यसरी गर्दैछ सरकारले भारतबाट फर्कने नेपालीको उद्धार

 जेठ १९, २०७७ सोमबार १९:५८:१ | उज्यालो सहकर्मी

काठमाण्डौ –श्रम स्वीकृति लिएर रोजगारीका लागि गएकाहरुको विवरण सरकारसँग भए पनि खुल्ला सीमाना भएको भारतमा कति नेपाली छन् भन्ने यकिन तथ्याँक छैन ।

अघिपछि सरकारको कुनै सहयोगबिनै नेपाल भारत आवतजावत भए पनि अहिले कोरोना महामारीका कारण समस्यामा परेर भारतबाट स्वदेश फर्कन खोज्नेहरु सीमापारी निकै समयसम्म अलपत्रै परे । महामारी फैलिएर सीमा नाका बन्द गरेको दुई महिनापछि सरकारले उनीहरुको पनि उद्धार गर्ने बृहत कार्ययोजना बनाएको छ । यो योजना मन्त्रिपरिषदबाट पनि पारित भइसकेको छ । 

यस्तो छ कार्य योजना 

कोरोना भाइरसको सङ्क्रमण बढेसँगै सरकारले सीमा नाकामा कडाइ गरे पनि भारतमा रहेका नेपालीको स्वदेश फिर्तीको लागि विभिन्न नाकाहरु ताेकिएकाे छ । भारतबाट स्थलमार्ग हुँदै स्वदेश आउने नेपालीका लागि १८ जिल्लाका २० नाका नेपाल प्रवेशका लागि तोकिएका छन् ।

मन्त्रिपरिषद्ले शनिबार गरेको निर्णयअनुसार पशुपतिनगर (इलाम), काँकडभिट्टा (झापा), रानी (मोरङ), कुनौली (सप्तरी), ठाडी (सिरहा), माडर (सिरहा), भिट्टामोड (महोत्तरी), मलंगवा (सर्लाही), गौर (रौतहट), वीरगन्ज (पर्सा), महेशपुर (नवलपरासी पश्चिम), बेलहिया (रुपन्देही), तौलिहवा (कपिलवस्तु), कृष्णनगर (कलिपवस्तु) जमुनाह (बाँके) रहेकाे छ ।

यस्तै सुरजपुर (गुलरिया) बर्दिया, गौरीफन्टा (कैलाली), गड्डाचौकी (कञ्चनपुर), झुलाघाट (बैतडी) र दार्चुला नाकाबाट नेपालीलाई स्वदेश प्रवेश गराइने छ । सीमा नाकामा आएका नेपालीहरूको विवरण सम्बन्धित प्रदेश, जिल्ला र पालिकालाई बुझाउनुपर्ने प्रावधान छ ।

होल्डिङ सेन्टरको व्यवस्था

भारतबाट फर्कनेहरुका लागि प्रवेश बिन्दु नजिकैको स्कुल तथा समुदायिक भवन, पाटी प्यालेस वा कर्भड हल लगायत उपयुक्त स्थानमा होल्डिङ सेन्टर बनाइने छ । होल्डिङ  सेन्टर नेपाली सेना तथा जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको सहयोगमा सम्बन्धित स्थानीय प्रशासनले गर्नेछ ।  

प्रवेश बिन्दुबाट भारतबाट आएकालाई त्यहाँ व्यवस्था गरिएका सवारीमार्फत नेपाली सेनाको समन्वयमा होल्डिङ सेन्टरसम्म पुर्‍याइनेछ । होल्डिङ सेन्टरमा नै ज्वरो नाप्ने लागयत कार्य हुनेछ । होल्डिङ सेन्टरमा ज्वरो नाप्ने र ज्वरो एक सय दशमलव ४ डिग्री भएमा आइसोलेसन कक्षमा लैजाने र अन्यलाई नेपाली सेनाको संयोजकत्वमा सम्बन्धित जिल्ला सदरमुकसम्म पुर्‍याउने प्रावधान छ ।

होल्डिङ सेन्टरमा रहेकालाई सरकारले नै नेपालको फोन नम्बर नभएमा सीमकार्ड उपलब्ध गराउनेछ । यही नम्बरको आधारमा उनीहरु आफ्नो जिल्ला फर्किएपछि गतिविधि र स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिइनेछ ।

त्यसका लागि उनीहरुले हाम्रो स्वास्थ्य भन्ने मोबाइल एप डाउनलोड गर्नुपर्नेछ । यो नम्बर कम्तिमा ६० दिन क्रियाशील राख्नपर्नेछ । भारतबाट आउनेले पनि प्रवेश बिन्दुदेखि होल्डिङ सेन्टर र त्यहाँबाट पालिकाले व्यवस्थापन गरेका क्वारेण्टीनसम्म पुग्न यातायात खर्च व्यक्ति स्वायंले तिर्नुपर्नेछ । 

भारतबाट आएका व्यक्तिलाई प्रवेश बिन्दुबाट जिल्ला सदरमुकामसम्म ल्याइएकालाई सम्बिन्धित पालिकाले व्यवस्थापन गरेको क्वरेण्टीनसम्म पुर्‍याउने र क्वरेण्टीन अवधिभर आवश्यक समन्वय र सहयोगका लागि प्रदेशस्तरमा एक जना मन्त्री तोकिएको छ ।

गएको जेठ १२ गते बसेको मन्त्रिपरिषद बैठकले कोरोनाको कारण विदेशमा समस्यामा परेर नेपाल आउनैपर्ने अवस्थामा रहेकालाई ल्याउने निर्णय गरेको थियो ।

त्यसअनुसार कोभिड १९ क्राइसिस म्यानेजम्यान्ट सेन्टर (सीसीएमसी) ले स्वदेश फर्कने नेपालीको व्यवस्थापनका लागि तयार पारेको बृहत कार्ययोजनालाई मन्त्रिपरिषद्ले स्वीकृत गरिसकेको छ । जसअनुसार भारतबाट स्थलमार्ग हुँदै आउने नेपालीको पनि उद्धार गर्ने सरकारको योजना छ । तर यसको कार्यान्वयन सुरू भइसकेको छैन ।

भारतबाट यसअघि पनि सीमापारी आएर नेपालीहरु अलपत्र परिरहेका थिए । वैशाख ३० गते भारतले रेल सेवा सुरू गरेपछि हजारौं नेपाली स्वदेश फर्किसकेका छन्। यसरी फर्किएकाको भीडले गर्दा सीमा नाकामा पर्याप्त स्वास्थ्य परीक्षण हुन सकेको छैन ।

 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया