कञ्चनपुर : कारागार सुरक्षाको जिम्मा सेनालाई

 असार १, २०७७ सोमबार १४:३९:१७ | दुर्गा उपाध्याय
unn.prixa.net

कञ्चनपुरमा कारागार सुरक्षाको जिम्मा नेपाली सेनालाई दिइएको छ । कोरोनाको कारण प्रहरीको जनशक्ति कम भएपछि कारागार सुरक्षाको जिम्मा सेनालाई दिइएको हो ।

नाकामा हुने भिड नियन्त्रण तथा क्वरेण्टीनको सुरक्षामा प्रहरी केन्द्रित भएकोले कारागार सुरक्षाको लागि सेनालाई खटाइएको हो ।

कोरोनाको कारण क्वरेण्टीन तथा अन्य क्षेत्रमा सुरक्षाको लागि प्रहरीको सङ्ख्या कम भएपछि स्थानीय प्रशासनले कारागारको सुरक्षा जिम्मा सेनालाई दिएको कारागार कार्यालय कञ्चनपुरका जेलर श्याम भट्टले बताउनुभयो । उहाँले यसअघि निर्वाचनको बेलामा समेत कारागार सुरक्षाको जिम्मा सेनालाई दिइएको बताउनुभयो ।

गएको सोमबार जिल्ला प्रशासन कार्यालयमा बसेको सुरक्षा समितिको बैठकले असार १ गतेदेखि कारागार सुरक्षाको जिम्मा सेनालाई दिने निर्णय गरेको थियो । त्यही अनुसार आजदेखि कारागारको सुरक्षाको जिम्मा सेनाले लिएको हो । 

जिल्ला प्रहरी कार्यालयका अनुसार कञ्चनपुरमा सात सय १९ जना प्रहरीको दरबन्दी रहेको छ । यस्तै जिल्लामा एक सय ८७ वटा क्वरेण्टीन रहेका छन् । जसमध्ये पाँच वटा क्वरेण्टीन बाहेक बाहेक अन्यमा सुरक्षाको जिम्मा प्रहरीलाई दिइएको छ ।

दिनहुँ क्वरेण्टीनको सङ्ख्या बढ्दै गइरहेको र त्यसको सुरक्षामा समस्या देखिएपछि कारागार सुरक्षाको जिम्मा सेनालाई दिएर त्यहाँ रहेको जनशक्तिलाई क्वरेण्टीनमा खटाइएको कञ्चनपुरका प्रहरी प्रमुख मुकुन्द मरासिनीले बताउनुभयो । उहाँले कोरोनाको कहरपछि भने प्रहरीले नै कारागार सुरक्षाको जिम्मा लिने बताउनुभयो । 

कञ्चनपुरका बेल्डाँडी, बेलौरी, पुर्नवास र माहाकाली नगरपालिकाको पाँच वटा  क्वरेण्टीनको सुरक्षाको लागि यसअघि नै नेपाली सेनाको टोली खटाइएको छ ।  कञ्चनपुर कारागारमा अहिले दुई सय ९२ पुरुष र १२ महिला गरी तीन सय चार जना कैदीबन्दी रहेको जेलर भट्टले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

दुर्गा उपाध्याय

दुर्गा उपाध्याय कञ्चनपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया