लकडाउनको विकल्प : टड्कारो आवश्यकता

 जेठ १५, २०७७ बिहिबार १०:२६:१० | प्रकाश अधिकारी
unn.prixa.net

चीनको वुहानबाट गत वर्षको डिसेम्बरमा शुरु भएको कोरोना भाइरसको महामारीले अहिले विश्वका अधिकांश देशलाई लकडाउनमा राखेको छ । झन्डै ६ महिनाभन्दा बढी भइसक्दा पनि यसको न्यूनीकरण भन्दा पनि जोखिमको मात्रा बढेर गएको छ ।

यो लेख तयार गर्दासम्म विश्वका ५५ लाख भन्दा बढी मानिस सङ्क्रमित भइसकेका छन् भने ३ लाख पचास हजार जतिको ज्यान गइसकेको छ । नेपालमा पनि झन्डै ८ सयजनाभन्दा सङ्क्रमण फैलिएको छ भने ५ जनाले ज्यान गुमाइसकेका छन् । 

चीनले कोरोना मुक्त पार्न गरेको लकडाउनलाई धैरै देशले नक्कल गरिरहेका छन् । आर्थिक रुपले सम्पन्न मुलुक चीनलाई यसले खासै असर पारेन होला तर नेपाल जस्ता अति कम विकसित मुलुकको लागि भने अत्यन्त भयावह वन्दै गएको भान हुँदैछ । विश्वमा सबैभन्दा कडा लकडाउन गर्ने इटालीले नै सबैभन्दा बढी क्षती बेहोर्नु पर्यो भनेँ विश्व स्वास्थ्य संगठनको चेतावनीको बावजुद पनि लकडाउन नगर्ने जापानले कम क्षति बेहोर्नु  पर्यो ।

दक्षिण कोरियाले पनि लक डाउनलाई भन्दा भौतिक दूरीलाई प्राथमिकतामा राख्यो ।  नर्वे , स्विडेन, डेनमार्क , जर्मनी जस्ता मुुलुकहरुले लकडाउन गर्दा भन्दा खुकुलो पार्दा चाहिं सङ्क्रमितको संख्या घटाएर देखाएका छन् । 

लकडाउनले केही सकारात्मक सन्देश पनि दिएको छ । विश्वको वातावरण सफा भएको छ भने पारिवारिक एकतालाई वलियो वनाएको छ । पैसा मात्र सबथोक होइन अनि मानव जातिको घमण्डलाई चूर गरायो भन्न सकिएला तर यसले हाम्रा दैनिक जीवनमा पार्ने दूरगामी असर अझ भयानक छन् ।

कोरोनाबाट मृत्यु हुने भन्दा अन्य रोगबाट मृत्यु हुनेहरुको संख्या अझ भयावह छ  ।

विश्वमा सडक दुर्घटनामा–४ लाख ९७ हजार ६ सय १८ अन्य दुर्घटनामा– ४ लाख ५४ हजार २ सय ८०आत्महत्याबाट– ३ लाख २९ हजार ९ सय ५८ जनाको मृत्यु भएको छ । यस्तै एड्स, क्षयरोग जस्ता रोगहरुको तथ्याङ्क अझ डरलाग्दो छ ।

विगत दुई महिनादेखिको लकडाउनले हामीले हाम्रो उद्धेश्यमा सफलता हासिल गर्न सफल भयौ कि भएनौ ? गम्भीर समीक्षा गर्नुपर्ने बेला आएको छ । लकडाउनको अवधिमा  नेपालमै झन्डै ५ सय आत्महत्याको घटना भइसकेको सुन्दा  मन बेचैन हुन्छ ।

बेरोजगारी, व्यवासायीहरूको अवस्था दयनीय बन्दै गएको छ अनि करोडपतिहरू रोडपति बन्ने निश्चित छ । केही सीमित व्यापारी र जनप्रतिनिधि अनि सरकारी कर्मचारीहरू बाहेक सबैको दैनिक जीवन कष्टकर ब जाने निश्चित हुँदै गएको छ ।

६० लाखभन्दा बढी विद्यार्थीहरुको शैक्षिक भविष्य अन्योल भएको छ भने माध्यमिक परीक्षा एसईई दिने विद्यार्थीहरुमा आउन सक्ने मानसिक विचलन अनि प्रारम्भिक उमेरका बालबालिकामा त्रासको कारणबाट जीवनपर्यन्त हुने मानसिक समस्या अर्को भयानक बन्ने निश्चित प्राय छ । कोरोना कहिले सकिन्छ भन्न सकिदैन।

हामी कति समय जबर्जस्ती भोक र शोकसँग चिन्ता गर्दै लुकेर घर भित्र बस्ने ? बाटो हिलाम्य छ , हिड्न सकिएको छैन कति कुर्ने? अब त्यही हिलोसँग सुरक्षाको उपाय अपनाउँदै हिँड्नु बाहेक विकल्प छैन । सरकारले सुरक्षाका उपायहरु र वैकल्पिक उपाय अपनाएर लकडाउनलाई सहज पार्न सक्नुपर्छ । कोरोनासँग जुधेर अघि बढन सक्ने हिम्मत राख्नु पर्छ ।

महान वैज्ञानिक चार्ल्स डार्विनले भनेजस्तै बाँच्नको लागि सङ्घर्ष गर्नै पर्छ, यसको मतलब लुकेर अनि भागेर होइन, अब सुरक्षाका उपाय अपनाएर जुध्नु बाहेक अर्को विकल्प छैन ।

यसले मात्र हामी सबैको मनोबल उच्च पार्छ र कोरोना पनि कमजोर हुँदै जानेछ । लकडाउन को वैकल्पिक उपाय अपनाउने संकेत सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले पनि दिइसक्नुभएको छ ।

हाम्रा मानसिक र शारीरिक अवस्थालाई मजबुत पार्दै कोभिड-१९ सँग जुध्ने हिम्मत बढाउँ, लकडाउकनको विकल्प खोजौँ । भारतले पनि अन्तरिक हवाई यातायात सुचारु गरिसकेको छ । जर्मनीले पनि १.५ मिटरको दुरी कायम गरेर आफ्नो जीवन सहज पार्न जर्मन सरकारले आफ्ना नागरिकहरुलाई अनुरोध गरिसकेको छ ।

हामी पनि सुरक्षाका सबै उपाय अपनाएर , स्वास्थ्य क्षेत्रलाई समुन्नत पारेर अनि सुरक्षा संयन्त्रलाई चुस्त बनाएर लक डाउनको बैकल्पिक उपायको खोजीतर्फ लागौँ। यो नै टड्कारो आवश्यकता हो ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

1 Comments

  • हुतमणि अधिकारी

    May 31, 2020, 8:57 a.m.

    अत्यन्त सामयिक बिचार ! लकडाउन मात्र समाधान होइन । सरकारले बिकल्पहरुको खोजी गर्नुपर्छ । सावधानी अपनाउँदै जनजीवन सामान्य रुपमा चल्न दिनुपर्छ ।

  •  0 Reply

तपाईको प्रतिक्रिया