युक्रेन कुनै दिन रुसी भाग हुनसक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको अभिव्यक्ति

 माघ ३०, २०८१ बुधबार ६:२७:१३ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन ‘कुनै दिन रुसी हुनसक्छ’ भन्ने विचार व्यक्त गर्नुभएको छ ।

पछिल्लो समय विभिन्न देश आफै किन्ने घोषणा गरेर आलोचित भइरहनुभएका ट्रम्पले युक्रेन कुनै दिन रुसको बन्न सक्ने बताउनुभएको हो ।

रुससँगको तीन वर्ष लामो युद्धको अन्त्यका लागि दबाब दिँदै ट्रम्पले भन्नुभएको छ,‘उनीहरूले सम्झौता गर्न सक्छन्, उनीहरूले सम्झौता नगर्न पनि सक्छन् । उनीहरू कुनै दिन रुसी हुन सक्छन् वा नहुन पनि सक्छन्’ ।

ट्रम्पले अब लामो समय अमेरिकाले युक्रेनको लागि सहयोग जारी राख्न नसक्नेतर्फ पनि सङ्केत गर्नुभएको छ ।

युक्रेनका प्राकृतिक स्रोतहरू र दुर्लभ खनिजहरूका लागि व्यापारको सुझाव दिँदै उहाँले युक्रेनलाई दिइएको अमेरिकी सहयोगमा लगानी फिर्ताको कुरामा जोड दिनुभएको छ ।

आफूहरुले युक्रेनमा गरिरहेको लगानीको प्रतिफल त्यहाँका खनिजबाट पूर्ति गर्न सक्ने ट्रम्पको भनाइ छ ।

ट्रम्पले चाँडै युक्रेनमा आफ्ना विशेष दूत किथ केलोगलाई पठाउने पुष्टि गर्नुभयो । केलोगलाई लडाइँ रोक्नका लागि प्रस्ताव तयार गर्ने काम दिइएको छ ।

अमेरिकाले अब युक्रेनलाई नेटोको सदस्यता दिन नहुने र अहिलेसम्म रुसले कब्जा गरेको युक्रेनी भूभागलाई रुसकै मान्नेगरी युद्ध अन्त्य गराउने तयारी गरिरहेको छ । तर यस्ता सम्झौताले नमान्ने युक्रेनको सङ्केत छ । 

अन्तिम अपडेट: माघ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया