हामी कोही 'राष्ट्रवादी', कोही 'राष्ट्रघाती' होइनौँ : अध्यक्ष दाहाल

 असार २८, २०७७ आइतबार १६:१८:५० | रासस
unn.prixa.net

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी विभाजन हुन नदिइने बताउनुभएको छ । जिल्ला पार्टी कार्यालय चितवनमा आइतबार कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पार्टी एकतालाई अक्षुण्ण राखिने दृढता व्यक्त गर्नुभयो । 

कार्यकर्तालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, 'पार्टी विभाजित हुन दिइने छैन, पार्टीको एकतालाई अक्षुण्ण राखिनेछ, यो विश्वास म तपाईँहरुलाई दिलाउन चाहन्छु ।' पार्टी एकताबद्ध हुने दृढता व्यक्त गर्दै उहाँले भन्नुभयो, 'अहिले यता र उता दौडिनुभयो भने पछि पछुताउनुहोला ।' उहाँले सबैले पार्टी एकताकाे पक्षमा नारा लगाउनुपर्नेमा पनि जोड दिनुभयो । 

पार्टीभित्र गम्भीर समस्या सिर्जना भए पनि आफू पार्टीमा देखिएका पछिल्ला सङ्कटबारे गम्भीर छलफलमा रहेको बताउँदै उहाँले नेता तथा कार्यकर्तालाई नहतारिन आग्रह गर्नुभयो । हतारमा फुट्ने र फुर्सदमा पछुताउने अवस्था आउन नदिन आफू हदैसम्म लचकताका साथ लागिपरेको बताउँदै उहाँले भन्नुभयो, 'ठूलो पार्टीमा विवाद आउनु नौलो होइन, विचार, विधि र जनवादी केन्द्रीयताका आधारमा एकताबद्ध हुने सैद्धान्तिक यथार्थलाई सम्पूर्ण कम्युनिस्ट पार्टीका कार्यकर्ताहरूले मान्नै पर्छ ।' 

चीनमा विशाल कम्युनिस्ट पार्टी नफुटेको बताउँदै उहाँले चिनियाँ नेताहरुसँगको छलफलमा विचार र विधिबाट चलेमा पार्टी नफुट्ने अनुभवबारे बुझ्न पाइएको जानकारी दिनुभयो । उहाँले पार्टीमा विवाद भएमा विधिबाट समाधान खोजिने बताउनुभयो । 

हिजो संविधान नबनोस् भनेर धेरै कसरत भएको बताउँदै उहाँले भन्नुभयो, 'संविधान बन्न नदिने दबाबलाई परास्त गरेर संविधान बनायौँ ।' पार्टी र नेतालाई उक्साउने प्रवृत्तिका विरुद्ध खबरदारी गर्न उहाँले कर्ताकर्तालाई आग्रह गर्नुभयो । 

संविधान बनाउनेदेखि नाकाबन्दी, नयाँ नक्सा जारी गर्नेजस्ता कार्य सबै मिलेर गरेको बताउँदै उहाँले भन्नुभयो, 'हामी कोही राष्ट्रवादी, कोही राष्ट्रघाती होइनौँ । सबै मिलेर राष्ट्रका लागि काम गरेका छौँ ।' 

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया