हामी छुवाछुत गरिरहेका छौँ । 

महिलाको महिनावारी पाप नभइ प्राकृतिक रुप हो भन्ने हामीमध्ये सबैजसोलाई थाहा छ । तर अहिले पनि हाम्रै पुस्ताले महिनावारी भएको बेला अछुतको व्यवहार गरिरहेकै छ । जातीय होइन, वर्गीय सङ्घर्ष भन्ने व्यक्तिहरु जातकै आधार देखाउँछन् । बुझ्ने र बोल्ने हाम्रो पुस्ता व्यवहारमा पटक्कै परिवर्तन हुँदैन । मलाई लाग्छ, यो पुस्ता यसैगरी सकिनेछ । 

हाम्रो पुस्ताले सामाजिक रुपमा धेरै परिवर्तन देख्यो । जातीय भेदभाव कानुनी रुपमा सकियो । लैङ्गिक समानताका कुरा संविधानमै दर्ज गरियो । वर्गीय विभेद भएको भन्दै हिंसात्मक रुपबाट सामन्तहरुको सफाया गरेको उद्घोष गरियो । तर त्यो देख्ने र भोग्ने मात्र होइन, सामाजिक रुपान्तरणको वकालत गर्नेहरु नै बदलिएनन् । परिवर्तन हुनुपर्छ भन्नेहरु अहिले पहिलेका सामन्त भनिएकाहरुकै कोटीमा पुगे । 

हामीभन्दा अघिल्लो पुस्ताले नबुझेर नबदलिएका हुन् । उनीहरुले सतिप्रथा नराम्रो भनेर बुझे । त्यसैले त्यसको जरोकिलो उखेले । तर जातीय र धार्मिक कुरा उनीहरुलाई कसैले बुझाएन र दिमागमा दृढ भएर बस्यो । नबुझेको र आत्मविश्वास भएको कुरामा अडिग रहनु स्वभाविक मानिन्छ । तर हाम्रो पुस्ता बुझेर पनि बुझ पचाइरहेको छ । 

यो पुस्ताले राजनीतिक उतारचढाव पनि उस्तैगरी खेप्यो । जहानियाँ राणाशासन ढाल्न भएको आन्दोलन, पञ्चायत हटाउन भएको जनआन्दोलन, विश्वकै उत्कृष्ट भन्दै प्रचार गरिएको २०४७ सालको संविधान, सशस्त्र विद्रोह, लोकतन्त्र ल्याउन गरिएको जनआन्दोलन, अढाई सय वर्ष पुरानो वंशीय राजतन्त्र हटाएर गणतन्त्र स्थापना अनि संविधानसभाबाट नेपालको संविधान पारित, यी सबै यही पुस्ताले ल्यायो, देख्यो र भोग्यो । तर पनि हाम्रो पुस्ताको व्यवहार बदलिएन । 

केहीले भन्छन्, मनमा लागेको कुरा बोल्न पाउने अधिकार छ । त्यति त छ तर त्यो पनि सुरक्षित छैन । पञ्चहरुले एकलौटी गरे भनेर २०४७ सालमा आन्दोलन गर्नेहरुले पनि आफू, आफन्त र दलमा कसरी एकलौटी गर्ने प्रयास गरे भन्ने देख्ने, भोग्ने हामीमध्ये धेरै छौँ । ल भएन सामन्तहरुले गरिबमाथि थिचोमिचो गरेलगायतका कुरा गर्दै सशस्त्र विद्रोह गरेर राज्य सञ्चालनको तहमा पुगेकाहरु आफैँ कसरी नवसामन्त बन्दैछन् भन्ने अहिले देखिरहेकै छौँ । राजा हटाएर राज्य प्रमुख बनेकाहरुले उहिलेका राजाभन्दा के नै फरक गरे र ! बरु व्यक्तिगत सुखसुविधामा डुबिरहेका छन् । 

सुशासनको कुरा चर्को स्वरमा गर्नेलाई कुनै जिम्मेवारी दिइएको केही समयमै प्रश्न उठ्न थाल्यो – उ पनि त्यही ड्याङको मुला हो । नागरिक हितमा काम गर्नुपर्छ, पारदर्शी हुनुपर्छ, बाँकी रहेको वर्गीय विभेद हटाउनुपर्छ, आमनागरिकमा समृद्धिको अनुभूति हुनुपर्छ भन्ने कुरा थाहा नभएको कोही छैन । तर पनि हाम्रो पुस्ता यति जब्बर छ कि सितिमिति बदलिदैन । 

अहिले कोरोना सङ्क्रमणको जोखिमबाट तड्पिएको बेला हामीले ठूला सपना देख्न थालेका छौँ । अब अर्थतन्त्र धरापमा परेपछि मानिसहरु गाउँमा बस्न थाल्नेछन् । विदेशबाट फर्किएर स्वरोजगारका उपायहरु खोज्नेछन्, कृषि उत्पादन बढ्नेछ, मानिसहरुको हात धुनेलगायतका बानीहरु सुध्रिने छन्, हामी स्वाबलम्बी बन्ने छौँ, गाउँगाउँमा अस्पताल बन्नेछन्, सामुदायिक विद्यालयमा विद्यार्थीको चाप बढ्नेछ जस्ता धेरै सपना हामीले देखिरहेका छौँ । 

सञ्चारमाध्यम र विज्ञहरुले जबरजस्त रुपमा यस्ता सपना देखाइरहेका छन् । तर म ढुक्क छु, हाम्रो यो जब्बर पुस्ता सितिमिति हल्लिने छैन । भूकम्प र नाकाबन्दीमा देखिएको आत्मनिर्भरताको सपना तुहिएझैं यो बेलाको सपना पनि तुहिनेछ । केही महिनापछि अवस्था सामान्य बन्दै जानेछ र हाम्रो दैनिकी बिस्तारै पुरानै रुपमा फर्किनेछ । हामी सिक्दैनौँ र फेरिदैनौँ किनकी हामी जानीजानी नगर्ने जब्बर पुस्ता हौँ ।  


 

अन्तिम अपडेट: मंसिर २, २०७८

भाेजेन्द्र बस्नेत

भाेजेन्द्र बस्नेत उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

1 Comments

  • सन्जिव न्यौपाने

    April 14, 2020, 2:54 p.m.

    रजस्वला र छुवाछुत बारे लेख्नु अघि यो हेरौ कोरोना जस्तो विश्व महामारीबाट केवल नेपाली सभ्यताले मात्र पूरा विश्व जोगाउन सक्छ । यस्ता छन् कारणहरु 👇️ 👉️ नेपाली सभ्यतामा बिहान उठ्नासाथ दैनिक स्नान गर्नुपर्ने , जप, ध्यान गर्नुपर्ने , मन्दीर धाउनुपर्ने नियम छ । यहाँसम्म कि मुख नधोई चिया खाएको ? भनेर हाम्रा हजुरबुवाहरुले हामिलाई गाली गर्नुहुन्थ्यो सानो बेलामा । यो पुरै सरसफाई सङ्ग जोडिएको विषय थियो । बिहान उठेर स्नान गर्दा शरिरमा भएका भाइरस, ब्याक्टेरिया सधैं पखालिन्थे , स्नान गरेपछी मात्र breakfast खादा शरिरमा भएका ब्याक्टेरिया र भाइरस हाम्रो शरिरभित्र पुग्न सक्दैन थियो । त्यसपछी जप, ध्यान गर्दा मानसिक शान्ती मिल्थ्यो , उकालो चढी चढी मन्दीर धाउँदा शारिरिक ब्यायम हुन्थ्यो र अरु दिर्घ रोग लाग्दैन थियो । यसरी हाम्रो संस्कारले दिर्घ रोग, मानसिक रोग लगायत संक्रमण हुने रोगबाट समेत हामिलाई जोगाएको थियो । 👉️ दिउँसोभरी जो जता जाओस तर अरुले पकाएको खान नहुने, बासी कुरा खान नहुने, बिहान पाकेको कुरा दिउँसो राखेर खान नहुने नियम थियो । खाना खाँदा धोती फेरेर खानुपर्ने , खाना बनाउनेले पनि आधी लुगा मात्र लगाएर र कपडा फेरेर बनाउनुपर्ने नियम थियो । यसरी अरुले बनाएको खानेकुरा नखाँदा हामिलाई अरुबाट संक्रमण सर्न सक्दैन थियो । धोती फेरेर र लुगा फेरेर खाना खाँदा वा बनाउँदा आफ्नो कपडामा भएको संक्रमण खानेकुरा सम्म आइपुग्ने कुनै सम्भावना नै हुँदैन थियो । फेरि खाना खाने बेलामा बोल्न नहुने, पलेटि कसेर खानुपर्ने , खाना अघि थोरै जल पिएर मात्र खाना खानुपर्ने , निस्तो खाना खान नहुने नियम थियो । यसले हाम्रो पाचन प्रणालिमा सिधै राम्रो प्रभाव बनाउथ्यो र पाचन प्रणाली राम्रो भएपछि stamina बलियो हुन्थ्यो । 👉️ हाम्रो संस्कारले दूध भन्दा दहि अझ दहि भन्दा मोहिलाई बढि प्राथमिकता दिएको थियो । बिज्ञानले पनि प्रमाणित गरिसकेको छ कि दुधमा भन्दा दहिमा र दहिमा भन्दा मोहिमा नराम्रो चिल्लो जसले हामिलाई कोलेस्ट्रोल गराउछ त्यो नराम्रो चिल्लोको मात्रा मोहिमा कम हुन्छ तर पौस्टिक तत्व झन् बढी । त्यसैले हाम्रा पुर्खाहरुको घर घरमा ठेकि भरी मोहि हुन्थ्यो र दिउँसो बाहिरको खाजा नखाई घरकै मकै सङ्ग घरकै मोहि खान्थे जसले फाइबर र fat दुबैको शरिरमा balance गर्थ्यो र शरिरलाई चाहिने probiotic (राम्रा ब्याक्टेरिया) ले शरिरको stamina पनि बलियो गराउथ्यो । 👉️ दिउँसोभरी परिश्रम र घरको लागि गरेको कामले थाकेको शरिरलाई सन्ध्या स्नानले फुर्तिलो गराउथे , हात, गोडा नधोई भित्र छिर्न पाइन्न थियो । अझ आगो समेत छुने चलन थियो जसले गर्दा बाहिरबाट ल्याएको नकारात्मक उर्जा, भाइरस, ब्याक्टेरिया घरभित्र छिर्न पाउँदैन थिए । सन्ध्या आरती, जप र ध्यानले दिउँसोभरिको तनाव कम गर्थ्यो र साँझ घाम अस्ताएपछी खान हुन्न भनेर छिट्टै खाना खान्थे जसले गर्दा खाने बित्तिकै सुत्न पर्दैन थियो र मुटु रोग, सुगर आदिको सम्भावना कम हुन्थ्यो । 👉️ दैनिक फुकिने शंखले थाइराइड ग्रन्थिलाई बलियो बनाएर थाईराइड लाग्न दिँदैन थियो । शंख र घण्टको आवाजले धेरै किलोमिटर सम्मको नकारात्मक उर्जा नस्ट हुन्थे र त्यो ध्वनिले वायुमण्डलको भाइरस, ब्याक्टेरियाको growth मा समेत काम गर्थ्यो । यसकै लागि त बेला बेलामा घरमा हवन, रुद्री र सत्यनारायण पुजा गर्न लगाइन्थ्यो ता कि मानिसको मानसिक बिश्वास , संकल्प र शक्तीमा वृद्धि होस् । 👉️ घरकै गाईवस्तुको मल हालेको organic तरकारी र अन्नले पौस्टिकता मात्र दिन्थ्यो, रोग लाग्दैन थियो । सकेसम्म खेतबारिमा काम गर्नलाई पैसा भन्दा पनि पर्म जाने चलन थियो जसमा पैसा नलिई कामको बदलामा काम तिर्ने चलन थियो । जसले मानिसलाई सहयोगको भाव विकास गर्थ्यो र ज्यादा लोभी बनाउँदैन थियो । 👉️ घरमा सुँगुर , कुखुरा पाल्ने, जाँड रक्सी बनाउने , मासु खानेहरु बिच तथा सात्विक खाना खाने, veg मात्र खानेहरु बिच सामाजिक दूरी ( social distancing ) बनाउनको लागि चार वर्ण ब्राह्मण, क्षेत्री , वैश्य र शुद्र भनेर छुट्याइएको थियो र सकेसम्म यी वर्गहरु बिच सामाजिक दुरि बनाईएको थियो किनकी सुँगुर र कुखुराबाट फैलने स्वान फ्लू, बर्ड फ्लू आदि रोग ती जिवसङ्ग connection नहुने अरुमा फैलन नपाओस । पछि यहि नबुझेर हामिले त्यसलाई छुवाछत भन्दै उल्टो दिशातर्फ लग्यौ जसले समाजमा विभेद गरायो । वास्तवमा त्यसको प्रायोजन social distance maintain मात्र थियो । 👉️रजस्वला भएकी नारी जसको कम्तिमा ४ दिन तिब्र गतिले रगत बग्छ र रगतमा ब्याक्टेरिया संक्रमण बढी हुन्छ र तिब्र गतिमा हुन्छ भन्ने थाहा पाएर रजस्वला हुँदा अरु काम गर्नु तर भान्छामा र पुजामा नछिर्नु भनेर ४ दिन बेग्लै राखिन्थ्यो जसले गर्दा त्यो संक्रमण खानेकुरामा र अरुमा फैलन गारो हुन्थ्यो । त्यतिबेला अहिले जस्तो pad पाइन्न थियो र पानीको पनि अभाव थियो जसले गर्दा त्यतिबेला रजस्वला हुँदा सरसफाई गर्न गारो हुन्थ्यो । अब अहिले पस्चिमी सभ्यता हावी भएपछि हेर्नुहोस, 👉️ बिहान ओछ्यानमै मुख नै नधोई चिया चाहिन्छ , सुतेकै लुगामा बाथरुम गईन्छ , त्यही लुगाले खाइन्छ, सुतिन्छ, संसार घुमिन्छ । यसो गर्दा नै हामिले मानसिक अशान्ति र शारिरिक संक्रमण दुबैलाई निम्ता दिन्छौं । त्यो पनि बिहानै देखि । 👉️ घरको भन्दा बाहिरको खाना मन पर्छ । आज एक दिन घरमा नखान पाए संसार जितिन्छ जस्तो लाग्छ । बाहिर खाना खाँदा रवाफ बढेको जस्तो लाग्छ तर यसरी हामी फोहोर, विषादी युक्त र संक्रमण युक्त खाना खाईरहेका हुन्छौं । 👉️ घरमा भुट्ने मकै अहिले pop corn भएको छ । त्यहीपनि यस्ता चीज भन्दा हामिलाई मम , चाउमिन, पिजा यस्तै चीज मनपर्छ जसले गर्दा हाम्रो शरीर दिन प्रतिदिन कमजोर बन्दै गएको छ । मोहि भन्ने त अहिलेको पुस्ताले सायद चिन्दैनन पनि होला । 👉️ शाकाहारी भोजन छाडेर जीव हत्या गर्दै मासु, माछा अण्डा मात्र रुचाउछौ । यसले पशुमा भएको रोग त मनिसलाई लाग्छ नै त्यो सङ्गै विभिन्न दिर्घ रोगको पनि खतरा बढ्छ । 👉️ कहाँको जप, ध्यान कहाँको चिन्तन, कहाँको मानसिक शान्ति ? बरु डिप्रेसनको औषधी र निन्द्रा लाग्ने औषधि सेवन गर्छौं । यसले झनै शरिरको रोग प्रतिरोधात्मक क्षमता घटाउछ र कमजोर गराउँछ । 👉️ चुरोट, जाँड, रक्सी खादैमा आधुनिक बनेको सम्झन्छौ र आफैं उत्पादन गर्न छाडेर किनेर तरकारी खान पाउँदा आनन्द लाग्छ जसले गर्दा विषादी बढी खाइन्छ , शरिरमा टक्सिन बढ्छ र शरीर अझै कमजोर हुन्छ । 👉️ कहाँ सामाजिक दूरी , अहिले त जातको कुरा गर्यो भने कानुन लाग्छ भन्दै हुनेभए सुङ्गुर र बुङ्गुर नै त्यसको घरभित्र छिराईदिउँ क्यारे जसरी हामी व्यवहार गर्छौ (स्मरण रहोस , मैले यो भनिरहँदा सामाजिक छुवाछुत का घृणा गर्नुपर्छ भनेको हैन , कम्तिमा वर्ग छुट्याएर सुङ्गुर, कुखुरा र बुङ्गुर पाल्ने र नपाल्ने विचको दूरी बनाउँदा राम्रो हुन्छ भनेको हो ) 👉️ रजश्वला प्राकृतिक नियम हो भन्दै पस्चिमाको कुरा सुनेर , नारी विभेद ठानेर हुने भए रजश्वला हुँदा बगेको रगत नै पुरुषहरुको मुखमा पोतिदिन पाए हुने जसरी नारीवादी तर्क गर्छौं तर यो याद गर्दैनौ कि हाम्रो रगत बगेको छ यतिबेला , हामिले संक्रमण बोक्न सक्ने सम्भावना बढी छ। 👉️ शंख बजाउन हामी मध्ये ८०% लाई आउदैन । मन्दीर हामी जादैनौ , जप , ध्यान हामी गर्दैनौ र अशुद्द चीज बढी खान्छौ , आफ्नो संस्कारलाई पुरातनवादी भन्छौं तर आज हेरौं त , 👇️ 🤔 सामाजिक दूरी बनाउ भनेर उनिहरु नै छुवाछुत लगाउन थाले, मन्दीर गए जसरी morning walk जाउ उनिहरु नै भन्न थाले, ध्यान र प्राणायम गर्दा मानसिक शान्ती मिल्छ र मानसिक शान्तीले मात्र रोग जितिन्छ उनिहरु नै भन्न थाले । धेरै जसो प्राणघातक रोग जनावरबाट नै मानिसमा आउँछ भन्नेमा सहमत भए । animal fat राम्रो हैन भन्न थालेका छन् । मोहिमा हुने bacteria को probiotic tablet निकाल्न थालेका छन् । केटि मान्छेले कपाल बाँधेर हिड्नु नत्र कोरोना सर्छ भन्न थाले । 🤔 हामि अझै पनि भन्दै छौं रजस्वला नारी विभेद, कपाल बाँधेर हिड्नु पुरातनवादी सोच , सामाजिक दूरी बनाउनु र अरुले छोएको नखानु छुवाछुत र विभेद , शाकाहारी बन्नु कमजोर हुनु हो , जप ध्यान गर्न र शंख बजाउन अनि मन्दीर जान वृद्ध हुनुपर्छ आदि इत्यादी तर, एकपटक गहिरिएर सोचौ । यदि विश्व नै हाम्रो पुर्खा चलेको जसरी नीति नियममा चलेको भए , रुख बिरुवा, वर, पिपललाई इश्वर मानेर र हरेक जिवलाई इश्वर मानेर जिवहत्या नगरी र बन जङ्गल सखाप नपारी बर तिहारमा र अरु बेला हामिले पुजेको जसरि पुजा गरेको भए र सामाजिक दूरी कायम राख्न सफल भएको भए , अर्ग्यानिक खानेकुरामा जोड दिन सकेको भए र दैनिक जप, ध्यान , पुजा आदिमा लागेको भए , शंख र घण्टको महत्व बुझेको भए , नेपालिको पर्म र मेलालाई बुझेको भए र पैसालाई मात्र महत्व नदिएको भए आज बिश्व्मा डाईबिटिज , प्रेसर, थाईराईड , तनाब , डिप्रेसन , संक्रमण र अहिले कोरोना संक्रमण । यी कुनै पनि रोगको अस्तित्व आज यो संसारमा हुने नै थिएन । अझै पनि बेला छ । नेपाली बनेर पूरा विश्व बाचोस , सनातन पद्दतिमा पूरा दुनियाँ लागोस । यसरी मात्र बिश्वमा शान्ती र निरोगिपन छाउछ । चित्त बुझेमा share गर्नुहोला । आफ्नो प्रतिकृया राख्नुहोला ।

  •  0 Reply

तपाईको प्रतिक्रिया