साउदीको जेलमा रहेका घर्तीको जीवन रक्षाका लागि पन्ध्र लाख हस्तान्तरण

 साउन १८, २०७५ शुक्रबार ६:७:२ | रासस

काठमाडौं - साउदी अरबको जेलमा रहेका दिलबहादुर घर्तीमगरको जीवन रक्षाका लागि रु १५ लाखभन्दा बढी सहयोग रकम हस्तान्तरण भएको छ । 

ऊर्जा तथा सिँचाईमन्त्री वर्षमान पुन र पूर्वसभामुख ओनसरी घर्तीमगरले दिलबहादुरको जीवन रक्षाका लागि संयुक्त रुपमा रु एक लाख सहयोग हस्तान्तरण गर्नुभएको छ । 

ऊर्जामन्त्री र पूर्वसभामुखसहित वाईसिएल जिल्ला समिति रोल्पाको पहलमा संकलित रु पाँच लाख ७८ हजार, मगर संघ साउदी अरबबाट संकलित रु सात लाख ५० हजार, प्रदेश सांसद लालकुमारी पुनबाट रु ५० हजार र मगर संघ कतारबाट संकलित रु २५ हजार रकम आज ‘दिलबहादुर घर्ती बचाउका लागि ब्लडमनी संकलन अभियान–२०७५’ मूल समितिलाई हस्तान्तरण गरिएको छ । 

रोल्पा नगरपालिका–१० का दिलबहादुर विगत दुई वर्षदेखि साउदीको जेलमा हुनुहुन्छ । उहाँले चलाएका ट्रकमा साउदी नागरिकले चलाइरहेको कार ठोक्किन पुग्दा साउदी नागरिकको मृत्यु भएपछि त्यहाँका अदालतले दिलबहादुरको ७५ प्रतिशत गल्ती देखाइ मृतकका परिवारलाई दुई लाख २५ हजार रियाल ९करिब ६५ लाख रुपैया० क्षतिपूर्ति दिन फैसला गरेको छ । 

साउदीस्थित नेपाली दूतावासले गरेको पुनरावेदनमा अदालतले गत चैत २२ गते पुरानै फैसलालाई सदर गरेपछि दिलबहादुरले मृतकका परिवारलाई रु ६५ लाख तिर्नैपर्ने भएको हो । 

सहयोग हस्तान्तरणपछि मन्त्री पुनले रोजगारीका लागि विदेश पुगेका नेपालीले अनेक दुःख कष्ट भोगिरहेको उल्लेख गर्दै समस्या न्यूनीकरण गर्न सरकारले देशमै रोजगारी सिर्जना गर्ने कार्यक्रम अगाडि बढाइरहेको बताउनुभयो । 

‘रोजगारीका लागि विदेश जानुभएका नेपालीहरुले अनेक दुःख भोगिरहनुभएको छ, दिलबहादुर घर्ती त एउटा उदाहरण मात्रै हो,’ उहाँले भन्नुभयो ‘यो समस्या हल गर्न देशमै रोजगारी सिर्जना गर्नुपर्दछ, यसका लागि सरकारले काम अगाडि बढाइरहेको छ ।’ 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया