औलो उपचारमा प्रयोग भैरहेको औषधी कोरोना सङ्क्रमितलाई प्रयोग गर्न डब्लूएचओद्वारा रोक

 जेठ १३, २०७७ मंगलबार ७:१२:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - विश्व स्वास्थ्य संगठन डब्लूएचओले औलो रोगको उपचारमा प्रयोग भैरहेको औषधि कोरोना सङ्क्रमण भएका बिरामीमा प्रयोग गर्न रोक लगाएको छ ।

संगठनले सुरक्षाको कारण देखाउँदै कोरोना भाइरस विरुद्धको सम्भावित परीक्षणको लागि प्रयोग भैरहेको औलो रोग विरुद्धको औषधि हाइड्रोक्लोरोक्विन प्रयोगमा अस्थायी रुपमा रोक लगाउने निर्णय गरेको हो ।

विभिन्न देशमा अहिले यो औषधिको परीक्षण भैरहेकोमा सावधानी अपनाउनको लागि भन्दै अस्थायी रुपमा परीक्षण रोक्ने निर्णय भएको बीबीसीले जनाएको छ । एक अध्ययनले औलो विरुद्धको औषधि कोरोना सङ्क्रमितमा प्रयोग गर्दा ज्यान गुमाउने जोखिम बढेको देखाएपछि संगठनको यो निर्णय आएको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसबाट बच्न यो औषधि प्रयोग गरिरहेको बताउँदै आउनुभएको छ । 

यसैबीच, विश्वका विभिन्न देशमा गरी साढे २३ लाख भन्दा धेरै कोरोना सङ्क्रमित उपचारपछि निको भएका छन् । ५५ लाख ८२ हजारभन्दा धेरैमा कोरोना पुष्टि भएकोमा २३ लाख ६१ हजार भन्दा धेरै निको भएका हुन् । ३ लाख ४७ हजार भन्दा धेरैको ज्यान गएको छ ।

भारतमा कोरोनाका नयाँ बिरामी र ज्यान गुमाउनेको दर बढ्दै गएको छ । गएको २४ घण्टामा मात्रै भारतमा ७ हजारभन्दा धेरै नयाँ बिरामी थपिएका छन् भने १ सय ५६ जनाको ज्यान गएको छ । योसँगै भारतमा १ लाख ३८ हजार ५ सय ३६ जनामा कोरोना पुष्टि हुँदा ज्यान गुमाउनेको संख्या ४ हजार नाघेको वर्ल्डओमिटरले जनाएको छ ।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया