गरिबी घट्यो, प्रतिव्यक्ति आय १ लाख २६ हजार रुपैयाँ पुग्ने अनुमान

 जेठ १३, २०७७ मंगलबार १८:७:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आर्थिक वर्ष २०७६/७७ मा नेपालको प्रतिव्यक्ति आय एक हजार ८५ अमेरिकी डलर अर्थात् एक लाख २६ हजार १८ रुपैयाँ पुग्ने अर्थ मन्त्रालयको अनुमान रहेको छ ।

यो गएको वर्षको तुलनामा साढे ७ प्रतिशत अर्थात् आठ हजार सात सय ५० रुपैयाँले धेरै हो । गएको आर्थिक वर्षमा नेपालीको प्रतिव्यक्ति आय एक लाख १७ हजार दुई सय ६७ रुपैयाँ थियो । प्रतिव्यक्ति आय कुल गार्हस्थ उत्पादनलाई आधार मानेर निकालिन्छ । यो वर्ष नेपालको कुल गार्हस्थ उत्पादन ३७ खर्ब ६७ अर्ब रुपैयाँ रहेको छ । गएको वर्ष यो ३४ खर्ब ५८ अर्ब रुपैयाँ रहेको थियो ।

यस्तै आर्थिक प्रक्षेपणमा निरपेक्ष गरिबी घट्दै गएको उल्लेख छ । आर्थिक वर्ष २०७४/७५ मा १८ दशमलव ७ प्रतिशत रहेको निरपेक्ष गरिबी आर्थिक वर्ष २०७६/७७ मा झण्डै १६ दशमलव ६७ प्रतिशत रहने अनुमान मन्त्रालयको छ ।

आर्थिक वृद्धिदर २ दशमलव ३ प्रतिशत

सरकारले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर २ दशमलव ३ प्रतिशत हुने अनुमान गरेको छ । सङ्घीय संसदमा चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै अर्थ मन्त्री डाक्टर युवराज खतिवडाले कोरोना भाइरसकाे कारण आर्थिक वृद्धिदर २ दशमलव ३ प्रतिशतमा घट्ने प्रक्षेपण पेस गर्नुभएको हो ।

फागुनसम्म समग्र आर्थिक क्रियाकलापहरूमा तीव्रता आए पनि कोरोना महामारीकाे कारण विश्व अर्थतन्त्र नै प्रभावित हुन गइ त्यसको असर नेपालको अर्थतन्त्रमा पनि पर्न गएकोले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर २ दशमलव ३ प्रतिशत हुने प्रारम्भिक अनुमान रहेको प्रक्षेपणमा उल्लेख छ । पछिल्ला तीन वर्षमा भने आर्थिक वृद्धिदर ७ दशमलव ३ प्रतिशत रहेको थियो । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया