पोखराका दुई दर्जन होटेल क्वरेन्टीन बनाउन तयार : ‘नेगेटिभ’ लाई मात्र राख्न माग

 जेठ २७, २०७७ मंगलबार ६:४७:५२ | रासस
unn.prixa.net

कास्की - घर फर्कने नागरिकलाई क्वरेन्टीनमा राख्न होटलहरुको प्रयोग गर्नुपूर्व गम्भीरता अपनाउनुपर्ने माग गरी पश्चिमाञ्चल होटल संघ (हान) पोखराले सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ ।

पोखराका दुई दर्जन होटलको नाम क्वरेन्टीनका लागि स्वीकृतिसहित नौबुँदे ध्यानाकर्षणपत्र संघका तर्फबाट कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाल र पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीलाई साेमबार बुझाइएको संघका अध्यक्ष विकल तुलाचनले जानकारी दिनुभयो । 

पत्रमा  पाहुना आउनुपूर्व स्वास्थ्य परीक्षण गर्नुपर्ने र कोरोना नेगेटिभ देखिएका व्यक्तिलाई मात्र होटेलमा राख्ने व्यवस्था गरिनुपर्ने तथा  तिनको नियमित स्वास्थ्य जाँच गरिनुपर्ने माग पनि गरिएको छ ।  

होटलको नामावली हानबाट प्रदान गरिए पनि आवश्यक मापदण्ड अपनाई वर्गीकरण गरे  छनोट गर्नुपर्ने जनाइएको छ । यसैगरी सरकारले क्वरेन्टीनमा प्रयोग हुने होटलमा स्थानीय बासिन्दाबाट आउन सक्ने अवरोध सौहार्दपूर्ण वातावरणमा हटाउनुपर्ने र स्थानीयस्तरमा फैलन सक्ने सङ्क्रमणको जिम्मा लिनुपर्ने विषयलाई समेटिएको छ ।

 हालको अवस्थामा धेरैजसो होटल बन्द रहेका र कर्मचारी पनि बिदामा रहेकाले पाहुना आउनुभन्दा कम्तीमा चार दिनअगावै हान वा होटेल प्रतिष्ठानमा जानकारी गराइदिनुपर्ने तथा होटल क्वरेन्टीनका लागि उपलब्ध गराउँदा सुरक्षा, स्वास्थ्यलगायत विषयमा स्पष्टता र होटलका कर्मचारीलाई तालीमको व्यवस्था गरिनुपर्ने माग गरिएको छ । 

कुनै एक होटलमा रहेका जम्मा कोठाको ८० प्रतिशत पाहुना राखेपछि मात्रै अन्य होटलमा राख्ने व्यवस्था हुनुपर्ने साथै भुक्तानीको अवस्थाका बारेमा अग्रिम जानकारी हुनुपर्ने  हानले जनाएको छ ।  होटल प्रतिष्ठानमा आवश्यक पर्ने स्वाथ्य सामग्री सर्वसुलभ रुपमा उपलब्ध गराइनुपर्ने तथा पाहुना अनुशासित र सुरक्षित तवरमा रहनका लागि कोठाभन्दा बाहिर निस्कन नदिई सुरक्षाको व्यवस्थाको जिम्मा लिइनुपर्ने माग पनि  हानले गरेको छ ।

होटललाई क्वरेन्टीन बनाइसकेपछि विश्व स्वास्थ्य संगठनको मापदण्डानुसार पूर्णरुपमा निर्मलीकरण गरी भविष्यमा सहज रुपले व्यवसाय सञ्चालन गर्न स्वास्थ्य कार्यालय, महानगर वा पर्यटन विभागबाट निर्मलीकरणको प्रमाणीकरण स्टिकर टाँस गरिनुपर्ने माग हानको छ ।

क्वरेन्टीनका रुपमा प्रयोग गर्दा कोठादर प्रतिव्यक्ति दुई हजारदेखि १२ हजार रुपैयाँ र दुई जनाका लागि तीन हजारदेखि १४ हजार रुपैयाँ प्रस्ताव गरिएको छ ।

विश्वव्यापी रुपमा देखापरेको कोरोना रोगको सङ्क्रमणका कारण हाल युरोप, अष्ट्रेलिया र  अमेरिका महादेश तथा एशियाका जापान, चीन, मलेसिया, दक्षिण कोरिया, खाडी मुलुक, सार्क राष्ट्र र नेपालका विभिन्न स्थानबाट आउने व्यक्ति आफ्नो घर वा डेरामा जान सुरक्षित नरहेकाले होटललाई क्वरेन्टीनका रुपमा प्रयोग गर्न लागिएको हो ।

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया