काठमाण्डौ छिर्ने नाका सिल गर्न मेयरहरुको माग

 जेठ १, २०७७ बिहीबार २०:२५:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – उपत्यका नगरपालिका फोरमका पदाधिकारीले गृह मन्त्री रामबहादुर थापा 'बादल'लाई उपत्यकाको आवत जावतमा कडाइ गर्न माग गरेका छन् ।

बिहीबार मन्त्रालयमा गृह मन्त्रीको अध्यक्षतामा मन्त्रालयका सचिव, तीन वटै जिल्लाका प्रमुख, तीन वटै निकायका सुरक्षा प्रमुखसहित उपत्यकाका विभिन्न नाकाका पालिकाका प्रमुखको संयुक्त बैठकमा यस्तो सुझाव दिइएको नगरपालिका फोरमका अध्यक्षसमेत रहनु भएका काठमाण्डाै महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिनुभयो ।

‘उपत्यका नगरपालिका फोरमले दिएकाे सुझावलाई पूर्णरुपमा पालना गर्न गृह मन्त्रीज्युसँग आग्रह गरेका छौँ’, शाक्यले भन्नुभयो, ‘लाखौँको सङ्ख्यामा रहेका उपत्यकावासीले सरकारले गरेको निर्णयलाई पालना गरिरहेको अवस्थामा केही व्यक्तिको आवत जावतले उपत्यका अशान्त बनिरहेको छ । त्यसैले आज गृह मन्त्रीज्युलाई उपत्यकाका नाकामा कडाइ गर्नेभन्दा पनि प्रस्थान बिन्दुबाटै आवत जावतलाई रोक्ने कुरालाई कडाइका साथ पूर्णरुपमा पालना गर्ने वातावरण निर्माण गर्न आग्रह गरेका छौँ ।’

आवत जावतलाई कडाइ गर्दै प्रस्थान बिन्दुमै सबैलाई नियन्त्रण गर्नुका साथै अत्यावश्यक कामका लागि उपत्यका आउनुपर्ने व्यक्ति कुन पालिकामा आउने हो त्यहाँको पालिका र जिल्ला प्रशासनलाई समेत अनिवार्य जानकारी गराउने व्यवस्था गर्न पनि आग्रह गरेको उहाँले जानकारी दिनुभयो ।

‘मन्त्रालयले पास दिने अनि उपत्यकाभित्र ल्याएर छाडिदिने त्यसपछि हाम्रा वडाध्यक्ष–सदस्यहरु चाँहि उनीहरुको पछि–पछि लाग्दै उनीहरुलाई खोज्दै हिँड्नुपर्ने बाध्यताका कारण ठूलो समस्या भएको छ’, शाक्यले भन्नुभयो, ‘लकडाउनको उल्लङ्घन गर्दै लुकीछिपी उपत्यकाभित्र आउने र उपत्यकावासीलाई नै अशान्त बनाउने जोकोहीलाई कानुनी दायरामा ल्याएर कारबाही गर्न सुझाव दिएका छौँ । हामीले लुकीछिपी आउने मात्रै होइन ल्याउनेलाई समेत कारबाहीको दायरामा ल्याउनुपर्छ भनेका छौँ ।’

जथाभाबी पास दिने कुरालाई समेत निरुत्साहित गर्न सुझाव दिएको पनि शाक्यले जानकारी दिनुभयो । बैठकमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले उपत्यकामा लकडाउन खुकुलो बनाउँदा कोरोना सङ्क्रमणकाे जोखिम बढ्नसक्ने भन्दै घना बस्ती भएको कारण काठमाण्डाै उपत्यकालाई सुरक्षित राख्नुपर्नेमा जोड दिनुभएको थियो । उहाँले पूर्वउच्च पदस्थ पदाधिकारी र ठूला–ठूला उद्योगमा खटाएका सुरक्षाकर्मीलाई सीमा सुरक्षामा खटाउन सुझाव दिएको समेत जानकारी दिनुभयो ।

बैठकमा जनप्रतिनिधिले उपत्यका सङ्घीय राजधानीसमेत भएकाले पालिकाले क्वरेण्टीन निर्माण गर्दा मापदण्डलगायतमा समस्या हुन सक्ने भन्दै क्वरेण्टीन निर्माण गर्न सङ्घीय सरकारलाई नै आग्रह गरेका थिए । काठमाण्डाै उपत्यकामा जोखिम बढेसँगै अति आवश्यक कामबाहेक उपत्यकामा प्रवेश निषेध गर्ने तथा आगमनको स्रोत नै रोक्ने, उपत्यका प्रवेशका सबै नाकाहरू अति आवश्यक प्रयोजनबाहेक पूर्णरुपमा सिल गर्ने र लुकीछिपी हुने प्रवेश पूर्णरुपमा नियन्त्रण गर्नेलगायतका विषयमा छलफल भएको गृह मन्त्रालयले जानकारी दिएको छ ।

बैठकमा काठमाण्डाै महानगरपालिका प्रमुख शाक्यसँगै ललितपुर महानगरपालिका, भक्तपुर नगरपालिका, चन्द्रागिरि नगरपालिका, तारकेश्वर नगरपालिका, टोखा नगरपालिका, शङ्खरापुर नगरपालिका, दक्षिणकाली नगरपालिका र सूर्यविनायक नगरपालिकाका प्रमुख सहभागी थिए ।

उपत्यकाका दुई महानगर र १६ नगरपालिकाका मेयर र उपमेयरहरुको साझा संस्था नगरपालिका फोरमले सरकारलाई यसअघि नै उपत्यका प्रवेशमा कडाइ गर्न माग गर्दै आएको छ । 

अन्तिम अपडेट: असोज १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया