पटक पटकको सर्किट ब्रेकपछि कारोबार बन्द

 साउन ४, २०७७ आइतबार १३:१३:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – शेयर बजार परिसूचक नेप्से ६ प्रतिशतले बढ्दा आइतबारका लागि कारोबार स्थगित भएको छ । 

बजार खुलेको एक घण्टा आठ मिनेटमा परिसूचक नेप्से ६ दशमलव शून्य चार प्रतिशत अर्थात् ८४ दशमलव २६ अङ्कले बढ्दा तेस्रो पटक सर्किट ब्रेक लागेर कारोबार स्थगित भएको हो । 

बजार खुलेको ६ मिनेटमा चार प्रतिशतले नेप्समा वृद्धि हुँदा पहिलो सर्किट ब्रेक लागेको थियो । त्यसपछि ११ बजेर २७ मिनेटमा खुलेको बजार ३७ सेकेण्ड कारोबार हुँदा पाँच प्रतिशतले बढेर दोस्रो सर्किट ब्रेक लाग्दा ४० मिनेटका लागि कारोबार स्थागित भएको थियो । तेस्रो पटक कारोबार खुलेको केही सेकेण्डमै फेरि ६ दशमलव शून्य चार प्रतिशतको वृद्धि हुँदा शेयर कारोबार आइतबारका लागि स्थगित भएको हो ।

नेप्से परिसूचक एक हजार चार सय ७९ दशमलव शून्य ३ अङ्कमा बन्द भएको छ । सेन्सेटिभ परिसूचक पनि पाँच दशमलव ८९ प्रतिशत अर्थात् १७ दशमलव ३९ प्रतिशतले बढेर तीन सय १२ दशमलव ४४ अङ्कमा बन्द भएको छ ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७७÷०७८ का लागि सार्वजनिक गरेको मौद्रिक नीतिले शेयर बजारलाई फाइदा हुने गरी व्यवस्था गरेपछि आइतबार लगानीकर्ता उत्साहित भएका हुन् र त्यसको असर नेप्सेमा परेको छ । बजार खुल्नेबित्तिकै बैंकिङ समूहको शेयरमा लगानीकर्ता भुम्मिएका थिए । त्यसैले बैंकिङ समूह ७ दशमलव ४४ प्रतिशतले बढेको छ । जीवन बीमा समूह पनि ६ दशमलव ६८ प्रतिशतले बढेको छ ।

आइतबार १ सय ११ कम्पनीको ६ करोड २५ लाख ६६ हजार रुपैयाँ बराबरको एक लाख ८० हजार पाँच सय ९६ कित्ता शेयर खरिद बिक्री भएको छ ।

आइतबार नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा धेरै दुई करोड ४१ लख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । गुराँस लघुवित्त वित्तीय संस्था, एनआईसी एसिया, नबिल बैंक, नेपाल इन्भेस्टमेन्ट बैंकलगायत एक दर्जन कम्पनीको शेयर मूल्यममा सकारात्मक सर्किट लागेको छ ।  

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया