उपत्यकामा सवारी साधनको चाप बढ्यो, पेट्रोल र डिजल खपतमा वृद्धि

 जेठ २७, २०७७ मंगलबार १८:४४:९ | रासस
unn.prixa.net

फाइल फोटो

काठमाण्डौ – लकडाउनकै बीच काठमाण्डौ उपत्यकाका मुख्य सडकमा गएको तीन दिनदेखि सवारी साधनको चाप बढेको छ । लामो समय लकडाउन हुँदा जनजीवनसँगै आर्थिक जीवनसमेत प्रभावित हुन थालेपछि मानिसहरु काममा निस्कन थालेको कारण सडकमा सवारी साधनको चाप बढेको हो ।

प्रहरीले सवारी साधनको जाँचलाई केही खुकुलो बनाएको देखिन्छ । अत्यावश्यक सेवा, ढुवानी सेवा, पासवाहक सवारी साधनबाहेक पनि सरकारी कर्मचारी, बैंक तथा उद्योग प्रतिष्ठानका कर्मचारीलाई परिचय पत्र हेरी सवारी सञ्चालन गर्न दिइएको छ । कुनै पनि संस्थाको परिचयपत्रविना सवारी चलाउनेलाई भने प्रहरीले नियन्त्रणमा लिइ कारबाही गरेको छ । सवारी साधनको चाप बढेसँगै पेट्रोल र डिजलको खपतमा समेत वृद्धि भएको छ । 

नेपाल आयल निगम थानकोट डिपोका प्रमुख प्रदीप यादवका अनुसार अन्य दिनको तुलनामा पेट्रोल र डिजलको खपतमा एक सय किलोलिटरसम्म वृद्धि भएको छ । गएको शुक्रबारसम्म दैनिक दुई सय किलोलिटर पेट्रोल र चार सय किलोलिटर डिजलको खपत हुँदै आएकोमा आइतबार दुई सय २६ किलोलिटर पेट्रोल र पाँच सय २९ किलोलिटर डिजल खपत भएको छ । सोमबार दुई सय ८८ किलोलिटर पेट्रोल र चार सय ३७ किलोलिटर डिजल खपत भएको डिपोले जनाएको छ ।
 
प्रमुख यादवका अुनसार थानकोट गृहको भण्डारण क्षमतामध्ये पेट्रोल ८५ प्रतिशत र डिजल ७५ प्रतिशत मौज्दात रहेको छ । क्षमता हुँदाहुँदै पनि भारी मात्रामा तेल राख्न नमिल्ने कारण ट्याङ्करमा नै तेल राखिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार ८० ट्याङ्कर पेट्रोल र एक सय २० ट्याङ्कर डिजेल डिपोमा राखिएको छ । लकडाउनभन्दा अघिसम्म उपत्यकामा मात्र दैनिक ६ सय किलोलिटर पेट्रोल र आठ सय ८ किलोलिटर डिजल खपत हुँदै आएको थियो । 

डिजल खपतमा कमी : एसोसिएशन

आइतबारदेखि निजी सवारी साधन सञ्चालन हुँदा पेट्रोलको खपतमा वृद्धि भएता पनि डिजेलको खपतमा कमी आएको पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनले जनाएको छ ।
 
पहिलेको तुलनामा पेट्रोलियम पदार्थको खपत केही मात्रामा वृद्धि भए पनि डिजल खपतमा कमी आएको एसोसिएशनका अध्यक्ष लिलेन्द्रप्रसाद प्रधानले बताउनुभयो । उहाँले भन्नुभयो, ‘दुई पाङ्ग्रे निजी सवारी साधन सञ्चालनमा आउँदा पेट्रोलको खपतमा वृद्धि भएको हो । सार्वजनिक यातायात र उद्योग पूर्ण क्षमतामा सञ्चालन नहुँदा डिजल खपतमा कमी आएको छ ।’  

एसोसिएशनका अननसार आइतबारदेखि काठमाण्डौ उपत्यकामा पेट्रोलको खपतमा ३० प्रतिशतले वृद्धि भएको छ भने देशैभरमा पेट्रोलियम पदार्थको खपतमा ३३ प्रतिशतले वृद्धि भएको छ ।
  
नयाँ रिफ्युलर थप 

नेपाल आयल निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई इन्धन भर्न २७ हजार लिटर क्षमताका चार नयाँ रिफ्युलर (हवाईजहाजमा इन्धन भर्ने ट्याङ्कर) थप गरेको छ । नयाँ ल्याइएको दुई रिफ्युलर सोमबार भैरहवा भन्सार कार्यालयमा जाँच पास भएको निगमले जनाएको छ । नयाँ खरिद गरिएको चार रिफ्युलरमध्येमा दुई रिफ्युलर लकडाउनअघि नै ल्याइएको थियो ।  

अन्तिम अपडेट: कात्तिक २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया