यूएईबाट नेपाली लिएर उडेको जहाज काठमाण्डौ आइपुग्यो

 जेठ २३, २०७७ शुक्रबार १८:०:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै‌ - यूएईबाट नेपाली लिएर आएको  एअर अरेबियाको उडान नम्बर जी नाइन १७५१  जहाज काठमाण्डौ विमानस्थलमा ओर्लिएको छ । जहाजमा एकसय ६८ जना यात्रु रहेका विमानस्थल कार्यालयले जनाएको छ । कोरोनाको कारण समस्यामा परेका नेपालीलाई यूएई सरकारले जहाज चार्टड गरेर नेपाल पठाएको हो।

नेपाल सरकारले तय गरेको प्राथमिकताका आधारमा नेपाल पठाउने गरी दूतावासले सूची तयार गरेको थियो । तर, प्राविधिक कारण देखाउँदै उनीहरुलाई यूएईमै रोकिएको छ । त्यसैले दूतावासकाे सूचीभन्दा बाहेकका नेपाली जहाजमा फर्किएका छन् । 

इजादा फ्यासिलिटी म्यानेजमेन्टमा कार्यरत ६७, टान्स गार्ड सेक्युरिटी कम्पनीमा कार्यरत ७९ जना र अन्य ११ जना गरी १ सय ५७ जना नेपाली नेपाल फर्किएकाे भनिए पनि  विमानस्थलले भने एकसय ६८ जना यात्रु रहेकाे जनाएकाे छ ।

सरकारले विदेशबाट ल्याउने नेपालीको साथमा अनिवार्य कोरोना परीक्षणको रिपोर्ट हुनुपर्ने भने पनि यूएईबाट आएका नेपालीको कोरोना परीक्षण भएको छैन । उनीहरुलाई विमानस्थलबाट होल्डिङ सेन्टर राखेर स्वास्थ्य जाँच गरिनेछ । त्यसपछि मात्र उनीहरु जिल्ला सदरमुकामको क्वरेण्टीनमा बस्नेछन् । यसअघि शुक्रबार नै म्यानमारबाट पनि २६ जना नेपाली स्वदेश फर्किएका छन् ।

 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया