'परिवारले दिने हौसलाले परदेशीको आत्मबल बढाउँछ'

कोरोनाको कारण मनमा डर या चिन्ता लागेको छ ? यी उपाय अपनाउनुहोस्

 जेठ १४, २०७७ बुधबार ११:३१:१४ | करुणा कुँवर
unn.prixa.net

अहिले एकातिर कोभिड १९ को डर त्रास अन्यौल भैरहेको छ भने सामाजिक रुपमा आएको अन्यौल अनिश्चितताले पनि मानिसमा एक प्रकारको डर चिन्ता बढेको छ।  परदेशीहरुले पनि आफू बन्धनमा परेको जस्तो महशुस गरिरहेका छन् । जहाज नउड्दा चाहेर पनि घर आउन, जान पाएका छैनन् । अनि अर्कोतिर कतिबेला कोरोना लाग्ने हो, क्वरेण्टीनमा कति दिन बस्नुपर्ने हो, क्वरेण्टीनमा बसे पनि उपचार पाइने हो कि होइन जस्ता अन्यौल, अनिश्चितता पनि एकदमै बढेको देखिन्छ । जसले गर्दा मानिसमा एक किसिमको डर त्रास उत्पन्न भएको पाइएको छ ।

अन्यौलमा परदेशी र परिवार

कतिपयले त आफ्नो  परिवारसँग यी भावनाहरु व्यक्त गर्ने गर्छन् भने कतिजनाले  सरकारले गरेको कतिपय निर्णयहरुमा पनि आक्रोश पोखेको देखिन्छ । परदेशमा धेरै जना अन्यौलमा हुनुहुन्छ ।

भिसा सकिएर बस्नुभएको छ, कति जनाले टिकट काटेर आउन पाउनुभएको छैन । यस्तै धेरै समस्याबाट गुज्रिएर अब कति समय विदेशमै बस्ने भन्ने भइरहेको छ । कतिपय देशहरुले निश्चित समय तोकेर यति समयभित्र देश छोड भनिरहेका छन् ।

हुन त सबै जनालाई कोरोना भाइरसकै इन्फेक्सन भएको भन्ने होइन, तर क्वरेण्टीनमै बस्यो भन्दा पनि मानिसमा एकप्रकारको डर, त्रास, चिन्ता बढेको पाइन्छ ।

त्यसले गर्दा पनि परदेशीमा निकै अन्यौल भएको छ । जसको कारण स्वदेशमा भएका परिवारका सदस्यहरु विशेषगरी श्रीमान श्रीमती, नजिकका परिवारका सदस्यहरुलाई पनि त्यस्तै खालको अन्यौल भइरहेको देखिन्छ । यस्तै उहाँहरुमा पनि मानसिक अवस्था असाध्यै कमजोर हुँदै गएको हामीले पाएका छौं ।

जस्तो एकजना महिला, उहाँको श्रीमानलाई विदेशमा क्वरेण्टीनमा राखेको छ भन्ने समाचार सुन्नेबित्तिकै उहाँको हातखुट्टा काँप्ने, लल्याकलुलुक हुने, खान मन नलाग्ने, राति निद्रा नलाग्ने, एकदमै दुःख बढेको छ भन्ने कुरा गरिरहनुभएको छ । धेरै परिवारमा यस्तो भइरहेको अवस्था छ ।

हुन त सबै जनालाई कोरोना भाइरसकै इन्फेक्सन भएको भन्ने होइन, तर क्वरेण्टीनमै बस्यो भन्दा पनि मानिसमा एकप्रकारको डर, त्रास, चिन्ता बढेको पाइन्छ ।

डर हटाउन यी उपाय गर्न सकिन्छ

क्वरेण्टीनमा बस्दा होस् या कम्पनीको क्याम्पमै बस्दा, अनि परिवारका सदस्यहरु पनि घरमै बसेर विदेशमा रहनुभएका आफ्ना आफन्तको खबर लिंदा मनमा उत्पन्न हुने डर हटाउन लागि हामीले विभिन्न कुरा गर्न सक्छौं । कोरोना भाइरसकै कुरा गर्ने हो भने पनि हामीले सही सूचना पाएका छौं कि छैनौं र त्यही अनुरुप व्यवहार गरेका छौं कि छैनौ भन्ने पनि हुँदो रहेछ । 

कतिपय अवस्थामा ६०÷७० प्रतिशतमा पाएको समाचारभन्दा विपरीत कुराहरु गरिरहेको पाइन्छ अथवा बढी गरिरहेको पाइन्छ । जस्तै समाचारमा कुनै सामानबाट कोरोना सर्छ भन्ने सुनेको छ भने त्यो सामान छुँदा पनि डराउने, एकदमै तर्सिने, कुनै सामान ल्यायो भने धेरै दिनसम्म बाहिरै राख्ने गरेको देखिन्छ । जसले गर्दा मानसिक रोग थप हुन गइरहेको छ । 

यसले गर्दा चिन्ता थपिने गरेको छ । मानिसको नजिक गएर कुरा गर्यो भने कोरोना सर्छ भन्ने सुनेकाले त्यसो गर्न डराइरहेका छन् । पहिले हामी सर्प देख्यो भने जसरी भाग्थ्यौं अहिले मान्छे मान्छेसँगै त्यसरी नै डराइरहेको र भागरहेको अवस्था छ । तर यसौं नगरौं ।

त्यसैले आफ्नो मानसिक स्वास्थ्यलाई कसरी हेर्ने भन्ने कुरा महत्वपूर्ण हुन्छ । आफूले गर्ने चिन्ता, डरका कारण मानसिक स्वास्थ्यमा असर पर्ने त होइन भनेर आफैसँग प्रश्न गर्नुपर्ने देखिन्छ ।

यतिखेर हामीले चाहेर पनि कुनै पनि कुरा नियन्त्रण गर्न सक्दैनाैं। जस्तो उदाहरणको लागि फ्लाइट, लकडाउन खोल्ने कुरा, ट्राफिकका कुरा यी सबै हाम्रो नियन्त्रण बाहिरका कुरा हुन् । हामी चाहेर पनि यी कुरामा नियन्त्रण गर्न सक्दैनाैं । यतिबेला हामीले अपनाउनुपर्ने मुख्य कुरा भनेको धैर्यता हो । 

हामीले लकडाउनमै दुई महिना बिताइसक्यौं । त्यो लकडाउनको बेला पनि हामीमा कति धेरै समस्याहरु भए होलान् । कोरोना भाइरसको कारणले भन्दा पनि आफ्नै चिन्ताले गर्दा बढी समस्सा भएको हुनसक्छ । कोरोना भाइरसले प्रभाव नपारेको घरमा हिंसा बढेको छ, जसले गर्दा परिवार तहसनहस भएको अवस्था पनि छ । पहिले आफ्नो परिवारको सदस्यहरुसँग कुरा गर्दा खुसी लाग्थ्यो, मनमा आनन्द छाउँथ्यो भने अहिले अन्यौल र अनि

अनिश्चितता छाएको छ । अत्यास लाग्ने कुरा गर्दा त्यसले मानसिक स्वास्थ्यलाई असर गरेको हुन सक्छ ।

यी कुराहरुलाई हामीले समयमै बुझ्न महत्वपूर्ण हुन्छ । यतिखेर हामीले चाहेर पनि कुनै पनि कुरा नियन्त्रण गर्न सक्दैनाैं। जस्तो उदाहरणको लागि फ्लाइट, लकडाउन खोल्ने कुरा, ट्राफिकका कुरा यी सबै हाम्रो नियन्त्रण बाहिरका कुरा हुन् । हामी चाहेर पनि यी कुरामा नियन्त्रण गर्न सक्दैनाैं । यतिबेला हामीले अपनाउनुपर्ने मुख्य कुरा भनेको धैर्यता हो । 

हामी जहाँ छौं, त्यहीँ स्वस्थ तरिकाले कसरी बाँच्न सक्ने भन्ने कुरामा परिवारका सदस्यसँग छलफल गर्न पनि जरुरी छ । एउटा यस्तै घटना भएको छ । श्रीमान् श्रीमती दुवैजना परदेशमै हुनुहुन्थ्यो । श्रीमानलाई स्वास्थ्य समस्या थियो । १८ दिनसम्म स्वास्थ्य उपचार गर्न नपाएर उहाँलाईृ छटपटाहट भएको थियो भने यता परिवारमा पनि त्यस्तै छटपटी थियो । तर पछि आफैं निको भएर आएपछि उहाँले भन्नुभएको कुरा निकै महत्वपूर्ण छ ।

उहाँले अस्पताल नगएर पनि मलाई मेरो परिवारसँगको नियमित कुराकानीले बचाएको हो जस्तो मलाई लागेको छ, टाढै भए पनि म तिमीसँग छु है भनेर घरपरिवारले दिएको हौसलाले मनभित्र आत्मबल दिंदो रहेछ, ढिलो चाँडो भए पनि एक दिन निको हुन्छु भन्ने किसिमको आत्मबल बढाएको उहाँले बताउनुभएको थियो ।

त्यही भएर यस्तो बेला टाढै भए पनि एकअर्काले सहयोगी भावना देखाउनुपर्छ । तिमी मेरो जीवनको लागि महत्वपूर्ण छौ है भन्ने किसिमका कुरा गर्नुपर्छ । हामी टाढै भए पनि एकजुट छौं भन्ने खालको सन्देश प्रवाह गर्न महत्वपूर्ण हुन्छ ।

सकारात्मक सोचौं, नकारात्मक सोचलाई त्यागौं

आफूमा कस्तो प्रकारको सोचाइ आएको छ ? सकारात्मक छ या नकारात्मक छ, आफैंले मूल्यांकन गर्नुपर्ने हुन्छ ।

कतिपय अवस्थामा आफूमा आएको आफूलाई मद्दत नगर्ने खालको सोचाइले झन स्वास्थ्य बिग्रिने, त्यस्तै खालको व्यवहार गर्न मन लाग्ने, झैझगडा हुन सक्ने, जाँडरक्सी खाने जस्तो बानी पर्ने देखिन्छ । त्यही भएर यस्तो बेला आफूमा आएका सोचाइहरु सकारात्मक हो या नकारात्मक हो भनेर आफैंले छुट्याउनुपर्छ । आफूलाई अलिकति विश्वास र सम्मान गर्ने हो भने यो समय विस्तारै पार लाग्छ ।

पहिले हामीले सबैभन्दा साधारण रोगको रुपमा रुघाखोकीलाई लिन्थ्यौं । क्यान्सरजस्ता रोगहरुलाई डरलाग्दो रोग भन्थ्यौं भने रुघाखोकीलाई सामान्य रोग भनेर टारिदिन्थ्यौं । तर जब कोरोना कोभिड १९ भन्ने भाइरस आयो, त्यसले धेरै मान्छेको ज्यान लगेको भन्ने भए पनि त्यो भन्दा धेरै गुना बाँच्न सफल हुनुभएको छ । त्यही भएर हामीले त्यो तथ्यांकलाई पनि बुझ्नुपर्ने हुन्छ ।

पहिले जसरी हामीले रुघा लाग्दा तातोपानी तताएर, बेसार अदुवा खाएर निको हुन्थ्यौं यसलाई पनि त्यही तरिकाले बुझ्नुपर्छ । त्यतिखेर हामीसँग आत्मबल हुन्थ्यो । अहिले पनि त्यही आत्मबलको खाँचो छ ।

कतिपयले अहिले झन् बढी रक्सी पिएको, हानीकारक कुराहरु खाएको भन्ने कुराहरु पनि सुन्नमा आएका छन् । यसले कोरोना निको हुने होइन कि झन् बढी समस्या निम्त्याउँछ । 

यदि सङ्क्रमण भइहाल्यो भने उपचार कसरी गर्ने भनेर सोच्न एकदमै महत्वपूर्ण हुन्छ । समूहमा बस्दैमा सङ्क्रमण भइहाल्छ भन्ने पनि होइन । त्यसो हो भने त हामी परिवारमै पनि समूहमा बसिरहेका हुन्छौं । मानिस सामाजिक प्राणी हो त्यसैमा पनि विशेषगरी नेपाली झनै समूहमा बस्न रुचाउने हुन्छन् । यो बेला हामीले विशेषगरी डर शंका गर्ने, भविष्यमा के होला भनेर मात्र सोच्ने हो भने कोरोना भाइरस त थाहा छैन, मानसिक सम्बन्धी अरु रोग लाग्ने पक्का हुन्छ । 

त्यसैले अहिलेको समयमा आत्मबल कसरी बढाउने, मानसिक रुपमा कसरी स्वस्थ रहने भनेर ध्यान दिन एकदमै जरुरी छ ।

भोलि बाँचिने हो कि मरिने हो भन्ने खालको सोचाइ राख्यो भने पनि त्यसले हानी पुर्याउँछ । कतिपयले अहिले झन् बढी रक्सी पिएको, हानीकारक कुराहरु खाएको भन्ने कुराहरु पनि सुन्नमा आएका छन् । यसले कोरोना निको हुने होइन कि झन् बढी समस्या निम्त्याउँछ । 

केही भइहाले पनि साथीभाइ आफन्तसँग सल्लाह लिन जरुरी छ । तर आफैं आफैंबीचमा डराउने तर्सिने गर्दा झन् गाह्रो हुन्छ । परदेशमा त झन् धेरै समुहमा बस्ने गरेको हुन्छ । पहिले जसरी रमाएर, गफ गरेर बसिन्थ्यो अहिले पनि त्यसै गरी बस्नुपर्छ । काम छैन, भोलि के गर्ने भनेर चिन्ता लिने र त्यही बारे मात्र कुरा गर्ने गरेमा झन् बढी समस्या निम्त्याउने गर्छ ।

त्यहीभएर अहिलेको समयमा धैर्यता कामय गरी आफैंलाई र एकअर्कालाई सहयोगको भावनाहरु जुटाउन आवश्यक हुन्छ ।

लामो समयसम्म एउटै कुराले सताएमा मनोविद या चिकित्सकको सल्लाह लिऔं

हामीले दैनिक जीवनमा मृत्युको बारेमा सुनेको यो पहिलो घटना होइन । मोटरसाइकल दुर्घटना भएर ज्यान गयो भनेर हामी कति पटक सुन्थ्यौं, तर त्यसपछि हामीले मोटरसाइकल चलाउन त छाडेनौं नि । मैले पढेको थिएँ, संसारमा सबैभन्दा बढी डरलाग्दो किसिमले दुर्घटना हुने र बढी मानिस मर्ने भनेको नै मोटरसाइकलबाट हुँदो रहेछ । 

यसरी मर्ने क्रम त विभिन्न कारणले हुने गर्छ । केही दिन मान्छे मर्यो भनेर आफूमा असमान्य अवस्था आउनु भनेको त स्वभाविक नै हो । मानिसमा त्यो दुर्घटनाको मूल्यांकन गर्ने क्षमता हुन्छ । जसले गर्दा हामीलाई फेरि त्यही दुर्घटनाबाट जोगिन मद्दत गर्छ । 

तर त्यही कुराले लामो समयसम्म असर गर्यो दुईतीन हप्तासम्म असर गरिरह्यो भने त्यसले मानसिक रुपमा अस्वस्थता बढाउन सक्छ । त्यो अस्वस्था नबढाउनको लागि हामीले मानव जीवन अस्थिर हो, हाम्रो मृत्यु थाहा छैन भन्ने जस्ता कुरालाइ सोच्न र बुझ्न पनि महत्वपूर्ण हुन्छ । 

अहिले हामीले सक्नेजति आफूलाई सुरक्षित राख्ने हो । नियम, निर्देशनहरु पालना गर्ने हो , धैर्यता अपनाउने र छरछिमेका सकारात्मक कुराहरु बाँड्ने गर्नुपर्छ । तर एकजनाको मृत्यु हुँदा लामो समयसम्म त्यसले दिमागमा असर गरिरह्यो भने विशेषज्ञ सेवाको आवश्यकता नै पर्ने हुन्छ, होइन भने एकदुई दिन चिन्ता हुनु त स्वभाविक कुरा नै हो । 

(मनोविद कुँवरसँग सन्जिता देवकोटाले गर्नुभएको कुराकानीमा आधारित । उहाँसँगको यो कुराकानी कार्यक्रम देश परदेशमा सुन्न सकिन्छ ।)

 

अन्तिम अपडेट: असार २९, २०७७

करुणा कुँवर

कुँवर मनाेविद् हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया