प्राकृतिक विपत्तिपछि स्वास्थ्य समस्या हुन सक्ने भएकाले सावधानी अपनाउन डाक्टरको आग्रह

 असार २७, २०७७ शनिबार १०:३९:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – यो वर्ष पनि बाढी, पहिरो र डुबान जस्ता प्राकृतिक विपत्ति सुरु भइसकेको छ । यस्ता विपत्तिपछि विभिन्न रोगको जोखिम हुने भएकाले सावधानी अपनाउन डाक्टरले सुझाव दिएका छन् ।  विपत्तिपछि विभिन्न चरणमा विभिन्न स्वास्थ्य समस्या हुने भएकाले सावधानी अपनाउन जनरल फिजिसियन डाक्टर युवराज शर्माले सुझाव दिनुभएको छ । 

डाक्टर शर्मा भन्नुहुन्छ, 'विपत्तिसँगै तत्कालीन रुपमा शरीरमा चोटपटक लाग्ने, अंगभंग हुने, पानीमा डुबेको छ भने फोक्सोमा समस्या हुने जस्ता स्वास्थ्य समस्या देखिन्छ । यस्ता समस्याको तत्कालै उपचार गर्नुपर्ने हुन्छ । यस्तै दोस्रो चरणमा पानी, खाना वा हावाबाट सर्ने रोगको जोखिम हुन्छ । यस अन्तर्गत झाडापखाला, छालामा हुने इन्फेक्सन, जण्डिस, टाइफाइड, श्वासप्रश्वास सम्बन्धी लगायतका समस्याहरु हुन सक्छन् ।  विषेश गरी विपत्तिको बेला एकै ठाउँमा धेरै मानिसहरु गुम्सिएर बस्दा पनि यस्ता समस्याहरु देखिन सक्छ ।'

अहिले कोरोना महामारीको बेलामा त झनै यी कुराहरुमा ध्यान दिन आवश्यक रहेको उहाँको भनाई छ । यस्तै विपत्तिमा परेकाहरुको परिवारका सदस्य गुमेका हुन सक्छन् । घरखेत लगायतका धनसम्पत्तिको नोक्सानीसमेत हुने भएकाले दीर्घकालीन रुपमा मानसिक स्वास्थ्य समस्यासमेत देखिन सक्ने उहाँ बताउनुहुन्छ । 

यसमध्ये पनि पानीबाट सर्ने रोगहरु प्रकोप पछि सबैभन्दा धेरै देखिन्छन् ।  अघिल्ला  वर्षहरुको तथ्याँक हेर्ने हो भने सबैभन्दा बढी झाडापखालाको समस्या देखिने गरेको छ   । बाढी प्रभावित क्षेत्र वा प्रकोपपछि बनाइएका अस्थाई आवासमा कतिपयको ज्यान झाडापखालाको कारण जाने गरेको छ । 

जन्डिस गराउने हेपाटाइटिस ए र इ दुषित पानीबाट सर्ने गर्छ र केही  बिरामीहरुको यसले गर्दा पनि ज्यान जाने गरेको छ ।  दुषित पानी र खानाबाट टाईफाईड, रगतमासी आदि समस्या पनि हुन सक्छन्   । पानी वा खानेकुरा तयारी वा भण्डारणको बेलामा वा एक ठाउँबाट अर्को ठाउँमा लैजाँदा पनि दुषित हुन सक्छन ।

प्रभावित ठाउँमा स्रोत साधनको कमी हुने र सरसफाइमा ध्यान पुर्याउन गार्हो हुने भएकाले पनि पानीबाट सर्ने रोगहरु बढी देखिने गर्छन  ।  

यस्ता रोगबाट बच्न र बचाउनका लागि प्रभावित ठाउँमा रोगको निदान र उपचारसँगै जनस्वास्थ्यका कार्यक्रमहरु पनि सँगै लैजानुपर्ने उहाँ बताउनुहुन्छ । प्रभावित ठाउँमा अस्थाई चर्पीको निर्माण गर्ने, शुद्ध खानेपानीको व्यवस्था गर्ने, अस्थाई बासस्थान वा घर वरपर सरसफाइमा ध्यान दिने, हात धुने कुरालाई थप जोड दिने र हात धुन चाहिने पानी, साबुन, जग र धारा उपलब्ध गराउने, कपडाहरु सफा राख्ने, वरपरका पानी जमेका खल्टाहरु पुर्ने, सम्भब भएसम्म झुल लगाउने वा पुरा शरीर ढाक्ने कपडा लगाउन उपाय अपनाउन सकेमा  विभिन्न स्वास्थ्य समस्याबाट धेरै हदसम्म जोगिन सकिने उहाँ बताउनुुहन्छ ।

अन्तिम अपडेट: माघ २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया