बझाङ पहिराे अपडेट : ६ जनाकाे शव भेटियाे, एक जना अझै बेपत्ता

 असार २०, २०७७ शनिबार १८:८:२५ | डीबी बिष्ट
unn.prixa.net

बझाङ – केदारस्युँ गाउँपालिका ८ को मल्लेसीमा गएको पहिरोमा पुरिएकामध्ये ६ जनाको शव भेटिएको छ । पहिरोमा पुरिएका एक जना अझै हराइरहेका छन् । 

शुक्रबार राति पहिरोमा पुरिएकामध्ये ४१ वर्षीया राममति देवी जेठारा, छोरी शान्ती जेठारा, छोरा प्रयास जेठारा र सात वर्षीया छोरी अस्मिता जेठाराको शव भेटिएको प्रहरी नायब उपरीक्षक (डीएसपी) गणेश बमले जानकारी दिनुभयो । राममतिका श्रीमान् कटे जेठारा रोजगारको सिलसिलामा भारतमा रहेका र यहाँ घरमा भएका सबैको ज्यान गएको हो । ८१ वर्षीय दले जेठारा र सन्तु जेठाराको पनि शव भेटिएको छ । २० वर्षीय गिरिजा जेठारा हराइरहेका छन् । शुक्रबार राति १ बजेको समयमा पहिरो गएको थियो । 

पहिरोबाट २० घर पुरिएको र ती घरका बासिन्दा राति नै भागेर ज्यान जोगाएका प्रहरीले जनाएको छ । ६५ घर परिवार बस्दै आएको बस्तीको बीच भागबाट पहिरो गएपछि गाउँ नै जोखिममा परेको छ । आफुहरुको झण्डै आधा जमिन पहिरोले बगाएको स्थानीयले बताएका छन् । पहिरोले घरबारविहीन भएकाहरु स्थानीय विद्यालयमा ओत लागे पनि अब कहाँ बस्ने भन्ने चिन्ता भएको बताएका छन् । 

यसैबीच पहिरो प्रभावित क्षेत्रमा हेलिकप्टरमार्फत खाद्यान्न तथा लत्ताकपडा पठाउन लागिएको प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले जानकारी दिनुभयो ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया