खाडी र मलेसियामा झण्डै ११ हजार नेपालीमा कोरोना सङ्क्रमण, सङ्क्रमितको सङ्ख्या घट्दो

 जेठ २५, २०७७ आइतबार १५:४:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – विश्वका विभिन्न देशमा १४ हजारभन्दा धेरै नेपालीमा कोरोना सङ्क्रमण भएको गैरआवासीय नेपाली संघ एनआरएनएले जनाएको छ ।

एनआरएनए अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. सञ्जिव सापकोटाका अनुसार शनिबार साँझसम्म विदेशमा रहेका १४ हजार ४ सय ४५ जना नेपालीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

जसमध्ये खाडीका देश र मलेसियामा कार्यरत १० हजार ९ सय ३८ नेपालीमा कोरोना सङ्क्रमण भएको स्वास्थ्य समितिको तथ्याँक छ । शनिबार साँझसम्म कतारमा ६ हजार ९११ जनामा, साउदीमा १ हजार ३६४ जनामा, बहराइनमा ३३२ जनामा, संयुक्त अरब इमिरेट्स (यूएई)मा १६ सय जनामा, कुवेतमा ६५० जनामा र मलेसियामा ८१ जनामा कोरोना सङ्क्रमण भएको छ ।

नेपालीमा कोरोना सङ्क्रमण घट्दो

विदेशमा अघिल्लो हप्ता नेपालीमा कोरोना सङ्क्रमण हुने दर घटेको स्वास्थ्य समितिले जनाएको छ । सङ्क्रमणसँगै ज्यान गुमाउने नेपालीको सङ्ख्या पनि घट्दै गएको छ ।

स्वास्थ्य समितिका अनुसार अघिल्लो साता विदेशमा ६ जना नेपालीको कोरोनाबाट ज्यान गएको छ भने ५ हजार ५ सय ९० जना कोरोनाबाट निको भएका छन् । यो सङ्ख्या अघिल्लो हप्ताको तुलनामा ७५ प्रतिशतले कम भएको स्वास्थ्य समितिले जनाएको छ ।

एनआरआनए अन्तर्गतको स्वास्थ्य समितिका अनुसार संसारभरीका ३४ देशमा रहेका नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ भने १३ देशमा रहेका नेपालीको कोरानोको कारण ज्यान गएको छ । संघको पछिल्लो तथ्यांक अनुसार विदेशमा रहेका १ सय २५ जना गैरआवासीय नेपालीहरुको कोरोनाका कारणले ज्यान गएको छ ।

 

अन्तिम अपडेट: चैत २३, २०८०

तपाईको प्रतिक्रिया