आईजीपी थापालाई दर्ज्यानी चिह्न प्रदान

 असार २५, २०७७ बिहिबार १२:४९:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीलाई दर्ज्यानी चिह्न प्रदान गरिएकाे छ । 

गृह मन्त्रालयमा बिहीबार आयोजित एक कार्यक्रममा गृहसचिव महेश्वर न्यौपानेले थापालाई दर्ज्यानी चिह्न प्रदान गर्नुभएको हो । थापा मङ्गलबार नेपाल प्रहरीको २८ औँ प्रहरी महानिरीक्षकमा नियुक्त हुनुभएको थियो ।

सरकारले वरिष्ठताका आधारमा थापालाई आईजीपीमा बढुवा गर्ने निर्णय गरेको हो । आईजीपी ठाकुरप्रसाद ज्ञवाली ३० वर्षे सेवा हदका कारण बुधबारदेखि अनिवार्य अवकाशमा जाने भएपछि सरकारले थापालाई वरिष्ठताका आधारमा प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको हो ।

थापा प्रहरी प्रशासनको नीति निर्माण तहमा अब्बल मानिनुहुन्छ । थापासँग विभिन्न जिल्लाको प्रहरी प्रमुख भइ काम गरेको अनुभव छ भने महानगरीय प्रहरी कार्यालय रानीपोखरी तथा केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी पनि सम्हाल्नुभएको थियो ।

यस्तै थापाले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज र प्रहरी महानिरीक्षकको सचिवालयमा बसेरसमेत काम गर्नुभएको छ । २०४९ साल वैशाख १९ गते प्रहरी निरीक्षकबाट सेवा प्रवेश गर्नुभएका थापाले अब २०७९ वैशाख १८ गतेसम्म प्रहरीको नेतृत्व सम्हाल्नु हुनेछ ।

थापाले बिहीबारदेखि नै प्रहरी महानिरीक्षकको कार्यभार सम्हाल्नु हुनेछ । 

अन्तिम अपडेट: चैत २६, २०८०

तपाईको प्रतिक्रिया