पानी भर्न तयार भयो रानीपोखरी (फोटो फिचर)

 असार १९, २०७७ शुक्रबार १६:१६:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – रानीपोखरी पानी भर्न तयार भएको छ । पोखरीको पिँध र पानी रहने पर्खालको काम सकिएसँगै पानी भर्न मिल्ने भएको हो । रानीपोखरी पुनर्निर्माण अन्तर्गत पोखरीको पिँधमा कालो माटो र इँटा ओछ्याउने एवं पानी रहने भागको पर्खाल निर्माणको काम सकिएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले उपभोक्ता समितिमार्फत पोखरीको पिँध र पानी रहने भागको पर्खाल निर्माणको काम गराएको हो । उपभोक्ता समितिका अध्यक्ष अजयरत्न स्थापितका अनुसार उपभोक्ता समितिको जिम्मेवारी अनुसार काम भइसकेको र यसबारे राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई जानकारी पनि गराइसकिएको छ ।

विसं २०७५ फागुनमा गठन गरिएको उपभोक्ता समितिले पोखरीको सतह र वरिपरिको पर्खालमा १५ देखि १८ इञ्च कालो माटो हालेर त्यसमाथि इँटा ओछ्याएको हो । यसअघि भूकम्पको पाँच वर्ष पुगेकै दिन गएको वैशाख १२ गते यो काम सक्ने कार्यतालिका थियो । सबै काम सकेर गएको वैशाख १२ गते रानीपोखरी उद्घाटन गर्ने तयारी थियोे । तर कोरोना सङ्क्रमण जोखिमका कारण सरकारले लकडाउन गरेपछि काम र उद्घाटन पनि प्रभावित भएको थियो ।

अब वर्षाको पानी जम्मा हुने

पिँध र पानी रहने पर्खालको काम सकिएपछि वर्षाको पानी जम्मा गर्न मिल्ने भएको छ । रानीपोखरीमा पाँच वर्षपछि पानी अडिन लागेको हो । रानीपोखरी भर्न भने झण्डै तीन करोड ४० लाख लिटर पानी आवश्यक पर्ने अनुमान छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीले आकाशे पानी, त्रिचन्द्र कलेज र दरबार हाइस्कुल क्षेत्रको पानी सङ्कलन एवं प्रशोधन गरी पोखरीमा राख्ने कार्यलाई प्राथमिकता दिने र अपुग भएमा भूमिगत स्रोतको पानी राख्ने व्यवस्था मिलाउने जानकारी दिनुभयो ।

दरबार हाइस्कुलको छानाको पानी पोखरीमा खसाल्ने प्रबन्ध भइसकेको छ । त्यसैगरी टुँडिखेलमा जम्मा भएको पानी ल्याउनको लागि पाइप बिछ्याउने काम पनि भइसकेको रानीपोखरी पुनर्निर्माणको काम हेरिरहनु भएका प्राधिकरणका सम्पदा विज्ञ राजुमान मानन्धरले बताउनुभयो ।

यी व्यवस्थाबाट पनि पानी पर्याप्त नभए मेलम्चीको पानी पाइपमा हालेर परीक्षण गरेर रानीपोखरीमा खसाल्ने अन्तिम विकल्प पनि प्राधिकरणको छ । तर मेलम्चीको पानी काठमाण्डौमा कहिले आइपुग्छ अझै पनि अन्याेल छ । २०७२ साल वैशाख १२ गतेको भूकम्पकाे कारण रानीपोखरीमा क्षति भएकाले पानी सुकाइएको थियो । भूकम्पले क्षति गरेपछि पोखरीमा बाँकी रहेको पानी फालेर पुनर्निर्माण थालिएको थियो ।

रानीपोखरीको पिँध पुनर्निर्माणको लागि सुरुमा भक्तपुरबाट कालीगढ ल्याइएको थियो भने त्यसपछि सीप हस्तान्तरण गरी काठमाण्डौका कालीगढ पनि सहभागी भएका थिए ।

त्रिपाल ओढाएर बालगोपालेश्वर मन्दिरको काम हुँदै

रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वरको मन्दिर, त्यहाँसम्म जाने पुल तथा पोखरी वरिपरिको सौन्दर्यकरणको काम भइरहेको छ । यी काम सीएम तुलसी कन्स्ट्रक्शन जेभीले गरिरहेको छ । ठेक्काको पनि झण्डै ८५ प्रतिशत काम सम्पन्न भइसकेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रवक्ता गोपाल अर्यालले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, 'बाँकी काम छिटो सम्पन्न गर्न निर्माण कम्पनीलाई आवश्यक पर्ने सबै सहजीकरण गरिरहेका छौँ ।’ निर्माण व्यवसायी सीएम तुलसी कन्स्ट्रक्शन जेभीसँग गएको असार २४ गते प्राधिकरणले मन्दिर, पुल र पोखरीबाहिरको काम गर्ने गरी १५ करोड रुपैयाँमा ठेक्का सम्झौता गरेको हो ।

सम्झौता अनुसार १० महिना अर्थात् गएको चैतभित्र सक्नुपर्ने काम ठेकेदारले अझै सकेको छैन । उपभोक्ता समितिले १० करोड र निर्माण व्यवसायीले १५ करोड गरी झण्डै २५ करोड रुपैयाँमा रानीपोखरी पुनर्निर्माणको काम थालिएको हो ।

तस्बिर : विकास तामाङ  

अन्तिम अपडेट: चैत २, २०८०

तपाईको प्रतिक्रिया