सलह भगाउन तत्काल यी काम गरौँ

 असार १८, २०७७ बिहिबार ९:४३:४५ | सहदेव हुमागाईं
unn.prixa.net

काठमाण्डौ – भारतबाट शनिबार प्रवेश गरेको सलह कीरा देशका धेरै ठाउँमा पुगिसकेको छ । केही जिल्लामा अलि धेरै समस्या देखिएको छ । सलह भगाउन विषादी प्रयोग गर्नेभन्दा पनि यसलाई विभिन्न आवाज दिएर भगाउनुपर्ने हुन्छ । किसानले पनि ठूलो आवाज दिएर धपाउने प्रयास गरिरहेका छन् । 

शनिबार भित्रिएका सलहका झुण्डहरू धेरै नै विखण्डन भैसकेका छन् । पहिलो दिन प्रवेश गरेका सलहको अस्तित्व नै झण्डै सकिसकेको अवस्था छ । यसबाट क्षति हुन नदिन र न्यूनीकरण गर्न विभिन्न विधिहरु अपनाउन सकिन्छ ।

टिन ठटाउने र ताली बजाउने

सलह कीरालाई धपाउन टिन ठटाउने, ताली बजाउने गर्नुपर्छ । यसलाई हटाउन झुण्डलाई विखण्डन गराउने नै हो । १/२ जनाले मात्रै गरेर उनीहरु भाग्ने सम्भावना नै छैन । थाल र टिन ठटाउने काम सामूहिक रुपमै गर्नुपर्छ । सबै मिलेर एकैचोटी ठूलो आवाज निकालेर यसलाई धपाउनतिर लाग्नुपर्छ । धपाउने उपाय नै उत्तम हो अहिले । 

कतै सलह देखिहाल्यो भने तत्काल घरबाट थाल र टिन निकालेर आवाज निकाल्ने काम गरौँ । यो सलह उड्दाउड्दै धपाउन सजिलो छ, बसिसकेपछि धपाउन निकै गाह्रो हुन्छ । हामीले जहाँ देख्यौँ, उपलब्ध साधन जे छ, त्यसैबाट आवाज निकालेर धपाउने काम गरौँ । 

संगीतबाट पनि सलह हटाउन सकिन्छ ?

कृषिमन्त्रीले केही दिनअघि संगीतबाट सलह हटाउन सकिने बताउनुभएको थियो । अमेरिकन ब्याण्डको एकखाले संगीतले सलहलाई लठ्याउने समेत बताउनुभएको थियो । उहाँले भन्नुभएको अभिव्यक्तिमा संगीतबाट ठूलो आवाज निकालेर सलह भगाउन सकिने आशय छ कि भन्ने लाग्छ । विज्ञहरुले पनि मन्त्रीज्यूले भन्नुभएजस्तै गरी सल्लाह दिंदै आएका छन् । 

ठूलाठूला आवाज निकाल्ने खालका संगीत बजाउन सकियो भने त्यो आवाजले सलह भागेर जानेछ । 

आगो बालौँ

खेतबारीमा आगो लगाएर पनि यसलाई हटाउन सकिन्छ । आगोबाट निस्किएको धुवाँ सलहलाई मन पर्दैन । धुवाँले पनि यसलाई विखण्डन गर्ने काम गर्छ । धुवाँको कारण यसको झुण्ड टुक्रँदै जानेछ । त्यसैले आफ्नो ठाउँमा सुरक्षित हिसाबले आगो बालेर धुवाँ निकालियो भने पनि यसलाई धपाउने उपाय बन्न सक्छ । 

धानका ब्याडहरूमा पानी लगाएर राखौँ

अहिले धान रोपाइँको समय भएको हुनाले नर्सरी ब्याडहरू धेरै छन् । धानको ब्याडहरूमा पानी लगाएर राख्ने गरौँ । सलह पानी भएको ठाउँमा बस्न धेरै रुचाउँदैन । रोपेको धानलाई यसले हेरेको छैन । सम्भव भए नर्सरीलाई झुल टाँग्न पनि सकिन्छ । तर सबैले गर्न सकिने भनेको धानको ब्याडमा पानीको सतह बढाएर राख्नु नै उपयुक्त हुन्छ ।

सलह मार्नेलाई पैसा दिने उपाय कतिको प्रभावकारी ?

सलह मारेर ल्याउने जो कोही व्यक्तिलाई किलोको हिसाबले पैसा दिने कुरा वैकल्पिक व्यवस्थापनको विधि हो । अरु देशहरुमा पनि यो अभ्यास छ । पाकिस्तान, भारत लगायत देशहरुमा पनि यो मोडल लागू गरिएको छ । सकिन्छ भने समातेरै पनि यसको संख्या घटाउन सकिन्छ । अहिले सलह कीरा निक्कै आत्तिएको अवस्था छ । हामीकहाँ पानी परिरहेको छ ।

पानी परेको ठाउँमा चलायमान कम हुने भएकोले हातमा पन्जा लगाएर समात्न सकिन्छ । सलह बसेको ठाउँमा जाल फालेर पनि त्यसलाई समात्न सकिन्छ । केही पैसा पाउने आशमा मानिसहरु सलह समाउने प्रयास गर्ने र यसको नियन्त्रण गर्न सजिलो हुने भएकोले यस्तो विकल्प ल्याइएको हो । 

रासायनिक विषादी छर्कने काम नगरौँ 

कतिपय ठाउँमा रासायनिक विषादी छर्कने प्रयास भएको छ । तर विषादी छर्किएर यसलाई निर्मूल पार्ने सम्भावना तत्कालका लागि देखिंदैन । जंगलमा रहेका ठूलाठूला रुखमा यो कीरा बसेकोले पनि त्यस्ता ठाउँहरुमा रासायनीक विषादी छर्कन समस्या रहेको छ । हाम्रो खेती प्रणालीले पनि विषादी छर्कन हुँदैन भन्ने लाग्छ । किनभने हामीसँग घर, खेती गर्ने ठाउँ सबै एकै ठाउँमा छ ।

सलह आउँदैछ भनेर अनुमानको भरमा विषादी छर्केर बस्ने कुरा पनि आएन । बसेको ठाउँमा छर्कंदा पनि छर्कनेबित्तिकै फुत्त उडेर अर्को ठाउँमा गैहाल्छ । अर्को ठाउँमा छर्कंदा त्योभन्दा फेरि अर्को ठाउँमा गैहाल्छ । त्यसैले यसको नियन्त्रणका लागि विषादी छर्कने काम त्यति उचित देखिएको छैन ।

मोबाइलमा भिडियो खिचेर रमिते नबनौँ

मोबाइलमा धेरैले सलहको भिडियो खिच्ने, फोटो लिने गरिरहेको देखिन्छ । भिडियो लिने समयसम्ममा त त्यसलाई भगाउन सकिन्छ ।

अरुले भन्दा आफूले चाँडै भिडियो बनाएर चाँडै फेसबुक लगायतमा पोष्ट गर्न पाए ‘भिउज’ धेरै आउने लोभमा उनीहरुको ध्यान नै भिडियो खिच्नमा केन्द्रित भैरहेको देखिन्छ । सलह धपाउन कोही पनि नजाने तर फेसबुकमा भिडियो लोड गर्न चाहिँ हतार गर्ने जस्तो भैरहेको छ । यसरी हैन सबै मिलेर कसरी हुन्छ यसलाई धपाउनतिर लागौँ । भिडियो खिचेर रमिते बनेर मात्रै नबसौँ ।

हल्लाखल्ला गरेर पनि धपाउन सकिएला ?

धेरै मान्छेले एकैपटक हल्लाखल्ला गरियो भने सलह कीरालाई धपाउन सकिन्छ । थाल बजाउँदै, जे जे छ त्यही ठटाउँदै हल्ला गर्ने हो भने यसलाई धपाउन समस्या हुँदैन । सलह बसिसकेपछि उडाउन गाह्रो पर्छ । तर भुईंमा बस्नुभन्दा पहिले नै मान्छेहरुले सामूहिक रुपमा आवाज निकाल्न सकियो भने यो समस्या त्यति धेरै नरहला । बस्नुभन्दा पहिले आकाशमा चक्कर लगाउँछ । ठाउँ खोज्छ । त्यस्तो बेलामा होहल्ला गर्नुपर्छ ।

सामूहिक प्रयास आवश्यक

यसको नियन्त्रणका लागि सामूहिक प्रयास आवश्यक छ । किसानसँगै समुदाय, पालिका र सबै संयन्त्र मिलेर यसलाई धपाउनुपर्छ । अर्को कुरा आफ्नो खेतबारीबाट मात्रै हटाउँछु भनेर हुँदैन । सबैले सबै ठाउँबाट यसलाई धपाउनुपर्छ । हैन भने यसलाई धपाउन गाह्रो छ । अहिले सरोकारवाला निकाय सबै यसमा लाग्नुपर्छ । 

नेपालमा सन् १९६२ मै सलह देखिएको थियो

नेपालमा सन् १९६२ मा नै सलह देखिएको थियो । झण्डै ६० वर्षपछि अहिले फेरि हामीले अनुभव गरिरहेका छौँ । वि.सं. १९८५/८६ सालमा पनि यसको झुण्ड देखिएको थियो । मरुभूमि क्षेत्रमा रहने यो कीरा हावाको बहावसँगै नेपाल प्रवेश गरेको हो । मरुभूमि क्षेत्रमा यो वर्ष पानी परेको छ । त्यस ठाउँमा पानी परेकोले सलह कीराका लागि अनुकूल वातावरण भैदियो ।

उनीहरुका लागि वातावरण अनुकूल भएसँगै झण्डै ४ सय प्रतिशत यसको संख्या बढेको छ । संख्या बढेसँगै उनीहरुलाई खानेकुराको अभाव हुन थाल्यो । मरुभूमिमा खानेकुरा नपाएसँगै उनीहरु तितरवितर भएका हुन् । यो हरेक वर्ष आउने भन्ने होइन, हामीकहाँ पहिले पनि आएको थियो ।

धेरै वर्षपछि नेपालमा अहिले प्रवेश गरेको हो । वि.सं.२०४४/४५ सालतिर पनि ठ्याक्कै यस्तै प्रकारका सलहको प्रकोपको कुरा आएको थियो । तर नेपालमा भने प्रवेश गरेन । भारतका विभिन्न ठाउँमा त्यतिबेला पनि क्षति पुर्याएको थियो ।

नेपाल प्रवेश गरेका सलह चलायमान छन्

नेपाल प्रवेश गरेका सलह कीरा निकै चलायमान छन् । यो कीरा कुनै एक ठाउँमा मात्रै बसिरहेका छैनन् । पानी परेको समयमा अलि लामो समय एकै ठाउँमा बसेको पाइए पनि अरु बेलामा एक ठाउँबाट अर्को ठाउँमा जाने क्रम निकै छिटो छ । चाँडै नै नयाँ ठाउँमा पुगिरहेका छन् ।

यिनीहरुको बासस्थान पनि प्रायः जंगली क्षेत्रमै रहेको छ । दिनभर खेतीपातीमा र रातको समयमा जंगलका ठूल्ठूला रुखहरुमा गएर यिनीहरु बसिरहेका छन् ।

(प्लान्ट क्वरेण्टीन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख एवं सलह कीरा आगमन तथा व्यवस्थापन प्राविधिक कार्यदलका संयोजक सहदेव हुमागाईंसँग टेकमान शाक्यले गर्नुभएको कुराकानीमा आधारित)

अन्तिम अपडेट: चैत १०, २०८०

सहदेव हुमागाईं

हुमागाईं प्लान्ट क्वरेण्टीन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख एवं सलह कीरा आगमन तथा व्यवस्थापन प्राविधिक कार्यदलका संयोजक हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया