स्वास्थ्य सामग्री खरिद प्रकरणमा भएको भ्रष्टाचारको छानबिन गरी दाेषीलाई कारबाही गरियाेस् : कांग्रेस

 असार ३१, २०७७ बुधबार १८:५०:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाली कांग्रेसले स्वास्थ्य सामग्री खरिद प्रकरणमा भएको भ्रष्टाचारको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेको छ । 

नेपाली कांग्रेस कोभिड–१९ अनुगमन समितिले बुधबार केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी स्वास्थ्य सामग्री खरिदमा भएको भ्रष्टाचारको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेको हो । 

समितिका संयोजक प्रकाशशरण महतले स्वास्थ्य सामग्री खरिद गर्दा अनियमितता भएको पाइएकाले छानबिन गरी कारबाही गर्न माग गरिएको बताउनुभयो । 

उहाँले क्वरेण्टीन केन्द्रहरु मापदण्ड अनुरुप नचल्दा सङ्क्रमण फैलने दर बढेको भन्दै मापदण्डअनुसारका क्वरेण्टीन निर्माण गर्न माग गरिएको बताउनुभयो । पीसीआर परीक्षणको दायरा तत्काल बढाउन र परीक्षण किटको व्यवस्था गर्न पनि कांग्रेसले माग गरेको छ । निजी क्षेत्रलाई पनि पीसीआर किट आयात गर्न र परीक्षण गर्न दिन माग गरिएको महतले बताउनुभयो ।

देशभित्र पीपीईलगायतका स्वास्थ्य सुरक्षा समाग्री उत्पादन गर्न प्रोत्साहन गर्न र सम्भावित सङ्क्रमणको विस्तारलाई ध्यानमा राखेर अत्यावश्यक स्वास्थ्य सामग्रीको सुनिश्चितता गर्नसमेत कांग्रेसले माग गरेको छ । 

संयोजक महतले स्वास्थ्यकर्मी, सरसफाइकर्मी तथा सुरक्षाकर्मीहरुको बीमा गर्नसमेत माग गर्नुभयो । उहाँले पटक-पटक कर्मचारीको सरुवा गर्ने प्रवृत्तिले पनि कोभिड–१९ को उपचारमा समस्या आएकोले सरकारलाई गम्भीर हुन आग्रह गर्नुभयो ।

सरकार जिम्मेवार नभएकाेले कोभिड–१९ व्यवस्थापनको जिम्मेवारी पालिकाले मात्रै लिनुपरेको महतले बताउनुभयो । नेपाली कांग्रेसको नेतृत्व रहेका पालिकामा सरकारले आफ्ना कार्यकर्ता सम्मिलित उपभोक्ता समिति बनाइ सिधै बजेट पठाएर काम गरेको पाइएको उहाँले बताउनुभयो । 

कोभिड–१९ बाट प्रभावित अर्थतन्त्रलाई समान्य अवस्थामा ल्याउन सरकारले कुनै काम गर्न नसकेको निष्कर्ष पनि कांग्रेसकाे छ । आर्थिक सङ्कटमा परेका कृषि, यातायात, पर्यटन, निर्माण उद्योग, व्यापार व्यवसायलगायतका साना तथा मझौला व्यवसायलाई सञ्चालन गरी रोजगारीका अवसर कायम गर्न र राहत प्याकेजको व्यवस्था गर्नसमेत माग गरिएको महतले बताउनुभयो ।

स्वास्थ्य मन्त्रालयले महामारी व्यवस्थापनको नेतृत्व लिन नसकेको निष्कर्ष निस्किएको महतले बताउनुभयो । समुदायमा गइ ट्रेसिङ र ट्र्याकिङ गरी परीक्षणको दायरा बढाउन पर्नेमा क्वरेन्टीनमा रहेकाहरुलाई मात्रै परीक्षण सीमित गरेको पाइएको महतले बताउनुभयो ।

बढ्दो आत्महत्या र मातृ मृत्युदर, घरेलु हिंसा तथा कोभिड–१९ बाहेकका अन्य स्वास्थ्य सेवामा देखिएको समस्या समाधान गर्नसमेत कांग्रेसले माग गरेको छ । नियमित खोप कार्यक्रमलाई निरन्तरता नदिँदा बाल मृत्युदर बढेको निष्कर्ष कांग्रेसको छ । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया