टोलबस्तीमै पठनपाठन गर्ने तयारी

 असार २४, २०७७ बुधबार ९:९:४२ | दमन राई
unn.prixa.net

खोटाङ – खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले कोभिड–१९ का कारण अवरुद्ध शैक्षिक क्रियाकलाप सञ्चालन गर्ने तयारी थालेको छ ।

असार मसान्त बित्न लाग्दा समेत कोभिड–१९ को असर कम नभएको भन्दै यसले शैक्षिक क्यालेण्डर नै तलमाथि हुने अवस्था आएकाले गाउँपालिकाले आउँदो साउन ७ गतेदेखि भौतिक दूरी कायम गरेर पठनपाठन सञ्चालन गराउने तयारी थालेको हो ।

मंगलबार बसेको गाउँ शिक्षा समितिको बैठकले कोभिड–१९ का कारण बन्द शैक्षिक क्रियाकलापलाई टोल–टोलमा विषयगत शिक्षक खटाएर सञ्चालन गराउने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष भुपेन्द्र राईले बताउनुभयो । 

आउँदो साउन ३ गते बिहान १० बजेभित्र सबै शिक्षक÷शिक्षिकाले स्वास्थ्यचौकी डाँडागाउँ ओख्रेमा अनिवार्य उपस्थित भएर आरडीटी परीक्षण गराउनुपर्ने, साउन ४ गते अनिवार्य विद्यालयमा उपस्थित भएर आ–आफ्नो विषयको कार्यतालिका निर्माण गर्ने र साउन ७ गतेदेखि टोल बस्तीमा पुगेर शिक्षण सिकाई कार्य अघि बढाउने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ । 

७ वडा रहेको दिप्रुङ चुईचुम्मा गाउँपालिकामा ४८ विद्यालयमा ५ हजार ५१२ विद्यार्थी अध्ययनरत छन् । उनीहरुको शिक्षण सिकाईका लागि बाल विकास केन्द्रमा कार्यरत सहित २६७ शिक्षक÷शिक्षिकालाई परिचालन गर्ने तयारी गरिएको छ ।

कोरोना भाइरसका कारण विद्यार्थीमा परेको मनोवैज्ञानिक असर न्यूनीकरण गर्दै शिक्षक–विद्यार्थीबीचको लामो ‘ग्याप’ कम गर्नका लागि विद्यालय कक्षाको विकल्प अघि सारिएको गाउँपालिका अध्यक्ष राईको भनाइ छ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

दमन राई

खोटाङमा बसेर पत्रकारिता गर्ने दमन राई उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया