'आशा गरेअनुसार नै मौद्रिक नीति आएको छ, कार्यान्वयनमा चाहिँ कुन्नि !'

 साउन ३, २०७७ शनिबार २०:४:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – उद्योगी, व्यवसायी तथा अर्थविद्हरुले आशा गरेअनुसार नै आर्थिक वर्ष २०७७/०७८ को मौद्रिक नीति आएको प्रतिक्रिया दिएका छन् । 

कोभिड–१९ पछिको समग्र परिस्थितिलाई सम्बोधन गर्ने गरी आएको मौद्रिक नीति कार्यान्वयन हुनेमा भने अर्थविद्हरुले आशङ्का गरेका छन् । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले सबै क्षेत्रका व्यक्तिहरुसँग छलफल गरेर आएको मौद्रिक नीति आशा गरेअनुसार नै भएको बताउनुभयो । 

नीति जुन स्प्रिटमा आएको छ, त्यही स्प्रिटमा कार्यान्वयन भयो भने खोट लगाउने कुनै ठाउँ नभएको उहाँले बताउनुभयो । बैंक तथा वित्तीय परिसङ्घका अध्यक्ष पवन गोल्यानले राष्ट्र बैंकले कृषि क्षेत्रमा १५ प्रतिशत लगानीका लागि आह्वान गरेपछि सबैले वास्तविक कृषि क्षेत्रमा लगानीका लागि ध्यान दिनुपर्ने बताउनुभयो । 

एक करोडभन्दा कमको व्यवसाय गरिरहेका कृषक, साना उद्योगी व्यवसायीहरुलाई पुँजी अभावले व्यवसाय गर्न समस्या नहुने गरी नीति आएको उहाँले बताउनुभयो । कोभिड–१९ का कारण समस्यामा परेका व्यवसायीहरुका लागि पुनर्कर्जाकाे व्यवस्थाले ठूलो सहयोग पुग्ने उहाँले बताउनुभयो ।

नेपाल चेम्बर अफ् कमर्सका उपाध्यक्ष कमलेशकुमार अग्रवालले कोभिडका कारण समस्यामा परेका निजी क्षेत्रले राखेका मागभन्दा राम्रो मौद्रिक नीति आएको बताउनुभयो । लकडाउनबाट प्रभावित व्यवसायीहरुको बैंक किस्ता र ब्याज तिर्ने म्यादसमेत बढेकाले कर्मचारीहरुलाई तलब खुवाउन र व्यवसायलाई पुनर्जीवन दिन समस्या नहुने उहाँले बताउनुभयो ।

रिपोर्टर्स क्लबमा भएका साक्षात्कार व्यवसायीहरुले राष्ट्र बैंकले नीति कार्यान्वयनका लागि विशेष ध्यान दिनुपर्ने सुझाव दिएका छन् । राष्ट्र बैंकभित्रै ‘टास्क फोर्स’ बनाएर कार्यान्वयनको अवस्थाको मूल्याङ्कन गर्नुपर्ने उनीहरुको सुझाव छ । 

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया