धरहराको १० औँ तलासम्मको ढलान सकियाे

 असार २५, २०७७ बिहिबार १८:११:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – भूकम्पले क्षतिग्रस्त भएकाे धरहराको दशौँ तलासम्मको ढलानको काम सम्पन्न भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । 

लकडाउनकाे कारण केही समय प्रभावित भए पनि धरहराको काम ४० प्रतिशत सम्पन्न भएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीले तीन तल्ला पार्किङतर्फको काम जारी रहेको बताउनुभयो ।  

निर्माणस्थलभित्र रहेका गोश्वारा हुलाक कार्यालय, नेपाल राष्ट्र बैंकको टक्सार महाशाखा र कर्मचारी सञ्चयकोष स्थानान्तरण गरी सञ्चयकोष भवनको केही भाग भत्काउने काम जारी रहेको उहाँले बताउनुभयो । हप्ता दिनपछि धरहरा टावर निर्माणको काम सुरु हुने उहाँले बताउनुभयो ।

संसद्को विकास तथा प्रविधि समितिमा भएको छलफलमा ज्ञवालीले सिंहदरबार पुनर्निर्माणको काम ९८ प्रतिशत सम्पन्न भएको बताउनुभयो । मुख्य प्रशासनिक भवनको पूर्व-दक्षिण-उत्तरी भागको प्रबलीकरणको काम सम्पन्न भएको उहाँले बताउनुभयो । 

पश्चिम भागको प्रबलीकरणको काम २५ प्रतिशत सम्पन्न भएको उहाँको भनाइ छ । ढिलोमा तिहारसम्म प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय प्रशासनिक भवनमा सार्ने योजनाका साथ काम भइरहेको उहाँले बताउनुभयो ।

भूकम्पले क्षति पुर्‍याएकाे रानी पोखरीको मन्दिर र सौन्दर्यबाहेकका पुनर्निर्माणको काम सम्पन्न भएको छ । त्यस्तै बालगोपालेश्वर मन्दिरको ५० प्रतिशत काम सम्पन्न भएको छ । 

अहिलेसम्म भूकम्पबाट क्षति पुगेका पाँच लाख सात हजार ६ सय २३ घरको पुनर्निर्माण सम्पन्न भएको र दुई लाख दुई हजार ६ सय ४३ घर पुनर्निर्माणको क्रममा रहेको उहाँले बताउनुभयो । घर पुनर्निर्माणकाे लागि सात लाख ८६ हजार एक सय ४४ घरधनीले अनुदान सम्झौता गरेका थिए । त्यसमध्ये ६५ प्रतिशतको घर पुनर्निर्माण सम्पन्न भएको छ भने २५ प्रतिशतको घर पुनर्निर्माणको क्रममा छन् ।

भूकम्पबाट सबैभन्दा धेरै मानवीय क्षति पुगेको सिन्धुपाल्चोकमा सबैभन्दा धेरै ७० हजार ९७ घर पुनर्निर्माण सम्पन्न भएका छन् । नुवाकोट जिल्लामा ६४ हजार एक सय २४ र २०७२ वैशाख १२ को भूकम्पको केन्द्रबिन्दु रहेको गोरखा जिल्लामा ५६ हजार घर पुनर्निर्माण सम्पन्न भएका छन् ।

समितिले गुम्बा र अन्य सांस्कृतिक सम्पदाहरुको पुननिर्माणको कामलाई महत्त्वका साथ अगाडि बढाउन निर्देशन दिएको छ । चार सय दुई वटा गुम्बाको मर्मत सम्भारको काम भएको र पुनर्निर्माण गर्नुपर्ने एक सय १७ वटा गुम्बा पुनर्निर्माणकाे लागि आउँदाे आर्थिक वर्षमा कार्यक्रम परेको जनाइएको छ । 

प्राधिकरणको म्याद आउँदाे पुसमा सकिँदैछ । भूकम्पबाट प्रभावित संरचनाहरुको पुनर्निर्माणसम्बन्धी ऐन २०७२ मा नेपाल सरकारले आवश्यक ठानेमा समयावधि एक वर्ष थप्न सक्ने प्रावधान छ । 

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया