आर्थिक वर्ष २०७६/०७७ मा सर्वोच्च अदालतको ४५ दशमलव ४३ प्रतिशत मुद्दा फर्छ्याेट

 साउन २, २०७७ शुक्रबार १९:५४:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सर्वोच्च अदालतले आर्थिक वर्ष २०७६/०७७ मा कुल लगतको ४५ दशमलव ४३ प्रतिशत मुद्दा फर्छ्याेट भएको बताएको छ । 

आर्थिक वर्ष २०७६/०७७ मा सर्वोच्च अदालत, उच्च अदालत र जिल्ला अदालतमा गरी कुल दुई लाख २४ हजार तीन सय ४६ लगत कायम भएकोमा एक लाख एक हजार नाै सय २७ थान मुद्दा फर्छ्याेट भएकाे हाे । जुन कुल लगतको ४५ दशमलव ४३ प्रतिशत हुन आउँछ । 

सर्वोच्चका रजिस्ट्रार नृपध्वज निरौलाले आर्थिक वर्ष २०७५/०७६ बाट जिम्मेवारी सरी आएको एक लाख आठ हजार एक सय ६४ र आर्थिक वर्ष २०७६/०७७ मा नयाँ दर्ता भएका एक लाख १६ हजार एक सय ८२ गरी जम्मा वार्षिक लगत दुई लाख २४ हजार तीन सय ४६ कायम भएकोमा एक लाख एक हजार नाै सय २७ थान मुद्दा फर्छ्याेट भइ आर्थिक वर्षको अन्त्यमा एक लाख २२ हजार चार सय १९ थान मुद्दा बाँकी रहेको बताउनुभयो । 

उहाँले कुल लगतको ४५ दशमलव ४३ प्रतिशत मुद्दा फर्छ्याेट भएको र वर्ष २०७६/०७७ मा निर्धारित मुद्दा फर्छ्याेटकाे वार्षिक लक्ष्य एक लाख ६५ हजार ६९ को झण्डै ६२ प्रतिशत प्रगति भएको बताउनुभयो । उहाँले सर्वोच्च अदालतमा कुल लगतको ३२ दशमलव ३५ प्रतिशत, उच्च अदालतमा कुल लगतको ५३ दशमलव ७१ प्रतिशत र जिल्ला अदालतमा कुल लगतको ४६ दशमलव ५५ प्रतिशत मुद्दा फर्छ्याेट भएको बताउनुभयो ।

सर्वोच्च अदालतमा आर्थिक वर्ष २०७५/०७६ बाट जिम्मेवारी सरी आएको २३ हजार नाै सय ५२ र आर्थिक वर्ष २०७६/०७७ मा नयाँ दर्ता भएको ११ हजार एक सय ७९ गरी जम्मा वार्षिक लगत ३५ हजार एक सय ३१ कायम भएकोमा ३२ दशमलव ३५ प्रतिशत अर्थात् १० हजार सात सय ५९ मुद्दा फर्छ्याेट भइ २४ हजार तीन सय ७२ मुद्दा बाँकी रहेको छ ।

सर्वोच्च अदालतमा अघिल्लो वर्षको भन्दा कुल लगतको दुई दशमलव ४३ प्रतिशत अर्थात् एक हजार पाँच सय ६६ थान मुद्दा बढी फर्छ्याेट भएको छ । उच्च अदालतहरुमा अघिल्लो आर्थिक वर्षबाट सरी आएको १५ हजार सात सय ४४ र आर्थिक वर्ष २०७६/०७७ मा नयाँ दर्ता भएका २७ हजार तीन सय १४ गरी कुल लगत ४३ हजार ५८ मध्ये ५३ दशमलव ७१ प्रतिशत अर्थात् २३ हजार एक सय ३० मुद्दा फर्छ्याेट भइ १९ हजार नाै सय २८ मुद्दा बाँकी रहेको छ ।

उच्च अदालतहरुको कुल वार्षिक फर्छ्याेट लक्ष्य ३० हजार दुई सय ३७ को ९० दशमलव ३३ प्रतिशत प्रगति हासिल भएको छ । जिल्ला अदालतहरुमा अघिलो आर्थिक वर्षबाट जिम्मेवारी सरी आएको ६८ हजार चार सय ६८ र आर्थिक वर्ष २०७६/०७७ मा नयाँ दर्ता भएको ७७ हजार ६ सय ८९ गरी कुल लगत एक लाख ४६ हजार एक सय ५७ मध्ये ४६ दशमलव ५५ प्रतिशत अर्थात् ६८ हजार ४४ मुद्दा फर्छ्याेट भइ आर्थिक वर्षको अन्त्यमा ७८ हजार एक सय १३ मुद्दा बाँकी रहेको छ ।

जिल्ला अदालतहरुले वार्षिक फर्छ्याेट लक्ष्य एक लाख १६ हजार पाँच सय ६४ को ५८ दशमलव ३७ प्रतिशत प्रगति हासिल भएको छ । कार्यक्रममा सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले मुद्दाको फर्छ्याेटलाई प्रभावकारी बनाउन नयाँ सफ्टवेयर सञ्चालनमा ल्याइएको बताउनुभयो ।

उहाँले नयाँ सफ्टवेयर प्रणालीबाट मुद्दा दर्ता हुँदाको अवस्थामा नै दर्तादेखि फैसलासम्म हुने मुख्य–मुख्य कामहरुको मितिसहितको कार्यतालिका सम्बन्धित पक्षलाई उपलब्ध गराइने बताउनुभयो । सफ्टवेयरको माध्यमबाट कार्यतालिकाअनुसार काम भएकाे/नभएको अनुगमन गर्न सकिने व्यवस्था पनि मिलाइएको उहाँले बताउनुभयो । यसबाट मुद्दा फर्छ्याेटकाे सङ्ख्या बढ्ने विश्वास गरिएको प्रवक्ता पोखरेलले बताउनुभयो ।

कोभिड–१९ काे कारण अदालतका काम कारबाही प्रभावित हुँदा लक्ष्यअनुसार मुद्दा फर्छ्याेट हुन नसकेको सर्वोच्च अदालतले बताएको छ । लकडाउनकाे अवधिमा सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण र कोभिड–१९ सँग सम्बन्धित रिट निवेदनलगायत एक हजार आठ सय ७५ थान मुद्दा दर्ता भएको छ । साथै यसैबीचमा सर्वोच्च अदालतमा मात्र दुई हजार चार सय १५ थान मुद्दा फर्छ्याेट भएको छ । 

उच्च अदालत एवं जिल्ला अदालत तथा न्यायाधीकरणबाट लकडाउनकाे अवधिमा दुई हजार तीन सय १४ थान मुद्दा फर्छ्याेट भएकोमा योमध्ये देवानी मुद्दा पाँच सय ८६, फौजदारी एक हजार ६ सय २९ र रिट निवेदन ९९ थान फर्छ्याेट भएको छ । यसबीचमा तीन सय ३३ मुद्दामा मिलापत्र र एक सय ३५ थान मुद्दा फिर्ता भएको छ । 

लकडाउनकाे अवधिमा उच्च अदालतमा ६९ र जिल्ला अदालतमा सात गरी जम्मा ७६ थान बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता भएको छ । 

अन्तिम अपडेट: माघ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया