नेपाल हेपिन तयार छैन : प्रधानमन्त्री ओली

 जेठ २८, २०७७ बुधबार १९:२०:५८ | रासस
unn.prixa.net

फाइल फोटो

काठमाण्डौ - प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपाललाई धम्क्याउन खोज्नुभएको हो भने त्यो उचित नभएको बताउनुभएको छ ।

प्रतिनिधिसभाको बैठकमा आज विनियोजन विधेयक- २०७७ अन्तर्गत छलफलमा उठेका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिने क्रममा सांसद प्रेम सुवालले मुख्यमन्त्री योगीले नेपालले सीमा निर्धारण गर्दा परिणामबारे सोच्नुपर्ने र तिब्बतले गरेको गल्ती सम्झनुपर्ने धम्की किन दिए भनी स्पष्टीकरण माग गर्नुभएको थियो । 

जवाफमा प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘यदि त्यसरी बोलेको हो भने त्यो जायज होइन । नेपाललाई धम्क्याउन खोज्नुभएको हो भने त्यो उचित होइन । उहाँ भारतको केन्द्रीय सरकारको निर्णायक व्यक्ति पनि होइन । तैपनि मुख्यमन्त्रीका हिसाबले पनि बोलेको भए त्यो नबोलिनु पर्थ्यो ।’

उहाँले त्यसरी बोलेको भए त्यो आलोच्य र निन्दनीय विषय हो । त्यस्तो कुरालाई हामी नेपालमाथि अवहेलनाको विषयमा बुझ्छौँ भन्नुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘नेपाल हेपिन तयार छैन र हेपिन मान्दैन ।’

बैठकमा प्रधानमन्त्रीले विनियोजन विधेयक-२०७७ अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयका विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिनुभएको थियो । 
 

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया