करदातालाई सम्मानजनक व्यवहार गर्न अर्थ मन्त्री खतिवडाको निर्दशन

 साउन १, २०७७ बिहिबार १८:५३:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अर्थ एवं सूचना तथा सञ्चार प्रविधि मन्त्री डाक्टर युवराज खतिवडाले करदातालाई सम्मानजनक व्यवहार गर्न आन्तरिक राजस्व विभागका कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ । 

आन्तरिक राजस्व विभागले २० लाखभन्दा कम कारोबार गर्ने र दुई लाखसम्मको आम्दानी गर्ने करदाताकाे लागि बिहीबारदेखि सुरु गरेको नयाँ कर प्रणालीको उद्घाटन गर्दै अर्थ मन्त्री खतिवडाले करदातालाई सम्मानजनक व्यवहार गर्न निर्देशन दिनुभएको हो । 

उहाँले जबसम्म प्रविधि, कानुन र सुशासनको कारणले करदातामैत्री वातावरण निर्माण गर्न सकिँदैन तबसम्म करदाताले अपमानित महसुस गर्ने भएकाले करदातालाई गरिने व्यवहारमा सुधार ल्याउन आग्रह गर्नुभयो । 

उहाँले बिहीबारदेखि लागू भएको नयाँ कर प्रणालीमा करका अङ्क, ब्याज र जरिबाना सफ्टवेयरले नै गणना गर्ने भएकाले कर अधिकृतले स्वविवेकले करका अङ्कहरु गणना गर्ने अवस्थाको अन्त्य भएको बताउनुभयो । 

अर्थ मन्त्रालयका राजश्व सचिव रामशरण पुडासैनीले लागू भएको कर प्रणालीले साना करदाताको लागत घटाउन सहयोग पुग्ने बताउनुभयो । नयाँ प्रणालीले झण्डै पाँच लाख करदाता लाभान्वित हुने उहाँले बताउनुभयो । यसबाट करदाताको सहभागिता बढाउन सहयोग पुग्ने पुडासैनीले विश्वास गर्नुभयो ।

आन्तरिक राजस्व विभागका महानिर्देशक विनोदबहादुर कुँवरले विभागका सबै कारोबारलाई प्रविधिमैत्री बनाउने उद्देश्यका साथ काम गरिएको बताउनुभयो । बिहीबारदेखि लागू भएको प्रणालीले झण्डै पाँच लाख करदातालाई कर कार्यालय नगइकन कर बुझाउन सक्ने व्यवस्था भएको बताउनुभयो ।

उहाँले चालु आर्थिक वर्षको बजेटले परिवर्तन गरेका आयकरका विषयहरुलाई समावेश गरी आयकर निर्देशिका बिहीबारदेखि लागू गरिएको पनि जानकारी गराउनुभयो । सबै व्यावसायिक कोडलाई व्यवस्थित गर्ने नेपाल स्ट्याण्डर्ड इन्डस्ट्रियल क्लासिफिकेशन (एनएसआईसी) लागू भएको उहाँले बताउनुभयो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नागरिक एपसँग समन्वय गरी बिहीबारदेखि विद्युतीय माध्यमबाट करदाता कार्यालयमा नगइकन व्यक्तिगत प्यान नम्बर लिन सकिने व्यवस्था मिलाइएको पनि कुँवरले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया