मागअनुसारकाे सडक, पुल बनाउने क्षमता छैन : मन्त्री नेम्वाङ

 साउन ४, २०७७ आइतबार २०:३१:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले मागअनुसारको सडक, पुल निर्माण गर्ने क्षमता सरकारसँग नभएको बताउनुभएको छ ।

मन्त्री नेम्वाङले अहिले एक हजार पाँच सय बढी पुल निर्माणको क्रममा रहेको र वार्षिक दुई सय पुलमात्र निर्माण गर्ने क्षमता भएकाले मागअनुसारको पुल निर्माण गर्न नसकिएको बताउनुभएको हो । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिको आइतबारको बैठकमा निर्माण सम्पन्न हुन नसकेका सडक, पुलको छलफलका क्रममा उहाँले सरकारको क्षमताभन्दा बढी पुल निर्माणको माग रहेको बताउनुभएको छ ।

उहाँले मन्त्रालयसँग जनशक्ति अभाव हुँदा पनि पुल निर्माण गर्ने क्षमता कम भएको बताउनुभयो । उहाँले मन्त्रालयमा दरबन्दी भए पनि १३ जना पहिलो दर्जा र ४० जना दोस्रो दर्जाको कर्मचारी, एक सय १६ जना इन्जिनियर, एक सय ५० जना सबइन्जिनियर रिक्त हुँदा काम गर्ने क्षमतामा कमजोर देखिएको बताउनुभयो  । नेपालमा मागअनुसारको सबै पुल निर्माणका लागि निजी क्षेत्रको क्षमताले पनि नभ्याउने मन्त्री नेम्वाङको भनाइ छ । 

बैठकमा मन्त्रालयका सचिव देवेन्द्र कार्कीले मागअनुसारका पुल निर्माण गर्न मन्त्रालयसँग पर्याप्त बजेट नहुँदा पनि सबै पुल निर्माण गर्ने क्षमता नभएको बताउनुभयो । उहाँले सबै निर्माण व्यवसायीहरूसँग एकैपटक सबै पुल निर्माण गर्ने क्षमता नभएको पनि बताउनुभयो ।

यसैगरी सडक विभागका महानिर्देशक केशवकुमार शर्माले काठमाण्डाैकाे तीनकुनेमा रहेको वाग्मती नदीमा भएको पुलको कन्ट्र्याक तोडिएर निर्माण कम्पनीलाई कालो सूचीमा राखिएको जानकारी दिनुभयो । यो पुलको मूल्याङ्कन गरी पुन निर्माणका लागि टेण्डरमा लैजान समय लाग्ने उहाँले बताउनुभयो ।

त्यस्तै टेकु पुल एसियाली विकास बैंकको सहयोगमा काठमाण्डाै दिगो विकास आयोजनाले निर्माण गरेको र आयोजना खारेज भएपछि सडक विभाग अन्तर्गत आएको उहाँले बताउनुभयो ।

बैठकमा सांसदहरुले पुराना र जीर्ण पुलको निर्माणमा कार्यतालिका निर्माण गरी काम गर्न सुझाव दिएका छन् । 

अन्तिम अपडेट: माघ २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • shree krishna manakamana tirthayatra company

    July 20, 2020, 9:02 p.m.

    जनता र देशकाे लागि अपरीहार्य सडक हाे रेल र पानी जहाज हाेईन । त्यसर्थ पानी जहाज र रेल परियाेजना खारेज गराैं त्याे बजेट सडकमा लगाए कसाे हाेला ?

  •  0 Reply

तपाईको प्रतिक्रिया