डोटीको एक विद्यालयमा आगलागी, १५ लाख बराबरको क्षति

 असार १२, २०७७ शुक्रबार ९:३०:७ | विमल बिष्ट
unn.prixa.net

प्रतिकात्मक तस्बिर

डोटी – डोटीको केआइसिंह गाउँपालिका–६ मा रहेको भूमिराज माध्यमिक विद्यालय देवस्थलमा गएराति आगलागी भएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार आगलागीबाट विद्यालयको १५ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

विद्युत सर्ट भएर आगलागी भएको प्रहरीको अनुमान रहेको छ । भारतबाट रोजगारी गरी फर्किएका नागरिकलाई त्यस विद्यालयमा बनाइएको क्वरेण्टीनमा राखिएको छ । क्वरेण्टीनमा बसेकाहरुको सुरक्षाका लागि खटिएका प्रहरीले आगलागी भएको देखेपछि सबैलाई खबर गरेको विद्यालयका शिक्षक यज्ञराज भट्टले जानकारी दिनुभयो । 

स्थानीयबासी, क्वरेण्टीनमा बसेकाहरु तथा प्रहरी सहितको टोलीले झण्डै डेढ घण्टामा आगो नियन्त्रणमा लिएको शिक्षक भट्टले बताउनुभयो ।

आगलागीबाट विद्यालयको अफिस कोठामा रहेको डेस्कटप कम्प्युटर ५ थान, ल्यापटप १, फोटोकपि मेशिन २ थान, प्रिन्टर १, ई–हाजिरी मेशिन १ थान लगाएतका मेशिनरी सामानहरु तथा फर्निचरहरु जलेर नष्ट भएको विद्यालयका लेखापाल गणेश भट्टले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘आगलागीबाट विद्यालयमा भएका सम्पूर्ण उपकरण जलेर नष्ट भएका छन्, विद्यालय भवन समेत जलेको छ ।’ 

त्यसैगरी लाईब्रेरीका झण्डै २ लाख ५० हजार रुपैयाँ बराबरका पुस्तकहरु पनि जलेर नष्ट भएको उहाँको भनाइ छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया