म्याद गुज्रिएका खाद्य वस्तु बिक्री गर्ने भोजपुरका २२ पसललाई बिक्रीमा रोक

 जेठ २८, २०७७ बुधबार १४:१:३८ | बुद्ध तामाङ
unn.prixa.net

भोजपुर – लकडाउनको समयमा म्याद गुज्रिएका सामग्री बिक्री गर्ने खाद्य पसललाई जिल्ला प्रशासन कार्यालय भोजपुरले बन्द गर्न लगाएको छ । महामारीको समयमा जिल्लाका विभिन्न स्थानमा रहेका पसलहरुको छड्के अनुगमन गर्दा उपभोक्ताले गुनासो गरे अनुसार म्याद गुज्रिएका वस्तु फेला परेपछि तत्काललाई बिक्री वितरणमा रोक लगाइएको हो । 

कोरोना भाइरस (कोभिड–१९) ले देश सङ्टकमा रहेको अवस्थामा प्रशासनले सदरमुकामसँगै आसपासका क्षेत्रका २२ वटा पसल सञ्चालनमा रोक लगाएको हो ।

ग्रामीण भेगमा बढी मात्रामा सामान बिक्री गर्ने भोजपुरको दावा बलौटेमा रहेको लक्ष्मी किराना पसल, यमुना स्टोर, कान्तिपुर किराना पसल, विद्याधारी किराना, कुमकुम स्वीट हाउसलगायत गरी २२ वटा पसलहरुको बिक्रीमा रोक लगाएको हो । 

बिक्रीका लागि राखिएका चामल, दाल, तेललगायत सामग्रीमा उपभोग्य मिति, उत्पादन मिति फेला नपरेपछि बन्द गरिएको सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद लुइँटेलले बताउनुभयो । उहाँले भन्नुभयो, ‘मिति सकिएका सामानहरु लकडाउनलाई उपयोग गरेर व्यापारीले बेच्न थालेकोको गुनासो आएपछि हामीले अनुगमनलाई तीव्रता दिएका छौँ । हामी कसैलाई छोड्दैनौँ ।’

पछिल्लो समय लकडाउनको मौका छोप्दै उपभोक्ताहरु ठग्ने प्रवृति बढेसँगै प्रशासनले निगरानी बढाएको छ । यो अवधिमा सदरमुकामसँगै आसपासका क्षेत्रहरु सुन्तले, दावाको बलौटेमा रहेका पसलबाट झण्डै ६५ हजार रुपैयाँ बराबरको खाद्य सामग्री नष्ट गरिएको अनुगमन समितिले जनाएको छ । 

कानुनविपरीत अखाद्य वस्तु बिक्री गर्ने पसललाई कानुनी दायरामा ल्याइने खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धनकुटाले जनाएको छ । म्याद गुज्रिएको वस्तु बिक्री गरेमा ५० हजार रुपैयाँसम्म जरिबाना र पाँच वर्षसम्म जेल हुन सक्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धनकुटाका शिवशङ्कर मिश्रले बताउनुभयो । 

बन्द भएका पसलका सञ्चालकहरुलाई स्पष्टीकरणसहित जिल्ला प्रशासन कार्यालयमा छलफलको लागि बोलाइने जनाइएको छ । 

व्यापारीहरुले सदरमुकाम क्षेत्रमा फेला परेका म्याद गुज्रिएका सामग्री बदनियतपूर्वक दुर्गम क्षेत्रमा पठाउने गरेको समेत तथ्य फेला परेको छ । निरन्तर म्याद गुजिएका सामग्री बिक्री गरिरहेका व्यापारीहरुले अनुगमनमा फेला परेपछि भने तलबाट आउने गोदामले नै म्याद गुज्रिएको सामग्री पठाइ दिने भन्दै पन्छिने गरेका छन् ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

बुद्ध तामाङ

बुद्ध तामाङ भोजपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया