'रुकुम घटना' ले उब्जाएकाे ३ प्रश्नमा गम्भीर बनाैँ : कांग्रेस

 जेठ १३, २०७७ मंगलबार १५:२६:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – रुकुम पश्चिममा भएकाे घटनालाई लिएर नेपाली कांग्रेसले कानुन हातमा लिनेहरुलाई अविलम्ब कारबाही गर्न माग गरेकाे छ । 

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति निकाल्दै देशलाई नै स्तब्ध बनाएकाे घटनाकाे निष्पक्ष छानबिन गरेर कुनै माेलाहिजा बेगर दाेषीलाई कडा कारबाही गर्न माग गरेकाे छ । 

रुकुम पश्चिममा नृशंस घटना भएकाे खबरपछि नेपाली कांग्रेस केन्द्रीय कार्यालय निरन्तर रुकुमकाे पार्टी नेतृत्व, प्रशासन र स्थानीयसँग सम्पर्कमा रहेकाे विज्ञप्तिमा जनाइएकाे छ ।   

साथै कांग्रेसले रुकुम पश्चिम घटनाले उब्जाएकाे तीन प्रश्नमा गम्भीर बन्न आग्रह गरेकाे छ । यस्ताे छ घटनाले उब्जाएकाे तीन प्रश्न –

(१) सामाजिक विभेद र विसङ्गतिकाे प्रश्न कानुनी रूपमा जातीय विभेद र छुवाछुतलाई दण्डनीय बनाइएको छ तर नयाँ संविधान पछिको नेपालमा पनि अझै पनि यस्ता घटना हुनु दुःखद छ । नेपाली कांग्रेसले रुकुमको घटनालाई दलित समुदायमाथिको हिंसाका रूपमा लिएको छ । प्रेम सम्बन्धमा जातीय प्रश्न खडा गरेर भएको हत्याको दोषीहरुलाई दण्डित गर्न नेपाली कांग्रेस माग गर्दछ ।

(२) राज्य प्रशासनको भूमिकामा प्रश्न लकडाउनका समयमा एक जिल्लाबाट अर्को जिल्लामा युवाहरूको समूह जाँदै गर्दा रोक्ने कार्य प्रशासनले गरेको भए सायद यस्तो अप्रिय घटना नहुन सक्दथ्यो । राज्यको उपस्थिति न त्यसबेला देखियो न आक्रमणको घटना हुँदै गर्दा । नेपाली कांग्रेसले यो तथ्यलाई गम्भीरतापूर्वक लिएको छ र प्रशासन अनुपस्थिति उपर केन्द्रीय सरकारको धारणा माग गर्दछ ।

(३) निष्पक्ष अनुसन्धान र दण्डको प्रश्न केही निश्चित मानिसले गरेको आक्रमणमा पूरै गाउँ समाजलाई बदनाम गराउने र दोषीलाई जोगाउने षड्यन्त्र हुनसक्ने सङ्केत हामीले पाएका छौँ । जातीय विभेदको सङ्कुचित मनोविज्ञानले निहत्था युवाहरूमाथि आक्रमणको कार्य गर्ने जो कोही हुन्, तिनलाई कुनै ढिलाइ नगरि गहन अनुसन्धानको प्रक्रिया पूरा गरेर कानुनतः अधिकतम दण्ड दिन नेपाली कांग्रेस माग गर्दछ । घटनामा जीवन गुमाएका नवराज विक, टिकाराम सुनार र गणेश बुढा मगरको आत्माको शान्ति कामना गर्दै नेपाली कांग्रेस भेरी नदीमा बेपत्ता भएका भनिएका अन्य युवाको तदारुकता साथ खोजी गर्न नेपाल सरकार समक्ष आग्रह र माग गर्दछ । साथै घाइते युवाहरूको शीघ्र स्वास्थ लाभको कामना गर्दछ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया