बाढी पहिरो अपडेट : २४ जनाको ज्यान गयो, ३७ जना बेपत्ता

 असार २६, २०७७ शुक्रबार १८:२९:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – लगातारको वर्षाकाे कारण देशका विभिन्न ठाउँमा ठूलो जनधनको क्षति भएको छ । अहिलेसम्म प्राप्त विवरणअनुसार देशका विभिन्न ठाउँमा शुक्रबारमात्रै बाढी र पहिरोमा परि २४ जनाको ज्यान गएको र ३७ जना हराइरहेका छन् । 

पहिरोमा परि कास्कीका विभिन्न ठाउँमा गरी सात जनाको ज्यान गएको र आठ जना घाइते भएकाे प्रहरीले जनाएको छ । जिल्ला विपद् व्यवस्थापन समिति कास्कीले ज्यान गुमाउनेको परिवारलाई एक लाख रुपैयाँ राहत र घाइतेहरुको निःशुल्क उपचार गर्ने निर्णय गरेको छ । 

यस्तै म्याग्दीको विभिन्न ठाउँमा गरी तीन जनाको ज्यान गएको छ भने ३१ जना हराइरहेका प्रहरीले जनाएको छ । 

जाजरकोटको बारेकोट गाउँपालिका ४ मा पहिरोले घर बगाउँदा सात जनाको ज्यान गएको छ भने पाँच जना हराइरहेका छन् । बारेकोटकै धुमा खोलाले बगाउँदा एक जनाको ज्यान गएको छ, एक जना हराइरहेका छन् । 

यस्तै लमजुङमा तीन जना, रुकुम पश्चिममा दुई जना र गुल्मीमा एक जनाको ज्यान गएको प्रहरीले जनाएको छ । विपद् भएका ठाउँमा उद्धार तथा खोजीको काम भइरहेको सरकारले जनाएको छ । 

सिन्धुपाल्चोकमा बिहीबार बाढी र पहिरोमा परी हराइरहेका २१ जनाको शुक्रबार पनि खोजी भइरहेको छ । 

यसैबीच अहिले पनि देशका सबैजसो ठाउँमा मौसम बदली हुनुको साथै धेरै ठाउँमा हलुकादेखि सामान्य वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

गण्डकी प्रदेशमा भने धेरै ठाउँमा मध्यमदेखि भारी वर्षा भइरहेको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिनुभयो । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले यही बिहीबारदेखि सक्रिय मनसुन आउँदाे सोमबारसम्म कायम रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

यस वर्ष वैशाखदेखि अहिलेसम्म प्रशस्त पानी परिरहेकाले जमिन गलिसकेको हुनाले केही समयको हल्कादेखि मध्यम वर्षाले पनि बाढी, डुबान र पहिरोको जोखिम बढेको महाशाखाले जनाएको छ । 

अन्तिम अपडेट: माघ २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया