भारतको हस्तक्षेपका कारण नेपाल बर्सेनि डुबानमा पर्ने गरेकाे छ : गृह मन्त्री थापा

 असार २९, २०७७ सोमबार १८:४७:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – गृह मन्त्री रामबहादुर थापाले भारतीय हस्तक्षेपका कारण नेपाल डुबानमा पर्ने गरेको बताउनुभएको छ । 

भारतको हस्तक्षेपका कारण वर्षाैँदेखि नेपालले क्षति व्यहोर्दै आएको र त्यसलाई रोक्न नसक्दा नेपाल डुबानमा पर्ने गरेको उहाँले बताउनुभयो । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा गृह मन्त्री थापाले भारतले सीमा क्षेत्रमा बनाएको बाँधरुपी सडकले नेपालको तराई क्षेत्र डुबानमा पर्ने गरेको बताउनुभयो । 

गृह मन्त्री थापाले भारत सरकारसँग पटक-पटक भएका सन्धि सम्झौताहरु कार्यान्वयनमा नआउँदा समस्या आउने गरेको बताउनुभयो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणकाे बेलासमेत सहमति बनेको र अध्ययन समिति गठन भए पनि त्यो कार्यान्वयनको चरणमा जान नसकेको उहाँले बताउनुभयो । 

नेपाल हुँदै भारततर्फ जाने नदीलाई भारतले निकास नदिँदा समस्या भएको उल्लेख गर्दै गृह मन्त्री थापाले भारतले आफ्नो रक्षाकाे लागि बाँध बनाए पनि नेपालको राष्ट्रिय हितमा धक्का लागेको बताउनुभयो ।

 भारतले नेपालसँग गरेको सन्धि र सम्झौता कार्यान्वयन गरी यसको निकास दिनुपर्ने पनि मन्त्री थापाले बताउनुभयो ।  

अन्तिम अपडेट: साउन १, २०७७

तपाईको प्रतिक्रिया