सुदूरपश्चिमका तीन जिल्लामा फौजी किराको प्रकोप

 जेठ ३०, २०७७ शुक्रबार ८:५४:४२ | विमल बिष्ट
unn.prixa.net

डोटी - पछिल्लो केही हप्ता यतादेखि सुदूरपश्चिमका बैतडी, दार्चुला र डोटीमा फौजी किराको प्रकोप देखिएको छ । 

सुदूरपश्चिम क्षेत्रीय कृषि निर्देशनालय दिपायल राजपुरका अनुसार एका एक देखिएको फौजी किराले यहाँका तीन जिल्लामा सयौँ रोपनीमा लगाइएकाे मकैबाली नोक्सान गरेको गुनासो आउने गरेको जनाएको छ । 

निर्देशनालयका अनुसार फौजी किराले बैतडीको पुरचौँडी, गोकुलेश्वर तथा दार्चुलाको शैल्यसिखर क्षेत्र, डोटीको केआईसिंह, बोगटान फुड्सिल, जोरायल, बडिकेदार, सायल, आदर्श तथा पूर्वीचौकी गाउँपालिकाका लेकाली क्षेत्रमा लगाएको मकैबालीमा नोक्सान गर्न थालेको छ । 

फौजी किराले मकैबाली नोक्सान गर्न थालेपछि किसानलाई निकै समस्या हुँदै आएको जोरायल गाउँपालिका–५ का स्थानीयबासी लालबहादुर सार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “मकैबाली फौजी किराले खाएर सखाप गर्दै आएको छ, किरा मार्ने औषधी केही पाइँदैन, यो वर्ष मकै उत्पादन नहुने भयो।” 

फौजी किराले मकैका बोटको पात र गुबो खाएर पुरै बोट नै नष्ट गर्ने गरेको बडिकेदार गाउँपालिका–४ का दीर्घबहादुर बडैलाले बताउनुभयो । 

किसानहरुका अनुसार फौजी किराले एक रातमा एक रोपनीभन्दा बढी मकैबाली सखाप गर्ने गरेका छन् । 
जिल्लामा एकाएक फौजी किराको प्रकोप आएपछि किसानलाई मकैबाली जोगाउन हम्मे हम्मे हुन थालेको केआईसिंह गाउँपालिका–३ का रामबहादुर ऐरले बताउनुभयो । 

यो वर्ष जिल्लामा समयमै पानी पर्न थालेकाले किसानले वैशाखमै मकै छरेका थिए । गोडमेल गर्ने समयमा मकैबालीमा फौजी किराको प्रकोप देखिएपछि किसानलाई समस्या उत्पन्न भएको हो । 

जिल्लाका सातवटा गाउँपालिकाका लेकाली क्षेत्रमा देखा परेको फौजी किराको प्रकोपले कम्तीमा पनि दजर्नौ रोपनीमा लगाइएको मकैबाली नोक्सान गरीसकेको स्थानीय खेम विष्टले जानकारी दिनुभयो । 

फौजी किराले दिनहुँ मकैबाली सखाप पार्न थालेपछि किसानले प्राविधिक सहयोगका लागि कृषि ज्ञानकेन्द्र सिलगढी डोटीमा अपिल गरेका छन् । 

मकै गोड्ने समयमा फौजी किराले मकैको गुबोभित्र पसेर गुबो, पात खानाले सुक्ने, पहेँलो भएर नष्ट हुन थालेपछि किरा नियन्त्रण गर्न किसानलाई निकै समस्या भएको जोरायल गाउँपालिका–५ का वडाअध्यक्ष ध्वजबहादुर देउवाले बताउनुभयो । 

डोटी जिल्लासहित समग्र सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाको मुख्य खाद्यान्नका रूपमा रहेको मकैबालीमा रातारात फौजी किराको प्रकोप बढेपछि किसान निराश भएका छन् । 

अन्तिम अपडेट: बैशाख १, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया