ओली र प्रचण्डबीच छलफल सुरु

 असार २१, २०७७ आइतबार १२:३५:३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – पार्टी भित्रको विवाद उत्कर्षमा पुगेको बेला नेकपाका दुई अध्यक्षबीच छलफल सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल सुरु भएको हो ।

दुई अध्यक्षबीच हिजो हुने भनिएको छलफल हुन सकेको थिएन । हिजो बस्ने भनिएको स्थायी कमिटी बैठक पनि भोलिसम्मको लागि स्थगित भएको छ ।

पार्टी भित्र विवाद लम्बिंरहँदा हिजो मन्त्रीहरुलाई बोलाएर प्रधानमन्त्री ओलीले आफू र राष्ट्रपतिविरुद्ध षडयन्त्र भैरहेको भन्दै जुनसुकै कदम चाल्ने अवस्था आउन सक्ने भएकाले आआफ्नो कित्ता प्रष्ट पार्न निर्देशन दिनुभएको थियो ।

ओलीको यो अभिव्यक्तिपछि प्रचण्डसहित नेताहरु माधवकुमार नेपाल र झलनाथ खनाल राष्ट्रपतिलाई भेट्न शितल निवास गएका थिए । शितल निवासबाट फर्किएर प्रचण्ड बालुवाटार पुग्नुभएको हो ।

स्थायी कमिटी बैठकमा ओलीको राजीनामाको माग उठेपछि नेकपाभित्र विवाद बढेको छ । ओलीले पार्टी र सरकारको नेतृत्वबाट राजीनामा दिनैपर्ने प्रचण्ड र नेपाल समूहको अडान र राजीनामा दिन नहुने ओली समूहको अडानले नेकपाको स्थायी कमिटी बैठकसमेत प्रभावित भएको छ ।

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया