परदेशमा कोरोना उपचारमा संलग्न नेपाली नर्स : जसले उपचारमा खटिँदा घर परिवार भन्नुभएन

 वैशाख ६, २०७७ शनिबार १९:१७:२२ | उमाकान्त पाण्डे

यूएई – ‘यू आर आवर सोल्जर अर्थात हाम्रो राष्ट्रको सेवामा खटिएकी तिमी नौजवान हिरो हौं,’ रुपन्देहीकी ३३ वर्षीया गंगा खनाल ढकालको इमेलमा आबुधावीका युवाराज मोहमम्म्द बिन जायदबाट आएको सन्देश हो यो । 

परदेशी भूमिमा कोरोना सङ्क्रमितको उपचारमा खटिएकी गंगालाई युवराजको यो सन्देशले छाती चौडा भयो । खुशीले गदगद हुनुभयो । आफूले गरिरहेको कामको प्रशंसा पाउँदा, आफू खुशी भइरहँदा हप्तौंदेखि कोठामा एक्लै छाडेको छोराले के सोच्यो होला ? आमा खै भनेर कति सम्झियो होला ? सम्झदा मात्रै पनि मन चसक्क भयो । 

यूएईको रजिस्टर नर्स गंगा यहाँ बु्रजेल अस्पतालको आईभीएफ (टेस्टट्युब बेबी) विभागमा चार वर्षदेखि काम गर्दै आउनुभएको छ । यो अप्ठेरो परिस्थितीमा उहाँले आफ्नो छोरालाई २७ दिनसम्म श्रीमानको साथमा छाडेर कोरोना सङ्क्रमितको उपचारमा खटिंदा मन नआत्तिएको कहाँ हो र ? तर उहाँलाई लाग्यो, ‘यो बेला घरमा भएको छोरालाई भन्दा अस्पतालमा कोरोनासँग लडिरहेका बिरामीहरुलाई आफ्नो खाँचो छ ।’

चार वर्ष भयो गंगाले यूएईको रजिष्टर नर्सको रुपमा काम गर्न थालेको । महाराजगञ्ज नर्सिङ क्याम्पसबाट बीएससी नर्सिङ गर्नुभएको हो । संयुक्त अरब एमिरेट्स यूएईको अलऐनमा उहाँको परिवार नै बस्नुहुन्छ । श्रीमान अलऐनकै एउटा विदेशी स्कुलमा पढाउनुहुन्छ । छोरा र श्रीमानसहित परदेशी भूमिमा बस्दा जीवन सामान्य रुपमा चलेकै थियो । 

चीनबाट फैलिएको कोरोनालाई सीमाले छेकेन । यूएईमा पनि सङ्क्रमण देखिन थाल्यो । सङ्क्रमण बढ्दै गएपछि उहाँलाई अस्पताल प्रशासनले कोरोना सङ्क्रमितको उपचारमा खटिन प्रस्ताव गर्‍यो ।

परदेशी भूमि । कोरोनाको जोखिम । अनि आमा भन्दै पछि लाग्ने सानो छोरो । मनको सुनौं कि दिमागको ? निर्णय गर्न सजिलो थिएन । तर उहाँको अलमललाई प्रष्ट पार्न श्रीमानले सघाउनुभयो, हौसला दिनुभयो ।

‘कोरोना सङ्क्रमितको उपचारमा खटिने आँट र निर्णय त मेरो हो,’ गंगा भन्नुहुन्छ, ‘तर श्रीमानले  साथ नदिएको भए यो सम्भव थिएन, उहाँले मलाई निर्णय गर्ने बेलामा होस् या काममा छँदा मेरो आत्मबल बढाउन कुनै कसर बाँकी राख्नुभएन ।’

एक महिनाअघि गंगाले छोरालाई श्रीमानको साथमा छाडेर अस्पतालमा कोरोना सङ्क्रमितको उपचारमा खटिन कम्मर कस्नुभयो । 

जोखिम असाध्यै थियो । के हुन्छ, कसो हुन्छ भनेर सोच्ने अवस्था थिएन । तर मन त हो । गर्छु र सक्छु भन्ने हो भने असम्भव के नै छ र ? गंगाले आफ्नो पेशाका लागि ज्यानकै बाजी राख्नुभयो ।

‘मेरो जीवनको यतिका वर्ष स्वास्थ्य क्षेत्रमा बिताएँ, योबेला म पछि हटेँ भने त मैले आजसम्म गरेको कर्मको के अर्थ भयो र,’ गंगाले खुसीसाथ भन्नुभयो, ‘म मेरो सन्तुष्टीका लागि आफ्नै राजीले काममा खटिएको हुँ ।’

कोरोना सङ्क्रमितको उपचारमा खटिंदा घर आउन पाइएन । अस्पतालले नै क्वारेण्टीन र आइसोलेसनको व्यवस्था गरेको छ । उहाँ पनि त्यहीँ बस्नुभयो । बिरामीको उपचार गर्दा कति दिनसम्म पनि परिवारलाई सम्पर्कसमेत गर्न पाउनुभएन ।

कोरोना सङ्क्रमित बिरामीकोझैं परिवारसँग सम्पर्क पनि गर्न नभ्याउँदा उहाँको पनि मन नआत्तिएको कहाँ हो र ? तर बोल्न नभ्याए पनि काममा खटिनुभएकी उहाँलाई श्रीमानले म्यासेज गरिरहनुभयो । छोराको र आफ्नो बारेमा बताइरहनुभयो । त्यति मात्र हैन म्यासेजबाट पनि श्रीमानले उहाँलाई हौसला दिइरहनुभयो ।

‘म बोल्न पाउँदिन थिएँ, तर पनि श्रीमानले म्यासेज गरिरहनु हुन्थ्यो, मोबालइमा उहाँका म्यासेज हेरिरहेको हुन्थें, उहाँले दिएको त्यो हौसलाले मलाई झन काममा खटिन तागत आउँथ्यो,‘ गंगा श्रीमानको साथ सुनाउनुहुन्छ, ‘मैले आत्तिएका बिरामीलाई हौसला दिएँ, श्रीमानले चाहिँ न्यास्रिएकी मलाई काममा खटिन प्रेरित गर्नुभयो ।’

अघिपछि एक समय काम गरे पनि बाँकी समय आफैंसँग हुने आमालाई हप्तौं नदेख्दा छोरो अटल निकै आत्तिए । बुवालाई सोधिरहे । आमा निकै दिन नफर्किएपछि त छोराले आमा अस्पतालमा बिरामीको उपचार गरिरहेको कुरा पत्याउन छाडे । किनकी उसलाई आमा त्यति लामो समय घर नफर्किएको थाहै थिएन ।

 ‘घर कहिले आउनुहुन्छ मात्र भन्ने, छिटो आउनु भन्ने,’ गंगा भन्नुहुन्छ, ‘आज भोलि भन्दा भन्दा २७ दिन बित्यो, उसलाई हाम्रो विश्वास लाग्न छाडिसकेको थियो ।’
मनभरी घरमा आफू फर्कने दिन कुर्दै बसेको छोराको सम्झना । आँखाभरी कोरोना सङ्क्रमित बिरामी र उनीहरुको अत्यास । यस्तो बेला मन बलियो बनाउन अस्पताल प्रशासन र साथीभाइले पनि निकै साथ दिए । यूएई सरकारले पनि कोरोना सङ्क्रमितको उपचारमा खटिनेलाई मनोबल बढाउन हरदम प्रयास गर्‍यो भन्नुहुन्छ उहाँ । 

कोरोनालाई उच्च मनोबलले जित्न सकिन्छ 

यूएइमा कोरोना सङ्क्रमितलाई अस्पताल तथा तारे होटलहरुमा राखेर उपचार गरिंदैछ । उपचारमा पहिलो पंक्तिमा नर्सहरु नै खटिनपर्छ । खटिएका नर्सहरुले नै बिरामीको चरणबद्ध उपचार गरिरहेका हुन्छन् । डाक्टरहरुको सुझाव अनुसार नर्सहरुले काम गरिरहेका छन् ।

यूएईका सहित विदेशी नागरिक पनि धेरैलाई कोरोना सङ्क्रमण भएको छ । यूएईले विदेशी नागरिकलाई पनि बिरामीभन्दा पाहुनाको रुपमा व्यवहार गरेका छ भन्नुहुन्छ गंगा । 

कोरोना सङ्क्रमणकै डरले परदेशमा रहेका स्वस्थ्य नेपाली पनि आत्तिइरहेका बेला सङ्क्रमितको उपचारमा खटिन चुनौतीपूर्ण छ । कोरोनाको सङ्क्रमण हुन सक्छ । 

पीपीई लाउन र खोल्न पनि जोखिमपूर्ण नै छ । थोरै केही बिग्रिएमा एक जनालाई मात्र होइन, उपचारमा खटिने समूहलाई नै सङ्क्रमण हुन सक्छ । तर गंगा सचेत हुनुहुन्छ ।

‘हाम्रो पेसा यही हो, योबेला हामी तर्सियौं भने बिरामीको के होला ?’ गंगा भन्नुहुन्छ, ‘कोरोना लाग्दैमा आत्तिनु पर्दैन, मन दह्रो बनाए जित्न सकिन्छ ।’ तर सङ्क्रमित भैसकेपछि मर्नेको सूचीमा आफ्नो पनि नम्बर थपिएला कि भनेर नआत्तिने बिरामी कमै पाउनुभयो उहाँले । 

‘घरपरिवार भेट्न आतुर हुनुहुथ्यो, धेरै जना हतार देखेँ, त्यस्तो गर्दा त मन सँगै ज्यान पनि कमजोर हुन्छ,’ गंगा सम्झाउँदै भन्नुहुन्छ, ‘हामी कमजोर भयौं भने कोरोनाले हामीलाई जित्छ, त्यसैले उच्च मनोबलका साथ कोरोनासँग लड्नुहोस्, निको भइन्छ ।’

उहाँले बिरामीको मन कमजोर देखेपछि सम्झाउनु पनि हुन्छ । कोरोनाको बारेमा बुझाउनुहुन्छ । यसैगरी उहाँले अस्पतालमै २७ दिन बसेर बिरामीको उपचारमा खटिनुभयो । 

२७ दिनपछि उहाँको छोराको प्रतीक्षा सकियो । उहाँलाई अस्पतालले एक हप्ताका लागि परिवार भेट्ने छुट्टी दियो । 

‘यति लामो समयपछि परिवार भेट्न पाउँदा खुशी लागेको छ, तर अस्पतालमा काम गर्दा पनि म बेखुशी छैन, मेरो कारणले कोही बाँच्छ, उसको पनि परिवार, मेरोजस्ते खुशी हुनेछ,’ गंगा भन्नुहुन्छ, ‘यो समयमा मैले जतिसक्यो सेवा गर्न पाउँ ।’

उहाँ यूएईमा हुने सबै नेपाललाई नआत्तिन सुझाव दिनुहुन्छ । ‘कोरोना लाग्दैमा नआत्तिनुहोस्, सामान्य रुघाखोकी लाग्दा पनि कोरोना नै हो कि भनेर हतास नहुनुहोस्, कोरोनाको औषधि नभए पनि त्यसलाई जित्ने शक्ति हामीभित्रै छ ।’

उहाँले परिवारसँग भेट्नका लागि पाएको एक हप्ताको बिदा आइतबारदेखि सकिंदैछ । आइतबारदेखि उहाँ फेरि उसैगरी काममा खटिंदै हुनुहुन्छ । तर उहाँले अस्पतालमा बिरामी भएर पुग्नेलाई मात्र होइन, कोरोनाको डर लागेमा फोन गरेर सोध्न पनि यूएईमा रहेका नेपालीलाई अनुरोध गर्नुभएको छ ।

‘सङ्क्रमण नै भयो या लक्षण देखियो भने मलाई फोन गर्नुहोस्, म कामबाट फुर्सदको समयमा तपाईँहरुलाई परामर्श दिनेछु,’ गंगाले भन्नुभयो । उहाँसँग कोरोनाबारे परामर्श लिन ०५६८३१९४७४ मा सम्र्पक गर्न सकिन्छ । फोन नउठेमा उहाँले आफैंले पछि कलब्याक गर्नुहुनेछ । 

कोरोनाको त्रास कहिले सकिन्छ थाहा छैन । कसलाई सङ्क्रमण हुन्छ, कसलाई हुँदैन भन्न सकिदैन । तर गंगा भन्नुहुन्छ, ‘तपाईँ मन बलियो बनाएर, सुरक्षित भएर बस्नुहोस्, म तपाईँहरुको सेवामा खटिरहनेछु ।’

 

अन्तिम अपडेट: मंसिर १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

1 Comments

  • baldev pandeya

    April 19, 2020, 6:36 a.m.

    ,, मैले आत्तिएका विरामिलाइ हौसला दिए , श्रीमानले चाहिँ न्यास्रीएकी मलाइ काममा खटिन प्रेरित गरिरहनु भयो ,, सेवा हर्ने हातहरुको भलो होस !!!!

  •  0 Reply

तपाईको प्रतिक्रिया