पारित भयो श्रम ऐन, साउनदेखि श्रमिकको तलब बैंकमा

 जेठ १४, २०७५ सोमबार २०:१५:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं, जेठ १४ – सरकारले आउँदो साउन १ गतेदेखि श्रमिकको तलब बैंक मार्फत भुक्तानी गर्नुपर्ने व्यवस्था ल्याएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तयार गरेको श्रम नियमावली, २०७५ लाई मन्त्रिपरिषद्ले आइतबार पारित गरेपछि बैंकबाट तलब दिनुपर्ने व्यवस्था लागु गरेको हो । 

नियमावली अनुसार औद्योगिक, कृषि र घरेलु कामदारको तलबसमेत बैंकबाट दिनुपर्ने उल्लेख छ । यसका लागि रोजगारदातालाई मार्गनिर्देश गर्न मन्त्रालयले श्रमिकको बैंक खाता सञ्चालन सम्बन्धी निर्देशिका ल्याउन लागेको छ । 

वर्षमा १५ दिनभन्दा बढी एउटै रोजगारदाताले काम लगाएका श्रमिकलाई बैंक खाताबाटै पारिश्रमिक भुक्तानी गर्नुपर्ने व्यवस्था हुने मन्त्रालयले जनाएको छ । पहिलो चरणमा सार्वजनिक संस्थानले यो नियम लागु गर्ने र त्यसपछि चरणगत रुपमा अघि बढाउने मन्त्रालयले जनाएको छ । 

रोजगार सम्झौता पछि मात्रै काममा लगाउन पाइने

मन्त्रिपरिषद्ले आइतबार पास गरेको नयाँ नियमावलीले रोजगारदाता र श्रमिकबीच रोजगार सम्झौता गरेपछि मात्रै काम लगाउन पाउने व्यवस्था गरेको छ । करारपत्रमा कामबारे स्पष्ट उल्लेख गर्नुपर्ने नियमावलीमा उल्लेख छ ।

३ वर्ष उमेर ननाघेका शिशु भएका महिला कामदारलाई स्तनपान गराउन थप आधा घण्टा आराम दिनुपर्ने व्यवस्था गरेको छ ।

नियमावलीले २० जना भन्दा बढी कामदार कार्यरत प्रतिष्ठानमा रोजगारदाताले सुरक्षा तथा स्वास्थ्य समिति, कार्यस्थलमा सुरक्षाको ग्यारेन्टी, ५० भन्दा बढी महिला कार्यरत कार्यस्थलमा शिशु स्याहार कक्ष, विश्राम कोठा, चमेनागृह, व्यवसायजन्य रोगको सूची निर्धारण तथा क्षतिपूर्ति, श्रम अडिटको व्यवस्था, न्यूनतम पारिश्रमिक निर्धारण समिति, श्रम सम्बन्ध समिति, सामूहिक सौदावाजी समिति गठन हुनुपर्ने व्यवस्था गरेको छ ।

सञ्चयकोषको व्यवस्था

नयाँ श्रम नियमावली अनुसार सामाजिक सुरक्षा कोष नबनिसकेकाले छुट्टै खाता खोली रोजगारदाताले सञ्चय कोषका लागि रकम छुट्याउन पर्ने छ । नियमावली अनुसार सामाजिक सुरक्षा कोष सञ्चालनमा नआएसम्म रोजगादाताले नै कोष बनाएर र स्वीकृत अवकास वा सञ्चय कोषमा रकम जम्मा गर्नुपर्नेछ । 

अन्तिम अपडेट: चैत ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया