आणविक केन्द्रमा ठूलै आगलागी भएको इरानको स्वीकारोक्ति

 असार २२, २०७७ सोमबार १३:२२:३४ | रासस
unn.prixa.net

काठमाण्डाै – आफ्नाे आणविक केन्द्रको एक भवनमा आगलागीको घटना भएको इरानले पुष्टि गरेको छ । इरानी आणविक ऊर्जा केन्द्रका प्रवक्ताले त्याे दुर्घटना निकै अर्थपूर्ण भएको जनाउँदै यसबाट युरेनियम प्रशोधनमा प्रयोग हुने उपकरणको उत्पादनमा केही ढिलाइ हुन सक्ने बताए । 

मध्य इरानको नतान्जमा रहेकाे आणविक प्रशोधन केन्द्रको एक घरमा बिहीबार आगलागी भएको थियो । त्याे घटना निकै भयानक रहे पनि कोही पनि व्यक्ति घाइते भएको वा रेडियोधर्मी विकिरण नचुहिएको प्रवक्ताले बताएका छन् ।

सुरक्षा अधिकारीहरुले त्याे घटनालाई दुर्घटनाका रुपमा व्याख्या गरेका छन् । तर त्याे घटना हुनुको मुख्य कारणबारे केही बताइएको छैन । 

इरानी समाचार संस्था इर्नामा प्रकाशित एक अन्तर्वार्तामा इरानी आणविक ऊर्जा संस्थाका प्रवक्ता बेहरोज कमालवन्दीले दुर्घटनाकाे कारण कोही व्यक्ति पीडित नभएकाे तर आर्थिक रुपमा निकै ठूलो क्षति भएको बताए ।  

उहाँले यस दुर्घटनाकाे कारण उन्नत सेन्ट्रिफ्युजको विकास र उत्पादनमा केही ढिलाइ हुने बताए । नन्ताज इरानको मुख्य आणविक प्रशोधन केन्द्र रहेको स्थान हो । 

टेलिभिजन फुटेजमा भने आगलागीकाे कारण सामान्य क्षति भएको देखाएको छ । तर यसअघि सार्वजनिक गरिएका तस्बिरहरुमा भने भवनमा निकै ठूलो क्षति भएको देखिएको छ । 

तेहरानले गएकाे वर्ष मे महिनामा आणविक ऊर्जा कार्यक्रमसँग जोडिएका केही कार्यक्रम पुनः सुर गरिने घोषणा गरेको थियो । सन् २०१५ को एक सम्झौताअनुसार इरानी आणविक कार्यक्रम स्थगित गरिए पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भएको सम्झौता अस्वीकार गरेर इरानमाथि नाकाबन्दी गरेपछि इरानले आणविक कार्यक्रम पुनः सुरु गर्ने चेतावनी दिएको थियो ।

इरानले गएकाे वर्ष सेप्टेम्बरमा युरेनियम प्रशोधन पुनः सुरु गरेको थियो । तेहरानले यो कार्यक्रम ऊर्जासँग सम्बन्धित रहेको र यसलाई सैनिक प्रयोजनमा उपयोग नगरिने बताउँदै आएको छ ।

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया