वैदेशिक व्यापार बढ्दै, लकडाउनमा भित्रियो साढे ४ अर्बको खाद्यान्न र तरकारी

 जेठ २६, २०७७ सोमबार १०:१२:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - लकडाउनका कारण सुस्ताएको वैदेशिक व्यापार फेरि बढ्न थालेको छ ।

चैत ११ गतेदेखि सरकारले लकडाउन घोषणा गरेपछि दैनिक ५० देखि ६० करोड रुपैयाँको मात्रै वस्तु आयात हुने गरेकोमा पछिल्लो समय दैनिक ३ अर्ब रुपैयाँको वस्तु आयात हुन थालेको छ ।

यसले वैदेशिक व्यापार सामान्य अवस्थातर्फ गइरहेको देखाएको भन्सार विभागका महानिर्देशक सुमन दाहालले जानकारी दिनुभयो । सामान्य अवस्थामा देशभरका भन्सारबाट दैनिक ५ अर्ब रुपैयाँको आयात हुने गरेको छ । अहिले औसतमा दैनिक ३ अर्ब रुपैयाँको आयात भइरहेको र यो पहिलेको तुलनामा ६० प्रतिशतको हिस्सा भएको पनि भन्सार विभागका महानिर्देशक सुमन दाहालले बताउनुभयो । 

चैत ११ गतेयता देशमा १ खर्ब १० अर्ब रुपैयाँको वस्तु आयात आयात भएको छ । जसमध्ये ठुलो हिस्साा खाद्यान्न र औषधी तथा कच्चा पदार्थको रहेको छ । 
चैत ११ गते यता ४ अर्ब ५३ करोड ३२ लाख रुपैयाँको खाद्यान्न, तरकारी, दलहन र फलफुल भित्रिएको छ । १ करोड १४ लाख रुपैयाँको दुग्धजन्य पदार्थ आयात भएको छ । 

लकडाउनको ७२ दिनसम्म २ लाख ४२ हजार ८ सय २० मेट्रिक टन खाद्यान्न, ६८ हजार १ सय ९३ मेट्रिक टन दलहन, ८६ हजार २ सय ९४ मेट्रिक टन तरकारी र ३४ हजार ६ सय ९५ टन फलफुल आयात भएको छ ।  १२ हजार २ सय ५७ मेट्रिक टन दुग्धजन्य पदार्थको आयात भएको छ ।  

चैत ११ गतेयता १ अर्ब ७ करोड रुपैयाँको औषधीको कच्चा पदार्थ भित्रिएको छ भने ४ अर्ब ६ करोड रुपैयाँको तयारी औषधी आयात भएको छ । यस्तै १३ करोड ९७ लाख रुपैयाँको डिजल, ६ करोड १ लाख रुपैयाँको पेट्रोल, ८ करोड २७ लाख रुपैयाँको खाना पकाउने एलपी ग्यास आयात भएको छ । 

राजश्व संकलन पनि बढ्न थाल्यो

आयात बढेसँगै राजश्व संकलन पनि बढ्न थालेकोछ । लकडाउनका सुरुका केही हप्तामा १५ देखि २० करोड रुपैयाँ मात्रै राजश्व संकलन हुने गरेकोमा अहिले दैनिक ६० करोड रुपैयाँ हाराहारीमा राजश्व संकलन भइरहेको छ ।

सामान्य अवस्थामा दैनिक १ अर्ब रुपैयाँ राजश्व संकलन हुने गरेको थियो । राजश्व संकलन पनि सामान्य अवस्थाको तुलनामा ६० प्रतिशतको हाराहारीमा संकलन भइरहेको भन्सार विभागले जनाएको छ ।

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया